ad ad

राजनीति


राजदूतलाई अध्यक्ष तिमिल्सिनाको आग्रहः श्रीलंकाली पर्यटकलाई लुम्बिनी र मुक्तिनाथ भ्रमण गर्न उत्प्रेरित गर्नुहोस्

राजदूतलाई अध्यक्ष तिमिल्सिनाको आग्रहः श्रीलंकाली पर्यटकलाई लुम्बिनी र मुक्तिनाथ भ्रमण गर्न उत्प्रेरित गर्नुहोस्

नेपालखबर
असार १०, २०७७ बुधबार ११:५३,

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि श्रीलङकाका नवनियुक्त राजदूत हिमाली अरुनातिलकाबीच बुधबार भेटवार्ता भएको छ।

अध्यक्ष तिमिल्सिनाको सचिवालयका अनुसार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधवार भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी, सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो।

‘नेपाल र श्रीलङ्काबीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरको सम्बन्ध सुमधुर रहँदै आएको छ,’ भेटका क्रममा तिमिल्सिनाले भने, ‘नेपाल र श्रीलङ्का बीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुई देशबीच हुने उच्चस्तरीय भ्रमणले थप सहयोग पुर्याउने र त्यसमा यहाँको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु।’

गौतम बुद्धको जन्मस्थान नेपाल र बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको श्रीलंकाबीच सिधा हवाई उडानको कार्य सुरुवात भएकोमा खुशी व्यक्त गर्दै रुपन्देहीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल केही महिनाभित्र सम्पन्न हुन लागेकोले अब श्रीलंकाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरु सिधै गौतम बुद्ध जन्मेको स्थान लुम्बिनी क्षेत्रमा पाइला टेक्न सक्ने अध्यक्षले बताएका छन्।

अध्यक्ष तिमिल्सिनाले श्रीलंकाका धार्मिक पर्यटकहरुका लागि हिन्दु र बौद्ध धर्मालम्बीका लागि महत्वपूर्ण रहेको गण्डकी प्रदेशस्थित मुस्ताङ्ग जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पनि दर्शन गर्ने कार्यमा श्रीलंकाली नागरिकहरुलाई उत्प्रेरित गर्न राजदूत अरुनातिलकाको कार्यकालमा महत्वपूर्ण भुमिका रहने कुरामा विश्वास व्यक्त गरेका थिए।

तिमिल्सिनाले सन् २०१८ मा नेपालमा भएको लगानी सम्मेलनमा श्रीलंका सरकारले गरेको प्रतिवद्धता समेत पूरा हुने कुरामा विश्वास व्यक्त गर्दै बढिभन्दा बढी श्रीलंकाली नागरिकलाई नेपालमा लगानी गर्नका लागि आह्वान गरेका थिए।

राजदूत अरुनातिलकाले भेटका क्रममा नेपाल र श्रीलङकाको सम्बन्ध सरकार, संसद र जनस्तरमा उच्च रहेको बताएकी थिइन्।

‘दुई देशको सम्बन्ध सांस्कृतिक मात्र नभई अध्यात्मिक समेत रहेको र झन बलियो हुँदै गएको तथा आर्थिक सम्बन्धलाई पनि अगाडि बढाउन जरुरी रहेको बताउनुभयो,’ अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ, ‘उहाँले संयुक्त राष्ट्र संघ, सार्क तथा विमस्टेक जस्ता अन्तराष्ट्रिय फोरमहरुमा दुई देशबीच साझा बिचार तथा सहकार्य हुदै आइरहेको कुरा राख्नुभयो।’

दुई देशका संसदबीचको सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्न आवश्यक कार्य अघि बढाउने बताउँदै राजदूत अरुनातिलकाले लुम्बिनीका साथै नेपालका प्राकृतिक सुन्दर स्थानहरुको भ्रमण गर्न श्रीलंकाका नागरिकलाई उत्प्रेरित गर्ने कार्यमा लाग्ने कुरा बताएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .