ad ad

राजनीति


ठेकेदारलाई पिटेर जेल जाने सांसदकाे धम्की, एकैछिनमा ठेक्काकाे म्याद

ठेकेदारलाई पिटेर जेल जाने सांसदकाे धम्की, एकैछिनमा ठेक्काकाे म्याद

वाशुदेव मिश्र
असार ३०, २०७६ सोमबार १६:८,

कास्कीको मादी गाउँपालिका वडा नं. ३ र ७ जोड्न यहाँको ज्याम्दुमा निर्माणधीन पुल असारको दोस्रो साता बाढीले बगायो।

पुल बनाउने जिम्मा मृत संजिवनी नामक निर्माण कम्पनीको थियो। उसले पुल बनाउन २०७२ साल चैतमा पुल बनाउने ठेक्का पाएको थियो। तोकिएको समयमा ठेकेदारले काम गरेन। बरु, पुल सम्पन्न हुने मिति पटक–पटक सारियो। र, २०७६ साल असार २० गते पुल सम्पन्न गर्ने सम्झौता भयो।

कास्कीको याङ्जाकोट र ताङतिङ क्षेत्रलाई पोखरासँग जोड्ने पुल सम्पन्न हुनु केही दिनअघि मादीले बगाइदियो। ठेकेदारको चर्को आलोचना भयो। समयमै काम नसक्ने ठेकेदारलाई कारवाही गर्नुपर्ने आवाज पनि जोडतोडले उठाइयो।

यही मेसोमा सोमबार सो क्षेत्रका सांसद, जनप्रतिनिधि, स्थानीय प्रशासन, जिल्ला समन्वय समितिका पदाधिकारी तथा ठेकेदारका प्रतिनिधिबीच बृहत छलफल आयोजना गरियो। छलफलको सुरुमै सांसद तथा पूर्वमन्त्री खगराज अधिकारी झोक्किए। उनले समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई पिट्न र आफू जनताको नाममा जेल जान तयार भएको उद्घोष गरे।

सांसद अधिकारीले निर्माण कम्पनीका ठेकदारकै सामु आफूलार्ई असफल पार्न निर्माण कम्पनीले म्याद गुजारेको आरोप लगाउँदै भने,‘समयमा पुल निर्माण नगर्ने यस्ता ठेकेदारलाई पिटेर तह लगाउने र बरु जनताको हितको निम्ति जेल जान तयार छु।’ उनले ठेक्का नै रद्द गरेर नयाँ कम्पनीलाई ठेक्का दिन माग समेत गरे।

यस्तै गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले आफूले समयमा काम सक्नका लागि हरेक दिन ठेकेदारलाई फोन गर्ने र निर्माण कार्यमा झकझकाउने तथा दिनदिनै नमस्कार गर्दा पनि निर्माण पक्षले नटेरेको भन्दै ठेकेदारलाई कडाभन्दा कडा कारवाही गर्न माग गरे।

यता, मादी २ का वडा अध्यक्ष एकजंग गुरुङले ठेकेदारहरुलाई जहिले पनि ठेकेदारले झुक्याएको आरोप लगाए। उनीहरुको कुरा सुनेपछि बैठकमा निर्माण पक्षको तर्फबाट प्रतिनिधिद्धय चिरञ्जीवि पोख्रेल र दिवस उप्रेतीले कम्पनीको तर्फबाट भएको ढिलासुस्ती एवम् कमजोरीका कारण समयमै निर्माण सम्पन्न गर्न नसकेकोमा जनाए।

तर, चर्को स्वरमा कुरा गर्ने सांसद र जनप्रतिनिधिहरु एकछिनपछि ल-याकलुरुक भए। अनि पुल निर्माणको बाँकी काम आगामी २०७६ साल मंसीर मसान्तभित्र सम्पन्न गर्ने गरी म्याद थप गरियो।

यो म्याद अन्तिम पटक थप गरिएको भन्दै अब पनि तोकिएको समयमा काम नभएमा प्रचलित ऐन कानुन बमोजिम कारबाही गर्ने विषयमा पनि सम्झौता गरियो।

कूल ८ करोड ६ लाख ९७ हजार ९ सय ८ मा निर्माण सम्झौता भएको सो पुलको लागि अहिलेसम्म ४ करोड ४० लाख १७ हजार ३ सय ४५ रुपैया खर्च भईसकेको छ।

८४ मिटर लम्बाईको सो पुलमा २ वटा स्पान रहनेछ। हालसम्म पुलको जग हाल्ने र पानीको वेग रोक्ने पर्खाल निर्माण लगायतको काम भएका छन्।

जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .