ad ad

राजनीति


मिल्ने साथी आईजी भएकोमा आपत्ति हुने कुरै छैन : हरि पाल

मिल्ने साथी आईजी भएकोमा आपत्ति हुने कुरै छैन : हरि पाल

उजिर कार्की
असार २३, २०७७ मंगलबार १३:४३,

सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले वरियतामा अगाडि रहेका थापालाई नियुक्त गरेको हो।

थापासँगै अर्का एआईजी हरि पाल पनि प्रतिस्पर्धामा थिए। आईजीमा थापा नियुक्त भएपछि पालले उनलाई सहयोग गर्ने प्रतिक्रिया दिएका छन्।

‘सरकारको निर्णयमा मेरो कुनै कमेन्ट छैन। यो उहाँहरुको अधिकारको कुरा हो। जे सोचेर निर्णय गर्नु भएको छ, त्यसमा मेरो स्वागत छ,’ थापाको नियुक्ती भएलगत्तै नेपालखबरसँग कुरा गर्दै एआईजी पालले भने।

आईजीका प्रतिस्पर्धी थापा र पालबीच पहिले नै सरकारले जसलाई प्रमुख बनाए पनि एक अर्काको विपक्षमा नलाग्ने भएको थियो। पालले त्यो सहमतीमा आफू अडिग रहेको बताएका छन्।

‘हामीले पहिले नै जे कमिटमेन्ट गरेका छौं, हामी जो भएपनि एक आपसमा सहयोग गर्ने भनेर त्यसमा कमी हुँदैन। मेरो मिल्ने साथी हो, आईजी भयो। मेरो आपत्ति रहने कुरै छैन,’ पालले भने।
पालले आफुले नवनियुक्त आईजीलाई पूर्ण सहयोग गर्ने र नेतृत्वमा पुगेपछि थापाले सहयोग लिन सक्नुपर्ने बताए।

दुई एआईजीले आईजी हुनका लागि दुवैले स्वभाविक प्रतिस्पर्धा गर्ने तर एक जना भइसकेपछि एकले अर्कालाई सहयोग गर्ने सहमती गरेका थिए। पालले त्यसमा आफू प्रतिवद्ध रहेको बताएका छन्।

याे पनि: आईजी बन्न प्रतिस्पर्धामा रहेका थापा र पालबीच यस्तो ‘भद्र सहमति’

स्वच्छ प्रतिस्पर्धा
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली बुधबार सेवानिवृत्त हुँदैछन्। ३० वर्षे सेवाअवधिका कारण ज्ञवाली बाहिरिँदै गर्दा प्रतिस्पर्धामा रहेका थापा र पालले स्वच्छ प्रतिस्पर्धा गरेका छन्।

अन्तिम क्षणसम्म पनि उनीहरुले एक अर्काविरुद्ध खुलेर लागेनन्। उनीहरु दुवै जनाले २०४९ साल वैशाख १९ देखि प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन्। डीएसपीदेखि एआईजीसम्म आइपुग्दा उनीहरु सँगसँगै बढुवा हुँदै आए।

तर, अब पालले भने एआईजी बाटै २२ महिनापछि बिदा लिनेछन्।

नेपाल प्रहरीमा यस्तो दृश्य कमै देख्न पाइन्छ। पहिले मित्रवत् सम्बन्ध भएकाहरु पनि आईजीको दौडमा लागेपछि एकले अर्काेलाई बदनाम गराउने प्रवृत्ति प्रहरीभित्र नियमजस्तै बनिसकेको थियो।

यसअघि आईजीको दौडमा लाग्दालाग्दै एकले अर्कोलाई नस्वीकार्ने बरु जागिरै छोड्नेसम्म देखिएका थिए। नवराज सिलवाल र रमेश खरेल दुवै जनाले आईजी बन्न नपाएपछि जागिरै छाडे। सिलवाल सांसद बनिसकेका छन् भने खरेल नयाँ राजनीतिक पार्टी बनाउने अभियानमा छन्।

तर, यो पटक त्यस्तो किचलो देखिएन ।

थापा र पालसँगै जागिर सुरु गरेका ६० जनामध्ये केही अहिले डीआईजी छन्। अरु एसएसपी र एसपीमा रोकिए। हालकै व्यवस्था कायम रहे अरु दुईजना एआईजीसम्म पुग्ने सम्भावना छ। त्यो दौडमा डीआईजी निरज शाही र प्रद्युम्न कार्की छन्। अन्यले डीआईजी, एसएसपी र एसपीबाटै बिदा लिने छन्।

उनीहरु भने आफ्ना सबै ब्याचीलाई छाड्दै डीआईजीबाट अगाडि लागेका थिए।

दार्चुलाका पालले सूदुरपश्चिमबाटै सेवा सुरु गरे। भक्तपुरका थापाले प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सेवा सुरु गरेका थिए।

पालले अपराध महाशाखा, जिल्ला प्रहरी परिसर काठमाडौं, बौद्ध, नुवाकोट, डडेलधुरामा काम गरे। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला बालुवाटारको सुरक्षा जिम्मेवारी पनि पाए। पाल दुई र थापा तीन देशमा मिसनमा गएका छन्।

पाल पूर्वी टिमोर र इराक गएका थिए भने थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा गएका थिए।

प्रहरी निरीक्षक हुँदा थापाले उपत्यकाबाहिर सिन्धुपाल्चोकमा मात्रै काम गरेका थिए। त्यसबाहेक प्रहरी प्रशिक्षण प्रतिष्ठान र महानिरीक्षकको सचिवालयमा बिताएका थिए। यस्तै डीएसपी हुँदा धादिङ र एसपी हुँदा कास्की तथा झापा प्रहरीको नेतृत्व उनले गरेका छन्।

प्रहरी प्रवक्ता भएका थापाले महानगरीय प्रहरी कार्यालयको नेतृत्व पनि सम्हालेका छन्। एआईजीमा बढुवा भएपछि थापा मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन्।

पालले एसपी हुँदा महानगरीय प्रहरी कार्यालय काठमाडौं, जनकपुर, रुपन्देही र कास्कीमा काम गरे। एसएसपी हुँदा अञ्चल प्रहरी कार्यालय कोसी र डीआईजी हुँदा प्रदेश २ को नेतृत्व गरेका थिए। यस्तै विशेष ब्युरोमा रहँदा उनले प्रशंसा बटुलेका थिए।

याे पनि: प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .