ad ad

राजनीति


तिहारसम्म लकडाउन नगर्ने मनस्थितिमा सरकार

तिहारसम्म लकडाउन नगर्ने मनस्थितिमा सरकार

सागर न्यौपाने
असोज २६, २०७७ सोमबार ९:१३,

कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि सरकारले तिहारसम्म लकडाउन नगर्ने भएको छ।

संक्रमितको संख्या दैनिक ५ हजार नाघेपछि विज्ञहरुले सरकारलाई लकडाउन गर्न सुझाव दिएका छन्।

शनिबार एकैदिन ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो। आइतबार भने परीक्षण नै घटाइएको थियो। आइतबार करिब १२ हजार परीक्षण गरिएकोमा २ हजार १७१ मा संक्रमण पुष्टि भएको थियो। तीमध्ये १ हजार ४१६ संक्रमित उपत्याकाका मात्रै छन्।

काठमाडौंमा राम्रोसँग परीक्षण नभएको र व्यापक परीक्षण गर्ने हो संक्रमितको संख्या कयौँ गुणाले बढ्ने विज्ञहरुको अनुमान छ।

काठमाडौंका अस्पतालमा बिरामीको चाप पनि थामिनसक्नु भएको छ। संक्रमितले बेड नै नपाउने अवस्था सिर्जना भइसकेको छ।

स्वास्थ्य मन्त्रालयका केही विज्ञ डाक्टरहरुले पनि कम्तीमा २ हप्ता लकडाउन गर्न आग्रह गरेका थिए।

तर, सरकारले लकडाउन गर्ने विषयमा कुनै तयारी नभएको जनाएको छ। दसैँ, तिहारजस्ता ठूला चाडमा लकडाउन गर्दा झन् समस्या थपिने भन्दै सरकार हच्किएको हो।

‘स्वास्थ्य मन्त्रालयले देशमा संक्रमण तीव्र रुपमा फैलिसकेको र अस्पतालमा बेड पाउनै मुस्किल भएकोले कम्तीमा २ हप्ता देशव्यापी लकडाउन गर्न सुझाव दिएको थियो,’ मन्त्रालयका एक विज्ञ डाक्टरले नेपालखबरसँग भने, ‘तर, प्रधानमन्त्रीले तत्काल लकडाउन नगर्ने मनस्थिति बनाउनु भएको रहेछ।’

शनिबार र आइतबार बसेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पनि यसबारे छलफल भएको छ। सीसीएमसीले मन्त्रालयको सहमतिमा लकडाउनको सिफारिस गरेपछि मात्रै मन्त्रालयले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजान्छ। अहिलेसम्म मन्त्रालयमा लकडाउनका विषयमा कुनै फाइल तयार नभएको स्रोतले जनायो।

‘तत्काल लकडाउन होलाजस्तो देखिएको छैन। दैनिक पाँच हजारको संख्यामा संक्रमित थपिएपछि मानिसहरु डराएका छन्,’ ती विज्ञले भने, ‘तर, लकडाउन गर्ने निर्णय मन्त्रिपरिषदले नगरी हुँदैन, अहिलेसम्म त्यसको संकेत देखिँदैन।’

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि यस विषयमा छलफल भएको थियो। सो छलफलमा पनि प्रधानमन्त्री ओलीले लकडाउन नगर्ने मनसाय व्यक्त गरेका थिए।

‘दसैँतिहारमा लकडाउन नगर्ने, यदि संक्रमितको संख्या नियन्त्रणमा नआए त्यसपछि लकडाउन गर्नुपर्ने प्रधानमन्त्रीको विचार छ। चाडबाड पनि भयो, फेरि लकडाउन गर्नेबित्तिकै मानिस भड्किए भने गाह्रो हुन्छ,’ ओलीनिकट एक नेताले भने।

सरकारले चैत ११ गतेदेखि साउन ७ गतेसम्म पहिलो चरण र भदौ ३ गतेदेखि २१ गतेसम्म काठमाडौं उपत्यकामा लकडाउन गरेको थियो।

आइतबार सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परिस्थितिका बारेमा विभिन्न ढंगले विश्लेषण भइरहेको जनाएका थिए। उनले नागरिकहरु सचेत हुने हो भने अझैपनि स्थितिलाई नियन्त्रण गर्न सकिने बताए।

‘चाडबाडका बेलामा सबैले सिमित नै भएपनि परिवारसँग बसेर रमाइलो गर्नुपर्ने बेलामा फेरि लकडाउन गर्न सरकारलाई रुचि छैन र त्यो सोचिरहेका पनि छैनौं। हामी त्यो दिशातिर जान नपरोस भन्ने चाहन्छौं,’ ज्ञवालीले भने, ‘तर, नागरिकको जीवन सरकारको पहिलो प्राथमिकता हो। बारम्बारको अपिलले पनि काम गरेन भने अवश्यपनि केही कडा कदम चाल्नुपर्ने हुनसक्छ। अहिलेसम्म हामी त्यो निष्कर्षमा पुगेका छैनौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .