ad ad

राजनीति


नेपाल र ओमानबीच प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार १४:१७,

नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानीवाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ।

सोमबार ओमानको परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।

‘सो सम्झौताअनुरूप ती राहदानीवाहक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिकन प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन्,’ ओमानको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ।

उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबिले हस्ताक्षर गरेका हुन्।

अब ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमण लगायत अन्य गतिबिधिहरू बढाउन सहयोग पुग्ने दूतावासले जनाएको छ।

त्यसैगरी पछिल्लो समयमा ओमान अन्तराष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटको रूपमा विकास भैरहेको हुँदा श्रमलगायत अन्य विविध गतिविधिहरूका लागि त्यहाँ हुने भ्रमणहरूमा समेत यस सम्झौताले सहजीकरण गर्ने दूतावासले जनाएको छ।

कार्यक्रममा आ–आफ्नो धारणा साटासाट गर्दै दुवैतर्फका अधिकारीहरुबाट प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामहरूलाई थप गतिशिल र सक्रिय बनाउनु पर्ने विषयमा जोड दिइएको थियो।

सो कार्यक्रममा द्विपक्षीय लगानी प्रबद्र्बन, पर्यटन प्रबद्र्बन एवम् आपसी हितका विषयहरू पनि छलफल गरिएको दूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .