ad ad

राजनीति


बहुमत सचिवालय सदस्यलाई प्रचण्डको ब्रिफिङ : प्रधानमन्त्री पार्टी फुटाउने तयारीमा हुनुहुन्छ, के गर्ने?

बहुमत सचिवालय सदस्यलाई प्रचण्डको ब्रिफिङ : प्रधानमन्त्री पार्टी फुटाउने तयारीमा हुनुहुन्छ, के गर्ने?

सागर न्यौपाने
कात्तिक १६, २०७७ आइतबार १२:३०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता संकटमा परेको बताएका छन्।

शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि खुमलटारस्थित आफ्नै निवासमा आफूनिकट नेताहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले ओलीका कारण पार्टी एकता संकटमा परेको ब्रिफिङ गरेका हुन्।

प्रधानमन्त्री ओलीले आफूलाई अब सँगै जान नसकिने भन्दै अलग–अलग जानेगरी तयारी गरेको बताएको नेताहरुलाई प्रचण्डको ब्रिफिङ थियो।

‘प्रधानमन्त्रीले अब सँगै जान नसकिने भइयो, अलग–अलग जाऊँ, मैले निर्णय गरिसकेँ, तपाईंहरु पनि  गर्नुस् भनेर भन्नुभयो’, प्रचण्डको ब्रिफिङ सुनेका एक नेताले नेपालखबरसँग भने।

ती नेताका अनुसार आइतबार बिहानै अध्यक्ष प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापासँग खुमलटारमा छलफल गरे छन्।

याे पनि : ‘ओलीको रणनीतिले पार्टीलाई विभाजनमा पुर्‍याउँछ’

छलफलमा प्रचण्डले प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउन आनाकानी गरेको, एकलौटी रुपमा गरेका निर्णयका बारेमा छलफल गर्न नचाहेको र पार्टी विभाजन गर्नको लागि सबै तयारी गरेको बारेमा आफूले सूचना पाएको बताएका थिए।

‘प्रधानमन्त्रीले आफूले गरेका सबै काम हामीले सहिदिनुपर्ने, उहाँको एकलौटीको साक्षी मात्रै बसिराख्नुपर्ने व्यवहार देखाउनुभयो,’ प्रचण्डको ब्रिफिङबारे अर्का एक नेताले भने, ‘तयारी हेर्दा उहाँले सबै अस्त्र प्रयोग गसिक्नुभयो, यसरी त पार्टी कसरी चल्छ होला र?’

आइतबार बिहानभर सचिवालयका बहुमत सदस्यसहित आफू निकटका नेताहरुसँग परामर्शमा रहेका प्रचण्डले प्रधानमन्त्री ओलीले  विभाजनका लागि पार्टीभित्र गम्भीर संकट निकालेर बखेडा झिकेको आराेप लगाए।

‘पार्टी कमिटीको निर्णय पनि नमान्ने अनि विपक्षीलाई झैँ पेल्दै गएपछि कसरी सँगै जान सकिन्छ?’, सचिवालयका नेताहरुसँग प्रचण्डको गुनासाे थियो। 

एकताका लागि आफूले धेरै कुरा सहेर बसे पनि झन् पेल्दै गएपछि अहिलेको अबस्था आएको र याे अबस्था आउनुकाे मुख्य कारण नै  अध्यक्ष ओली  भएको प्रचण्डको भनाइ थियो।

उनले प्रधानमन्त्रीले अलग–अलग जान प्रस्ताव गरे पनि आफू पार्टी फुटीहाल्छ र फुटाउनु पर्छ भन्ने पक्षमा नरहेको बताए।

‘अहिले पार्टी फुटिहाल्छ भनेर मैले कल्पना गरेको छैन, तर उहाँ (प्रधानमन्त्री ओली) को सबै तयारी हेर्दा उहाँ हामीसँग सँगै नजाने योजनामा हुनुहुन्छ,’ प्रचण्डले भने, ‘आगामी दिनमा कसरी जाने, हामीले गम्भीर समीक्षा गर्नुपर्नेछ।’

यसैबीच प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको विकसित घटनाक्रमबारे आफ्ना नेताहरुसँग परामर्श गरेका छन्। बालुवाटारमा आइतबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका एक दर्जन नेतासँग छलफल गरेका ओलीले त्यसपछिको दोस्रो चरणमा भने महसचिव विष्णु पौडेलसँग छलफल गरेको स्रोतले जनाएको छ। 

यो पनिः
यस्तो छ नेकपा संसदीय दलको गणित, को सांसद कता? (सूची)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .