ad ad

राजनीति


‘ओली सहमत नभए पनि बिहीबार सचिवालयको औपचारिक बैठक बस्छ’

‘ओली सहमत नभए पनि बिहीबार सचिवालयको औपचारिक बैठक बस्छ’

सागर न्यौपाने
कात्तिक २६, २०७७ बुधबार १५:४४,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सहमत नभएपनि बिहीबार सचिवालयको औपचारिक बैठक राख्ने तयारी गरेका छन्।

शुक्रबार, शनिबार र मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बहुमत सदस्य लिएर अनौपचारिक बैठक राखेका प्रचण्डले ओलीलाई बैठक राख्न दिएको समय बिहीबार सकिँदैछ।

त्यतिन्जेलमा ओलीले सहमति नदिए प्रचण्डले औपचारिक बैठक गर्ने उनीनिकट स्रोतले जानकारी दियो।

सचिवालयका एक सदस्यका अनुसार बैठकका विषयमा प्रधानमन्त्री ओली अलि लचिलो भएका छन्। यद्यपि बैठकमा छलफल गर्ने विषय पहिले नै सहमति गर्नुपर्ने उनको अडान भने कायमै छ।

‘बिहीबार बैठक बस्छ’, ती नेताले नेपालखबरसँग भने, ‘ओलीले सहमति दिनुभयो भने पनि बस्छ, नदिएपनि बस्छ।’

ओलीसँग समझदारी भयो भने पर्सिं भएपनि बैठक बस्ने ती नेताले बताए।

प्रचण्डले बिहीबार औपचारिक बैठक राखेको खण्डमा सो बैठकले स्थायी समितिको बैठक बोलाउने निर्णय गर्नसक्ने ती सचिवालय सदस्यको भनाइ छ।

बुधबार बिहान संखुवासभाको चीनसँग जोडिएको किमाथांका नाका, सीमा सुरक्षाका लागि स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपी, खाँदबारी–किमाथांका सडक र ९ सय ४ मेगावाटको अरुण तेश्रो आयोजनाको स्थलगत अनुगमन गरेर बालुवाटार फर्किएका ओलीलेआफू निकटका नेताहरुसँग छलफल गरेका थिए।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ तत्काल बैठक बसेर पार्टीभित्र देखिएको विवाद, कोभिड १९ को उपचार, यसले अर्थतन्त्रमा पारेको प्रभाव, सरकार सञ्चालनमा देखिएको समस्या लगायतका विषयमा छलफल गर्नुपर्ने अडानमा छन्। यसका साथै भदौ २६ को स्थायी समिति बैठकको निर्णय कार्यान्वयन नहुँदा उत्पन्न भएको समस्या, कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव, प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको तीन घण्टा लामो भेट लगायतका विषय पार्टी बैठकमा छलफल हुनुपर्ने उनीहरुको प्रस्ताव छ।

प्रचण्डले राख्न लागेको बैठकमा ओलीले सहमति नदिँदा र पेलेर गए जे पनि हुने चेतावनी दिएपछि बहुमत सदस्य भएर पनि औपचारिक बैठक बस्न सकेका छैनन्।

प्रधानमन्त्रधी ओलीले भने प्रचण्डसँग पहिला सहमति गरेर मात्र बैठक बस्नुपर्ने बताएका छन। यही विषयमा कुरा नमिल्दा नेकपाभित्र दुई अध्यक्षबीच शक्ति संघर्ष चुलिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .