ad ad

राजनीति


प्रचण्डले ल्याएको प्रस्ताव सचिवालयका बहुमत सदस्यको सहमतिमा

प्रचण्डले ल्याएको प्रस्ताव सचिवालयका बहुमत सदस्यको सहमतिमा

सागर न्यौपाने
कात्तिक २९, २०७७ शनिबार १७:१३,

सत्तारुढ नेकपाको शुक्रबार बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव सचिवालयका बहुमत सदस्याको सहमतिमा ल्याइएको नेताहरूले बताएका छन्।

पार्टीभित्रको संकट समाधानका लागि भन्दै अध्यक्ष प्रचण्डले शुक्रबार सचिवालय बैठकको क्रममा सो प्रस्ताव बाँडेका थिए। सो राजनीतिक प्रस्ताव सल्लाहमै तयार भएको र सचिवालयका पाँच नेताको सहमतिपछि मात्र प्रचण्डले बैठकमा प्रस्तुत गरेको नेताहरुले बताएका हुन्।

पाँच बुँदामा रहेको १९ पृष्ठ लामो प्रस्ताव प्रचण्डले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठबीच भएको छलफलपछि तयार गरेको एक नेताले बताए।

‘पार्टीभित्र पटक पटक विवाद देखिन थालेपछि अध्यक्ष प्रचण्डलाई हामीले लिखित दस्तावेजसहित बैठकमा बस्नुपर्छ, त्यसले पार्टीलाई संस्थागत बनाउन सजिलो हुन्छ भनेर सुझाव दिएका थियौं’, सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘शुक्रबारको बैठकमा प्रस्तुत गर्नेगरी पाँच जनाको सहमतिमा सो प्रस्ताव तयार भएको हो।’

भदौ २६ गतेको स्थायी समिति बैठकको निर्णय कार्यान्वयन नगरी अध्यक्ष ओलीले पार्टीमा एकलौटी गर्न थालेको भन्दै विवाद उत्कर्षमा पुगेको छ। पटक पटक भएका छलफलमा सो निर्णय कार्यान्वयन गर्न आग्रह गर्दा पनि ओलीले नमानेपछि प्रचण्डले पाँच जनासँग छलफल गरेर संस्थागत रुपमा अगाडि बढ्ने तयारी अनुसार प्रस्ताव ल्याएका हुन्।

‘प्रस्तावको मस्यौदामाथि कतिपटक छलफल भयो म भन्न सक्तिन, तर प्रचण्डले त्यसबारेमा उहाँसँग घनिभूत छलफल गर्नुभएको छ’, वरिष्ठ नेता नेपाल निकट स्थायी समितिका एक सदस्यले भने।

उपाध्यक्ष वामदेव गौतमले पनि प्रचण्डले पेश गरेको प्रस्ताव पाँच नेताकै रहेको बताएका छन्।

‘प्रचण्डको जवाफी प्रस्तावलाई उहाँको मात्रै भनेर नबुझौं। त्यो पाँच नेताको सामूहिक छलफलबाट टुंगो लागेको हो’, गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले भने।

शनिबार प्रधानमन्त्री ओली निकट स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखेलले प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावले पार्टीलाई गम्भीर संकटमा पार्ने भन्दै फिर्ता लिन आग्रह गरेका थिए।

ओली निकटका नेताहरुले प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावलाई उनको मात्रै भनेर प्रचार गरेपछि प्रचण्ड निकट पाँच नेताले सामूहिक रुपमा तयार गरिएको बताएका हुन्।

प्रस्तावलाई अन्तिम रुप दिनुअघि प्रचण्डले पाँच नेताहरुसँग सामूहिक छलफल गरेर कसरी प्रस्तुत गर्ने विषयमा धारणा माग गरेका थिए।

शुक्रबार बसेको पार्टी सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्तावसँगै ओलीलाई लेखेको पत्रको जवाफ पनि पेश गरेका थिए।

कार्यकारी अध्यक्ष भएपछि प्रचण्ड एक्लैले लिखित प्रतिवेदन पेश गरेको यो पहिलो पटक हो। त्यसमा सचिवालयका बहुमत सदस्य उभिएपछि ओली अप्ठेरोमा परेका हुन्।

पार्टीमा अप्ठेरो अवस्था आएपछि प्रधानमन्त्री ओलीले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .