ad ad

राजनीति


प्रस्ताव फिर्ता गर्न प्रचण्डसँग ओलीनिकट नेताहरुको यस्तो आग्रह

प्रस्ताव फिर्ता गर्न प्रचण्डसँग ओलीनिकट नेताहरुको यस्तो आग्रह

सागर न्यौपाने
मंसिर ५, २०७७ शुक्रबार १७:१३,

फुटको संघारमा पुगेको आकलन गरिएकाे सत्तारुढ नेकपाका दुई अध्यक्षबीच समझदारी बनाउन पार्टीका केहि नेताहरुले फेरि सक्रियता बढाएका छन्।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गतसाताको एक बैठकमा पेस गरेको प्रस्तावका कारण पार्टी एकीकृत अवस्थामा रहन नसक्ने स्थितिमा पुगेको बताएपछि पार्टी एकता जटिल मोडमा पुगेको बताइएको छ।

प्रधानमन्त्री ओलीले प्रचण्डले आफूविरुद्ध अराजनीतिक र आधारहीन आरोपहरु लगाएको भन्दै आफूले पनि त्यसको जवाफ दिने बताएपछि पार्टी विभाजनको त्रास बढेको हो।

पार्टीका केहि प्रभावशाली नेताहरुले सकभर दुई अध्यक्षबीच सहमति कायम गराउन र मंसिर १३ गतेको बैठकमा अध्यक्षद्वयको संयुक्त प्रस्ताव ल्याउन प्रयासस्वरुप दाैडधुप सुरु गरेका छन्। नेताहरुले शुक्रबार दिनभर त्यसका लागि भेटघाट तथा लविङ गरेका थिए।

यसै सिलसिलामा ओलीनिकट नेताहरुले शुक्रबार प्रचण्डसँग भेट गरी सघन छलफल गरेका छन्।

प्रचण्ड आँफैले पनि सहमतिको लागि पहल लिएको उनीनिकट नेताहरुको भनाइ छ।

प्रधानमन्त्री ओलीले शुक्रबार आफ्ना केहि विश्वासिला नेताहरुलाई प्रचण्डसँग छलफल गराएर सो प्रयास सुरु गरेका छन्।

बिहीबारदेखि नै प्रचण्डसँग विभिन्न च्यानलमार्फत् छलफलको प्रयास गरेका ओलीनिकट नेताहरुले शुक्रबार उनलाई पार्टी कार्यालयमै भेटेर छलफल गरेका हुन्।

शुक्रबार प्रचण्डलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले धुम्बाराहीस्थित पार्टी कार्यालय पुगेर प्रचण्डसँग भेट गरेका थिए।

मंसिर ३ गतेको नेकपा सचिवालय बैठकमा आफ्ना धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डले ल्याएको प्रस्तावप्रति तीव्र असन्तुष्टि जनाएका थिए।

उनले प्रचण्डले आफूमाथि निराधार आरोप लगाएको हुँदा आफूले त्यसमा लगाइएका एकएक आरोपको जवाफसहित मंसिर १३ गतेको बैठकमा काउन्टर प्रस्ताव ल्याउने जानकारी गराएका थिए।

तर, त्यसअघि नै प्रचण्डसँग छलफल गरेर सहमति कायम गर्न भनी ओलीनिकट नेताहरुले सक्रियता बढाएका हुन्।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा प्रचण्डलाई भेटेका उपप्रधानमन्त्री पोखरेल, महासचिव पौडेल र नेम्वाङ सबैले सहमतिमै अहिलेको विवाद सल्टाएर पार्टीलाई दुर्घटनाबाट जोगाउनु पर्नेमै जोड दिएका थिए।

‘प्रचण्डले बालुवाटारमा नजाने अडान लिएपछि अरु नेताहरुले उहाँलाई पार्टी कार्यालयमै पुगेर भेट्नुभएको हो,’ प्रचण्डसँग तीन नेताहरुको छलफलबारे जानकार स्रोतले भन्यो, ‘उहाँहरुले प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिवेदन ल्याउनुअघि नै दुई अध्यक्षबीच सहमति गर्नुपर्ने अपरिहार्यताबारे आग्रह गर्नुभएको छ।’

जवाफमा अध्यक्ष प्रचण्डले आफूले ल्याएको प्रस्ताव पार्टीभित्र विधि र पद्धति कायम गर्न ल्याइएको बताएका थिए।

‘पार्टी एकता जोगाउन मलगायत सचिवालयका बहुमत साथीहरु कटिबद्ध हुनुहुन्छ,’ ती नेताहरुसँग प्रचण्डले राखेको धारणाबारे स्रोतले भन्यो, ‘छलफल गरेर सहमति कायम गराउनकै लागि सो प्रस्ताव ल्याइएको हो, यसमा सबै साथीहरुको सहमति पनि छ त्यसैले छलफल गरौं।’

महासचिव पौडेलनिकट स्रोतका अनुसार नेताहरुले प्रचण्डलाई कात्तिक २८ गते उनले सचिवालय बैठकमा पेस गरेको प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण बनाउन आग्रह गरेका थिए। त्यसो भएमा दुई अध्यक्षको सयुंक्त प्रस्ताव ल्याउने वातावरण बन्ने र पार्टी दुर्घटनाबाट जोगिने उनीहरुको जिकिर थियो।

‘तपाईको प्रतिवेदनको जवाफ दिँदै १० दिनपछि अर्का अध्यक्षको प्रतिवेदन आएपछि दुई वटा प्रतिवेदन भिड्दा पार्टी अप्ठेरो बाटोमा फस्छ, दुई वटा प्रतिवेदन नआउँदै नयाँ ढंगले अघि बढ्न कार्यकारी अध्यक्ष भएकाले तपाईले पहल गर्नुपर्‍यो,’ पौडेलले प्रचण्डलाई राखेको धारणाबारे स्रोतले भन्यो।

पौडेलले अध्यक्ष प्रचण्डलाई जसरी पनि दुईवटा प्रतिवेदन आउने अवस्था रोक्न आग्रह गरेका थिए।

‘पार्टी विभाजन रोक्नका लागि संयुक्त प्रस्ताव ल्याउन पहल गर्नुपर्‍यो,’ पौडेलले प्रचण्डसँग भनेका थिए।

उता अध्यक्ष प्रचण्डलाई भेट गरेका स्थायी समिति सदस्य सुवास नेम्वाङले आफूले पनि अध्यक्षद्वयलाई मिलेर जान सुझाव दिएको बताए।

‘मैले तीन दिनदेखि अध्यक्ष प्रचण्डसँग टेलिफोनमा कुरा गरेर उहाँलाई भेट्न खोजेको बताएको थिएँ, उहाँले उपयुक्त समयमा भेट गर्छु भन्नुभएको थियो, आज पार्टी कार्यालय धुम्बाराहीमा साढे १ बजे बोलाउनुभयो,’ नेम्वाङले भने, ‘म उहाँले भनेकै समयमा धुम्बाराही पुगें, अध्यक्षसँग एक्लै भेट गरें र पार्टी एकतादेखि अहिलेसम्मको सबै कुरा राखेँ।’

नेम्वाङले प्रचण्डको प्रस्तावका कारण जनतामा राम्रो सन्देश नगएको बताएका थिए।

‘हामी पार्टी एकताबद्ध बनाउन लागेका थियौं तर हामीलाई नै जानकारी नदिएर जुन प्रस्ताव आयो त्यसले राम्रो गरेन तर अब जे भएपनि पार्टीलाई मिलाएर लैजानुपर्छ,’ नेम्वाङले प्रचण्डसँग राखेको भनाइबारे बताए, ‘स्थायी समिति बैठकले विवाद समाधानका लागि जुन विधि अपनाएको छ त्यसैलाई कार्यान्वयन गर्दै अघि बढौं।’

उनले प्रचण्डसँग दुई अध्यक्ष मिलेर पार्टीलाई थप एकताबद्ध गराउनुको विकल्प नभएको कुरामा जोड दिएका थिए।

जवाफमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनले एकतालाई असर नगर्ने जवाफ दिएको उनले बताए।

‘दस्तावेजको अन्तिम निष्कर्ष मैले लेखेको हुँ, त्यो हुर्नुस्, त्यसमा पार्टीलाई एकताबद्ध नबनाउने कुरा कहाँ लेखिएका छन्?’ प्रचण्डले नेम्वाङसँग सोधे, ‘पार्टी एकताको रक्षाका लागि प्रतिबद्ध छौं भन्ने ठाउँ राखिएको छ, पार्टी एकताको डोरी चुँडिदैन, त्यो डोरीलाई एक बनाउन हामी प्रयासमै छौं।’

नेम्वाङसँग प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रस्तावलाई कसरी लिनुभएको छ भनेर जिज्ञासा समेत राखेका थिए।

‘हाम्रो प्रस्तावका बारेमा प्रधानमन्त्रीले के भन्नुभयो?’ प्रचण्डको प्रश्न थियो।

एक्कासी आएको सो प्रस्तावले प्रधानमन्त्रीलाई अलिकति दुखित बनाएको नेम्वाङले प्रचण्डलाई सुनाएका थिए।

‘तर, यसलाई ठीक टुंगोमा पुर्‍याउन तपाईहरु दुई अध्यक्षले नै पहल लिनुपर्छ,’ नेम्वाङले भनेका थिए।

प्रचण्डसँग भेटेलगत्तै उनको सन्देश लिएर नेम्वाङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

‘मैले प्रधानमन्त्री ओलीलाई पनि यसबारेमा जानकारी गराएको छु, उहाँले ठीक छ तपाईहरु लाग्नुस् भन्नुभयो।’

बिहीबार प्रचण्डले आफू निकटका नेताहरुसँग आफ्नो निवासमा छलफल गरेका थिए।

पार्टीभित्र राजनीतिक प्रस्ताव ल्याएपछिको परिस्थितिबारे स्थायी समिति सदस्य जनार्दन शर्मा, लीलामणि पोखरेल लगायतका नेताहरुसँग प्रचण्डले आफ्नै निवासमा परामर्श गरेका थिए।

सचिवालयमा रहेका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रचण्डले ल्याएको प्रस्तावलाई आफूहरु समेतकाे सहमतिमा ल्याएको बताएका छन्।

पार्टीमा विभाजन हुन सक्ने
ओलीका कारण पार्टी कुनैपनि बेला विभाजनमा जानसक्ने भएकाले त्यस्तो स्थितिमा कसरी अघि बढ्ने भन्नेबारे सामूहिक धारणा बनाउन समेत प्रचण्डपक्षीय नेताहरु सहमत भएका छन्।

‘ओलीले पार्टी कुनैपनि बेला फुटाउन सक्छन्, हाम्रो सामुहिक धारणा र विचारमा परिवर्तन आउनु हुँदैन,’ प्रचण्डले आफ्नो समुहको छलफलमा भन्ने गरेका छन्।

यसैबीच प्रचण्डले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्तावलाई तल्लो तहसम्म पुर्‍याउने विषयमा पनि प्रचण्ड सहितका बहुमत सदस्यबीच छलफल सुरु भएको छ।

‘सबै तहमा यसलाई बहसका लागि लैजानुपर्छ भन्ने कुरा उठेको छ,’ स्रोतले भन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .