सत्तारुढ दल नेकपाका सचिवालय सदस्य रामबहादुर थापाले पार्टीभित्र देखिएको मतभेदलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन्।
उनले मतभेदकै कारण नेकपा नफुट्ने समेत दाबी गरे।
चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले पार्टीमा जारी बहसले सरकार र पार्टीलाई अझै बढी सुदृढ बनाउने बताए।
स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने उनको भनाइ छ।
‘पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया हो, यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ,’ थापाले भने।
राजावादीहरुको प्रदर्शनका विषयमा बोल्दै गृहमन्त्री समेत रहेका थापाले व्यवस्था उल्ट्याउने सपना कसैले नदेख्न चेतावनी दिए।
‘सरकार विरोधी पनि अहिले सलबलाइरहेका छन्, सरकारलाई उल्ट्याउने र व्यवस्थालाई विस्थापित गर्ने सपना देखेका छन्, त्यो पूरा हुन सक्दैन,’ गृहमन्त्री थापाले भने ‘नेपाली जनताले उनीहरुको सपनालाई कदापी पूरा हुन दिँदैन।’
प्रतिक्रिया