ad ad

राजनीति


आजको बैठकले ओलीलाई कारबाही गर्ने, माधव नेपाल अध्यक्ष बन्ने

आजको बैठकले ओलीलाई कारबाही गर्ने, माधव नेपाल अध्यक्ष बन्ने

नेपालखबर
पुस ६, २०७७ सोमबार १७:३३,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज मंगलबारका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने भएको छ।

उनीहरुले ओलीलाई असंवैधानिक कदम चालेर देशलाई अस्थिरतामा धकेलेको अभियोग लगाउँदै उनीमाथि पार्टीको सदस्य नरहने गरी कारवाही गर्न लागेका हुन्।

ओलीले आफ्नै पार्टीको स्पष्ट बहुमत रहेको प्रतिनिधि सभाको विघटन गरेर देशमा राजनीतिक संकट निम्त्याएको आरोप लगाएका छन्।

सोही बैठकबाट माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने तयारी पनि रहेको एक स्थायी कमिटी सदस्यले नेपालखबरसँग भने।

‘केन्द्रीय कमिटी बैठकअघि बस्ने स्थायी कमिटी बैठकले ओलीमाथि कारवाहीको प्रस्ताव तयार पार्छ र त्यसलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ’ एक स्थायी कमिटी सदस्यले भने, ‘त्यही बैठकले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारी रहेको छ। पार्टीको विधानमा दुई अध्यक्षको व्यवस्था रहेकोले रिक्त हुने स्थान नेपालले लिनुहुन्छ।’

सोमबार नै स्थायी कमिटी बैठक बस्ने भनिए पनि सांसदहरुसँग छलफल, सर्वदलीय बैठक र आपसी छलफल आदिमा दिनभर व्यस्त भएको भनी सो बैठकलाई मंगलबारको लागि सारिएको थियो।
सोमबार बानेश्वरस्थित संसद भवनमा भेला भएका प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका आफूपक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मंगलबार केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटीको बैठक बस्ने जानकारी गराएका थिए।
आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेलगत्तै बसेको स्थायी कमिटी बैठकले पनि अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो। ओली पक्षका सदस्य अनुपस्थित रहेको सो बैठकले ठोस कारवाही भने गरेको थिएन।

महिनौंदेखिको तिक्ततापूर्ण झगडा जारी रहेपनि औपचारिक रुपमा एउटै पार्टी रहेको नेकपा, आइतबारको प्रधानमन्त्रीको कदमले औपचारिक रुपमैं विभाजनको प्रक्रियामा अघि बढेको छ।

नेताहरुले राजनीतिक रुपमा पार्टी विभाजन भैसकेको र विभाजनले कानुनी औपचारिकता पाउन मात्र बाँकी रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .