ad ad

राजनीति


ठूलो संख्यामा पूर्वलडाकु भित्र्याउने ओलीको योजना असफल, खाम अझै बार्गेनिङमा

ठूलो संख्यामा पूर्वलडाकु भित्र्याउने ओलीको योजना असफल, खाम अझै बार्गेनिङमा

सागर न्यौपाने
माघ ११, २०७७ आइतबार १०:३६,

एकै पटक ठूलो संख्यामा पूर्वलडाकु भित्र्याउने योजना असफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ससाना समूहहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउन थालेका छन्।

शनिबार बालुवाटारमा ओली समूहमा प्रवेश गर्नेहरुमा जनयुद्ध सकिएपछि माओवादीमा लागेका लीलाबहादुर थापादेखि लेनिन विष्टसम्म छन्।

यसअघि पूर्व डिभिजन कमान्डर कालीबहादुर खामको नेतृत्वमा ठूलो संख्यामा लडाकु भित्र्याउने ओलीको तयारी थियो। तर, त्यो असफल भएको एक पूर्व बटालियन कमान्डरले बताए।

‘विविधलाई कमान्डर मानेर सामूहिक रुपमा गएको भए ठिकै हुन्थ्यो होला तर त्यस्तो भएन,’ उनले भने, ‘बरु, हिजो जनयुद्धमा कुनै भूमिका नभएकाहरु आआफ्नो झुण्ड लिएर गएछन्।’

यसबाट पूर्वलडाकुको हित नहुने उनको भनाइ छ।

‘जनमुक्ति सेना मिलेर आएनन्, किस्ताकिस्तामा आउने भए। सबैले आफ्आफ्नो गुट बनाउने, सोझै प्रधानमन्त्रीसँग बार्गेनिङ गर्ने अनि जाने, यसले हाम्रो मुद्दा कमजोर हुनेभयो र प्रधानमन्त्रीलाई मात्र राम्रो भयो, उनले चाहेकै त्यही थियो,’ उनले भने।

उनले ओली समूहमा गुटगत भेदभाव गरिएको बताए।

‘ओली पार्टीमा पनि नेतापिच्छेको खेमा रहेछ,’ उनले भने, ‘म त बादलले पूर्वपीएलए एक हौँ भनेपछि यता मिसिएको हो। जिम्मेवारी दिने कुरा थियो। तर, पछि यो गुट, त्यो गुट भनेर भेदभाव गरियो।’

प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाले पूर्वलडाकुलाई एकत्रित पार्ने काममा खाम र बालकृष्ण ढुंगेललाई अघि सारेका थिए। सोहीअनुसार उनीहरु देशभरका पूर्वजनमुक्ति सेना भेट्दै र भेला गर्दै हिँडेका छन्।

तर, ओली आफैँले केही लडाकुहरुलाई भेटेर भित्र्याउन थालेपछि ढुंगेल अन्यौलमा परेका छन्।

‘पूर्वपीएलएका साथीहरुसँग छलफल चाहिँ तीव्र चल्दैछ तर, यही गर्ने भनेर ठोस बनिसकेको छैन। किस्ता किस्तामा पनि हुनसक्छ, एकैचोटीपनि हुनसक्छ भन्ने थियो, तर, साथीहरु व्यक्तिगत रुपमा आफ्नै गुट बनाएर जान थल्नुभयो,’ ढुङ्गेलले भने।

यही विषयमा शनिबार गृहमन्त्री थापा र ढुङ्गेलबीच छलफल पनि भएको थियो। छलफलमा पूर्वलडाकुलाई दिइने प्याकेजबारे निर्णय गर्न सुझाव दिएको ढुंगेलको भनाइ छ।

‘अहिलेसम्म पूर्वलडाकुलाई के दिने भन्नेबारेमा कुनै निर्णय भएको छैन, आर्थिक प्याकेज दिने विषयमा पनि सहमति जुटेको छैन। सबै एकैचोटी प्याकेजमा नहुनसक्छ, किस्ता किस्तामा हुनसक्छ,’ ढुङ्गेलले नेपालखबरसँग भने, ‘उहाँहरुको अपमानलाई सम्मानमा बदल्ने, अयोग्यलाई योग्य बनाउने, घाइते अपांगहरुको उपचार गर्ने, जनआन्दोलन, मधेस आन्दोलन, जनयुद्धका घाइतेहरुको जीवन निवृत्तिभरणको विषयमा के गर्न सकिन्छ भनेर छलफल चलिराखेको छ। एउटा कार्यदल बनाएर त्यसले दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्ने र समाधान गर्ने भन्ने हो। पैसा दिने भन्दा पनि उद्यमशील बनाउन पर्छ भन्ने मेरो सुझाव हो।’

यस विषयमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापा सकारात्मक भएपनि विश्वास गरिहाल्ने अवस्था नरहेको उनले बताए।

‘प्रधानमन्त्री र गृहमन्त्री पोजिटिभ हुनुहुन्छ। परिणाम कति निस्किन्छ मुख्य कुरा त्यहाँ हो,’ उनले भने।

उनले खामलगायतको टोली छलफलमै रहेको र प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा जाने सम्भावना नरहेको बताए।

‘विविध लगायतको टोली छलफलमै छ, प्रचण्डलाई २० वर्षदेखि उहाँहरुले चिन्नुभएको छ,’ ढुंगेलले भने।

खामले प्रचण्डनिकट नेतालाई भनेः मुद्दा फिर्ता भयो भने ओलीतिर लाग्छु
कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोप लागेपछि खाम १२ वर्षदेखि प्रहरीको फरार सूचीमा छन्।

उनले पछिल्लो समय प्रधानमन्त्री ओलीसँग २ पटक बालुवाटारमा भेट गरेका थिए। त्यसपछि उनले तत्कालीन माओवादीको पहिलो, दोस्रो र तेस्रो डिभिजनका बटालियन कमान्डरहरुसँग सम्पर्क गरेका थिए।

पश्चिमतिरका लडाकु भेला गर्दै नेपालगञ्ज पुगेको बेला खामलाई प्रचण्डनिकट केही नेताहरुले सम्पर्क गरेर प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा बस्न सुझाव दिएका थिए। तर, खामले आफूमाथिको ज्यान मुद्दा ओलीले फिर्ता लिने प्रतिबद्धता जनाएकोले सो निर्णय कुरिरहेको जवाफ दिएका थिए।

‘ममाथि लागेको झुठा मुद्दालाई प्रधानमन्त्री ओलीले फिर्ता लिन्छु भन्नुभएको छ,’ खामकोे भनाइ उधृत गर्दै प्रचण्ड निकट एक केन्द्रीय सदस्यले भने, ‘सो मुद्दा फिर्ता भए म ओलीको पक्षमा खुलेर लाग्ने हो।’

अहिलेसम्म त्यसबारे कुनै निर्णय नभइसकेकाले उनी त्यसैको पर्खाइमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .