२०४९ सालमा तत्कालीन एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनको मञ्च व्यवस्थापन गर्नुपर्ने थियो।
उद्घाटन सत्र दशरथ रंगशाला र समापन सत्र खुला मञ्चमा गरिने तय भयो। त्यसैको मञ्च बनाउन अघि सरे काठमाडौँका रैथाने विनोद श्रेष्ठ।
उनले निर्धारित दुई ठाउँमा मञ्च मात्र बनाएनन् त्यसको राम्रो व्यवस्थापन समेत गरे। सो अधिवेशनबाट महासचिवमा मदन भण्डारी निर्वाचित भए। महासचिव निर्वाचित भएका भण्डारीले मञ्च व्यवस्थापन देखेर श्रेष्ठको प्रशंसा गरे।
त्यही बेलादेखि श्रेष्ठ पार्टीका महाधिवेशनहरुमा मात्र होइन हरेक कार्यक्रमहरुमा मञ्च व्यवस्थापनमा खटिँदै आएका छन्।
यो अवधिमा श्रेष्ठले थुप्रै नेताका लागि मञ्च तयार गरे। २०५४ सालमा नेपालगञ्जमा भएको पार्टीको छैठौँ महाधिवेशनमा मञ्चको व्यवस्थापनमा खटिएका श्रेष्ठलाई तत्कालीन अनेरास्ववियूका नेता रुपनारायण श्रेष्ठले खुकुरी नै हानेर कार्यक्रम बिथोल्न खोजेका थिए। उनले त्यो घटना बिर्सेका छैनन्।
नेकपा अहिले विभाजित अवस्थामा छ। विनोद श्रेष्ठ भने प्रधानमन्त्री केपी शर्मा ओलीतिर छन्।
ओलीले काठमाडौंमा गर्ने हरेक कार्यक्रमहरुको मञ्च निर्माण विनोद श्रेष्ठकै भागमा पर्ने गरेको छ। मदन भण्डारीलाई महासचिव बनाउने मञ्चदेखि ओलीको आमसभाका लागि पनि श्रेष्ठले नै मञ्च बनाए।
यो २९ वर्षको अवधिमा दर्जनौं मञ्च बनाइसक्दा उनले मञ्च निर्माणको अवधारणालाई नै परिष्कृत गर्दै लगेका छन्।
प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमविरुद्ध नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल सडक आन्दोलनमा छन्। उनीहरुले आन्दोलन चर्काउँदै लगेका छन्। माघ ९ गते उनीहरुको समूहले काठमाडौंको भृकुटी मण्डपमा विरोध सभा गर्यो।
प्रचण्ड–नेपालले ठूलो भीडका सामुन्ने प्रतिनिधि सभा विघटन गर्ने ओली कदम प्रतिगामी, असंवैधानिक भएको बताए।
सोही दिन प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालको सभालाई हियाउँदै भने– ‘आमसभा कस्तो हुन्छ? केलाई आमसभा भन्छन्? जनपरिचालन केलाई भन्छन्? २३ गते हेर्नुहोला।’
त्यसैले शुक्रबार दरबारमार्गअगाडि गरिने ओली समूहको सभालाई विशाल बनाउनुपर्ने चुनौती सो पार्टीलाई थियो। जसका लागि मञ्च तयार गर्ने जिम्मा श्रेष्ठले नै पाए।
उनले मञ्चलाई भव्य बनाउन कुनै कसर बाँकी राखेनन्। ओलीका ठुल्ठूला तस्बिर राखे, पाँच ठाउँभन्दा बढीबाट प्रत्यक्ष रुपमा कार्यक्रम हेर्न मिल्नेगरी डिजिटल स्क्रिनको व्यवस्था गरे।
त्यसबाहेक सहभागीलाई व्यवस्थित बनाउन खटाइएका २५ सय स्वयंसेवक सबैको रेखदेख उनैले गरे।
त्यसमा ठूलो मेहनत लागेको श्रेष्ठ बताउँछन्।
‘हिजो बेलुकाबाट मञ्च निर्माण थालेको रातभरी लाग्यो,’ कार्यक्रम सकिएपछि शुक्रबार साँझ श्रेष्ठले लामो सास फेर्दै भने, ‘आज खाना पनि खान पाइएन, बिहान दुई टुक्रा बिस्कुट खाएको, अहिले कार्यक्रम सकेपछि बल्ल मःम खाएँ।’
आमसभामा सहभागीको अवस्था बुझ्न, सुरक्षाको छुट्टै रिपोर्टिङ लिन पचास जना वाकीटकी लिएका कमान्डरहरु खटाइए, जसबाट निरन्तर सूचना लिन्थे श्रेष्ठ।
‘झापाबाट आउनुभएकी एकजना ७० वर्षकी खरेल थरकी आमाले प्रधानमन्त्रीलाई आफ्नै हातले दिने भन्दै फूल ल्याउनुभएको रहेछ,’ श्रेष्ठले सुनाए, ‘स्वयंसेवकले रोकिदिएछन्। पछि मलाई खबर आयो, मैले गएर ती आमालाई भेटेँ र त्यो फूल प्रधानमन्त्रीलाई लगेर उहाँकै हातमा दिएँ।’
यसरी छानियो नारायणहिटी
प्रधानमन्त्री ओलीले माघ २३ गते प्रचण्ड–नेपाललाई ‘देखाइदिने’ सभा घोषणा गरेपछि त्यसका लागि ठाउँ खोज्ने जिम्मा श्रेष्ठकै काँधमा आइपर्यो।
कार्यक्रम स्थलका विषयमा नेताहरुबीचमै तर्कवितर्क भयो।
‘कार्यक्रम कहाँ गर्ने भन्ने विषयमा हाम्रा नेताहरुबीच डिबेट थियो। प्रचण्ड–नेपालले कार्यक्रम गरेको ठाउँमा मैले धेरै पटक मञ्च बनाएर म्यानेज गरेको थिएँ, एमालेको थुप्रै कार्यक्रम हुँदा मैले सोही ठाउँमा व्यवस्थापन गरेको थिएँ। तर, हाम्रा नेताले त्यो गल्लीमा कार्यक्रम गर्यौ, २३ गते हेर भनेर घोषणा गरिहाल्नुभयो, अनि त्यो गल्लीभन्दा ठूलो ठाउँ कहाँ छ त भनेर मैले खोज्नुपर्यो,’ श्रेष्ठले भने, ‘सोही दिन काठमाडौंका बानेश्वर, नारायणहिटी र लैनचौर गुगल सर्च गरेर हेरेँ, म्यापिङ गर्दा सबैभन्दा उत्कृष्ट नारायणहिटी भन्दा अरु देखिनँ।’
‘फेरि सरकारकै मान्छे भएकोले निषेधित क्षेत्रले प्रभाव पार्छ कि पार्दैन त्यो पनि हेर्नुपर्यो। अर्काे महत्वपूर्ण कुरा के हो भने म त मजदूरकै फाँटमा काम गर्ने भएकोले श्रमजीवीलाई त्यहाँ राख्दा आपत पर्छ कि पर्दैन हेर्नुपर्यो,’ श्रेष्ठले थपे, ‘यो कार्यक्रम भद्रकाली क्षेत्रमा गरेको भए सबैतिर जाम हुन्थ्यो।’
प्रविधिको प्रयोग गरेर राम्रो देखे पनि फिल्डमा गएर हेर्नुपर्ने, त्यहाँको सबै विवरण प्रधानमन्त्री ओलीलाई बुझाउनुपर्ने भएकोले उनले नारायणहिटीको स्थलगत अध्ययन थाले।
‘त्यहाँ अट्ने संख्या, सुरक्षाको अवस्था, प्रचार गर्न सकिने पक्ष लगायतका सबैलाई समेटेर तयार पारिएको रिपोर्ट प्रधानमन्त्रीलाई बुझाएँ अनि ठाउँ कन्फर्म भयो,’ श्रेष्ठले भने।
मञ्च बनाउँदा ध्यान दिन्छन् यी तीन पक्ष
तत्कालीन एमालेभित्र मञ्च निर्माणमा श्रेष्ठ त्यसै चर्चित भएका होइनन्। उनी तीनवटा पक्षलाई निकै ध्यान दिन्छन्ः, मञ्चको सजावट, सुरक्षा र सहभागीको व्यवस्थापन।
‘मञ्चलाई राम्रोसँग साजसज्जा गरिएन भने त्यहाँ रहने नेताहरुलाई सहभागीहरुले राम्रोसँग देख्दैनन्,’ श्रेष्ठ भन्छन्, ‘त्यही भएर कलात्मक रुपमा मञ्च बनाउन म केन्द्रित हुन्छु।’
त्यसपछि उनी अतिथिहरुको सुरक्षाको ख्याल गर्छन्।
‘संसारकै इतिहास हेर्ने हो भने ठूला मानिसहरुको हत्या आफ्नै मान्छेबाट भएको छ। मदन भण्डारीको पनि आफ्नै मान्छेबाट हत्या भएको शंका छ। राजीव गान्धी भन्नुस्, फूल दिने भनेर हत्या भयो,’ उनले भने, ‘त्यसकारण सुरक्षाको हिसाबले के हुन्छ भनेर हेर्नुपर्ने हुन्छ। त्यस्तै, सहभागीलाई व्यवस्थापनको हिसाबले सहज होस्। उनीहरुबाट जुलुसमा आइयो तर हामीलाई अप्ठेरो भयो भन्ने गुनासो सुन्ने कि शानदार व्यवस्था थियो भन्ने सुन्ने? म सहभागीले आहा भन्नुपर्छ भनेर मञ्च मात्र होइन, साउन्ड सिस्टममा पनि ध्यान दिन्छु।’
त्यसलाई प्रचारको दृष्टिले चुस्त बनाउनुपर्ने कुरामा आफू सजग रहेको उनी बताउँछन्।
‘कार्यक्रमको उद्देश्य के हो? हल्ला मात्र गर्ने हो कि? केही दिने हो कि वा त्यसबाट बौद्धिक केही कुरा पाइन्छ? जस्तो शुक्रबारको कार्यक्रम यी तिनवटैको मिश्रित रुप हो’, श्रेष्ठले भने।
सोचेजति मानिस आएनन्
शुक्रबारको कार्यक्रममा तीन वटा ड्रोन क्यामरा प्रयोग गरिएको थियो। जसबाट कुन ठाउँ खाली छ, कहाँबाट जुलुस आयो, कहाँबाट आएन, कहाँ डिस्टर्ब भयो भनेर मनिटर गरिएको उनी बताउँछन्।
‘काठमाडौंबाहिरबाट आउने संख्यालाई बिहीबारको हड्तालले केही डिस्टर्ब गर्यो,’ उनी भन्छन्, ‘त्रासका कारण बाहिरबाट मानिस सोचेजति नआएपनि काठमाडौंकै मानिस आए।’
बढीमा डेढ लाख मानिस आउने अपेक्षा गरिएको उनले दाबी गरे।
‘कसैले तीन लाख, चार लाख र कसैले पाँच लाखसम्म पनि गफ दिए। तर, मलाई डेढ लाख चैँ मैले म्यानेज गर्न सक्छु भन्ने थियो,’ उनले भने, ‘आफ्नो क्यापासिटी त्यति नै हो। त्यसआधारमा कम्तीमा एकलाख हुन्छ भन्ने थियो। त्योभन्दा माथि आए त अस्तव्यस्त नै हुन्छ, ठाउँकै हिसावले पनि त्यो भन्दा बढी अट्ने सम्भावना नै छैन।’
त्यो भन्दा बढी भए त्रिपुरेश्वरको जुलुसलाई त्यहीँ रोकेर वर्ल्ड ट्रेड सेन्टरको डिजिटल स्क्रिनमा ओलीको भाषण देखाउने तयारी उनले गरेका थिए। तर, सोचेजति मानिस आएनन्।
सभास्थलमा २ लाख मास्क र स्वास्थ्यकर्मीको पाँच वटा टोली व्यवस्था गरिएको थियो। मास्क सबै वितरण नभएको उनले बताए। समग्रमा कार्यक्रम सफल भएको उनको भनाइ छ।
‘दरबारमार्गपट्टि एक जना व्यक्ति रुखमा चढिदिँदा माइकको तार चुँडियो र तल बसेकाहरुले आधा घण्टासम्म बोलेको सुन्न पाएनन्,’ श्रेष्ठले भने, ‘केहीबेर हल्ला भयो। त्यो मिलाउन प्राविधिक टीमलाई आधा घण्टा लाग्यो ’
Shares
प्रतिक्रिया