ad ad

राजनीति


प्रचण्ड-नेपालको विरोधसभामा देखिएका सात फरक दृश्य

प्रचण्ड-नेपालको विरोधसभामा देखिएका सात फरक दृश्य

सागर न्यौपाने
माघ २८, २०७७ बुधबार १३:२८,

पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपाले काठमाडौँमा विशाल विरोधसभा गरेको छ।

भृकुटीमण्डप अघिल्तिर माघ ९ मा उनीहरुले सभा आयोजना गरेका थिए। सोही ठाउँमा गरिएको दोस्रो सभामा सहभागीहरुको संख्या बढेको थियो।

विरोधसभा सुरु हुनुअघि प्रचण्ड–नेपालले सुन्धाराबाट निस्केको जुलुसको नेतृत्व गरेका थिए। विरोधसभामा देखिएका केही फरक दृश्य:

ह्विलचेयरमा मात्रिका
नेकपाका स्थायी समिति सदस्य मात्रिका यादव ह्विलचेयरमै कार्यक्रमस्थल पुगे।

माघ २२ गते गरिएको आमहड्तालमा जनकपुरमा प्रहरीसँग झडप हुँदा उनी गम्भीर घाइते भएका थिए।

कार्यक्रमअघि उनले माइतीघरमा प्रदेश २ को तर्फबाट जुलुसको नेतृत्व समेत गरेका थिए। त्यसपछि ह्विलचेयरमै उनी कार्यक्रममा सहभागी भए।

matrika-wheelchair_225.jpg

काठमाडौँको सभा, सुन्तलाको व्यापार
गोरखाकी ऋतु ढकाल र निर्मला खड्का सहिदगेट छेउमा सुन्तला बेचिरहेकी थिए।

बुधबार साढे ११ बजे काठमाडौं उत्रिएका उनीहरुले १ बजेदेखि सो क्षेत्रमा बसेर सुन्तला बेचेका हुन्।

उनीहरुसँग आएका अन्य ७ जनाले भने भृकुटीमण्डप क्षेत्रमा बसेर सुन्तला बेचे।

‘जुलुसमा पनि जाने भनेपछि व्यापार पनि गरौं भनेर सुन्तला लिएर आयौँ,’ ऋतुले नेपालखबरसँग भनिन्, ‘मैले ४० केजीजति ल्याएकी थिएँ, अब १० केजी जति बाँकी होला।’

suntala_46.jpg

निर्मलाले भनिन्, ‘जुलुसमा पनि सहभागी हुने, व्यापार पनि गर्ने भनेर आयौँ। सबै बिक्री भएन भने के गर्ने होला।’

समावेशी वक्ता, छोटा भाषण
बुधबारको विरोध सभामा १४ जना वक्ताहरु थिए। समानुपातिक, समावेशी आधारमा चयन गरिएका वक्ताहरुले निकै छोटा भाषण गरेका थिए। कार्यक्रमलाई सकभर छिटो सक्न पनि थोरै समयमा आफ्ना धारणा राख्न सञ्चालक लीलामणि पोखरेलले आग्रह गरिरहेका थिए।

प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रघुजी पन्त, देव गुरुङ, जनार्दन शर्मा, रामचन्द्र झा, सन्तकुमार चौधरी, रामकुमारी झाँक्री, मोहम्मद महफुज अन्सारी, भानुभक्त जोशी, अमृता थापा र अञ्जना विशंखेले सभामा सम्बोधन गरे।

वक्ताहरुले ओली कदमको चर्को आलोचना गरे पनि उनीहरु तुलनात्मक रुपमा सम्हालिएका देखिन्थे। यसअघि काठमाडौं, विराटनगर, बुटवल र धनगढी लगायतका स्थानमा गरिएको विरोधसभाहरुमा प्रयोग गरेका भाषाप्रति सार्वजनिक आलोचना भएको थियो।

टेप टाँसेर भाषण गर्न पुगिन् रामकुमारी झाँक्री
भाषण गर्न बोलाइएपछि मञ्चमा पुगेकी नेतृ रामकुमारी झाँक्रीले ‘प्रतिगमन मुर्दावाद’ लेखिएको एप्रोन फुकालेर फाल्दिइन्। त्यसपछि मास्क खोलिन्। उनले मुखमा कालो टेप लगाएकी थिइन्।

ramkumari_325.jpg

उनले सो टेप निकालेर भाषण सुरु गरिन्– ‘बोल्न पाइन्छ। हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ, नागरिकको मुखमा टेप टाँसिएको छैन।’ सर्वसत्तवादको विरुद्ध बोल्न पाइन्छ। संविधानको चीरहरण गर्नेका विरुद्ध बोल्न पाइन्छ।’

यसअघि झाँक्रीले एक भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासबाट निस्किन र चुनाव लड्न आउन आग्रह गरेकी थिइन्। सो भाषणमा उनले भण्डारीलाई ‘बालकोटतिरै गएपनि हुन्छ’ भनेकी थिइन्। कतिपयले उनको त्यो भनाइ अमर्यादित भएको भन्दै आलोचना गरेका थिए। त्यसैको जवाफ दिँदै उनले टेप टाँसेर भनेकी हुन्ः बोल्न पाइन्छ।

झाँक्रीले राष्ट्रपति व्यक्ति नभई संस्था भएकाले आफ्नो आलोचना ठिक भएको दाबी गरिन्। राष्ट्रपति अहिले ओलीको प्यादाजस्तो बनेको उनको आरोप थियो। उनले हातमा कालोपट्टी पनि बाँधेकी थिइन्।

विरोध सभामा खटाइएका स्वयंसेवकहरुले ‘प्रतिगमन मुर्दावाद’ लेखिएको एप्रोन लगाएका थिए। कतिपयले सोही नारा लेखिएको टीसर्ट पनि लगाएका थिए।

नारायणकाजीले ऋषि धमलालाई चुप लगाए
प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गरिरहेका थिए। मञ्चअगाडि नै पत्रकार ऋषि धमला सहभागीहरुसँग अन्तर्वार्ता लिइरहेका थिए। भाषण गरिरहेका श्रेष्ठले नामै तोकेर धमलालाई चुप लाग्न भने।

naryankaji_w3252.jpg

‘पत्रकार साथीहरु तपाईंहरु चुप लाग्नुस्। एकछिन त्यहाँ पत्रकार साथीहरुले अरु केही नगरिदिनुहोला,’ आक्रोशित हुँदै श्रेष्ठले भने, ‘पत्रकार साथीहरु हामी यहाँ सभा सञ्चालन गरिराखेका छौं। तपाईंहरु त्यहाँ चुप लागिदिनुस्। सुन्नुभयो, ऋषि धमलाजी। तपाईं त्यहाँ अर्का कार्यक्रम नगर्नोस्। चुप लाग्नुस्।’

उनले अन्य कार्यक्रम एकछिनपछि सञ्चालन गर्न आग्रह गरे।

भाषण नसुनिएपछि सभा नसकी बसतिर
नेकपाले यो पटक सहभागीहरुको संख्या दुई लाख पुग्ने भन्दै तीन ठाउँमा डिजिटल स्क्रिन राखेको थियो।

तैपनि कार्यक्रम हेर्न नपाएको र भाषण नसुनिएको भन्दै थुप्रै सहभागी कार्यक्रम सुरु भएको एकघण्टा नहुँदै बाहिरिन थालेका थिए।

२ बजे सुरु भएको कार्यक्रममा नेताहरु बोलिनसक्दै सहभागी हिँड्न थालेका देखिन्थे।

farkidai_sahavagi_46.jpg

दिउँसो ३ बजे त्रिपुरेश्वर हुँदै सहिदगेट पुग्दा कार्यक्रमबाट फर्कनेको लर्काे थियो।

विराटनगरबाट आएका सञ्जय लामाले नेताहरुको भाषण सुन्न र हेर्न नपाएपछि घर फर्कन लागेको बताए। उनी आफू आएको बस खोजिरहेका थिए।

‘सहिदगेटबाट उता जान पनि सकिएन, भाषण पनि राम्रोसँग सुनिएन, अनि त्यहाँबाट निस्केँ,’ उनले भने, ‘हामी ६० जना आएका छौँ, गाडी तल त्रिपुरेश्वर, थापाथली छेउमा राखिएको छ।’

धादिङबाट आएका बाबुराम ढकालपनि कार्यक्रम नसकी निस्किए।

‘धेरै ढिलासम्म कार्यक्रम हुँदा घर पुग्न झन ढिला हुन्छ त्यही भएर म त हिँडेँ, सुन्न त प्रचण्ड–नेपालको भाषण सुन्न मन थियो अब मौसम पनि यस्तै छ,’ उनले भने।

उनका अनुसार उनी आएको ठाउँबाट मात्र ६० वटाभन्दा बढी बसमा सहभागी आएका छन्।

‘६० वटा त मैले नै गनेको हुँ, हजार, १५ सय थिए होला,’ ढकालले नेपालखबरसँग भने।

पर्सा, वीरगञ्ज २३ बाट आएका बच्चु पासवानपनि प्रचण्ड–नेपालको कार्यक्रम नै नसकी निस्किए।

‘कार्यक्रमको मञ्च नै राम्रोसँग देखिएन, डिजिटल स्क्रिनमा पनि नेताहरु देखिएनन्,’ पासवानले गुनासो गरे, ‘भाषण पनि राम्रोसँग सुनिएन अनि म साथीहरुलाई लिएर गाडीमा बस्न आएँ।’

उनी आएको गाडी टेकुमा राखिएको थियो।

prachanda-madhav-nepal_236.jpg

प्रवक्ताको नेतृत्वमा कार्यक्रमस्थलको सफाइ
कार्यक्रम सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा कार्यक्रमस्थलमा भएका फोहोर सफा गरिएको छ।

कार्यक्रममा सहभागीहरुले खाएका बदामका बोक्रा, प्लास्टिक तथा अन्य फोहोर बढार्ने काममा श्रेष्ठ पनि सहभागी भए।

यसअघि माघ ९ गते भएको कार्यक्रममा सरसफाइ नगरेको भन्दै उनीहरुको आलोचना भएको थियो। नेकपाले बुटवलको सभादेखि कार्यक्रमस्थलको सफाइ आफैँले गर्न थालेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .