ad ad

राजनीति


तमलोपा ब्युँताउन महन्थ ठाकुरलाई फकाउँदै हृदयेश त्रिपाठी

तमलोपा ब्युँताउन महन्थ ठाकुरलाई फकाउँदै हृदयेश त्रिपाठी

सागर न्यौपाने
फागुन ६, २०७७ बिहिबार १५:२५,

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ब्युँताउन छलफल अघि बढाएका छन्।

त्रिपाठी पछिल्लो समय आफ्नै पार्टी गठनको तयारीमा छन्। त्यसका लागि उनले नाम र चुनाव चिन्ह तमलोपको लिन छलफल सुरु गरेका हुन्। यस विषयमा उनी सहमतिनजिक पुगेको त्रिपाठीनिकट नेताहरुले बताएका छन्।

२०६४ साल पुस १३ गते महन्थ ठाकुरको नेतृत्वमा हृदयेश त्रिपाठी, महेन्द्र राय यादव, वृजेशकुमार गुप्ता, रामचन्द्र कुशवाह, वृशेषचन्द्र लाल, अनिश अन्सारी, रामचन्द्र रायलगायतले तमलोपा गठन गरेका थिए। पछि पार्टी टुटफुट भएको थियो। ठाकुर हाल जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष छन्।

ठाकुरको विरासत बोकेको पार्टी र चुनाव चिन्ह लिएर नयाँ पार्टी गठन गरी उनलाई समेत ल्याउनेगरी छलफल भइरहेको यसको गृहकार्य गरिरहेका त्रिपाठी निकट एक नेताले बताए।

‘नाम र चुनाव चिन्ह तमलोपाकै राखेर नयाँ पार्टी गठन गर्ने विषयमा छलफल भइरहेको छ,’ ती नेताले नेपालखबरसँग भने, ‘निर्वाचन आयोगबाट सो नाम पाउन समस्या नपर्ने देखिन्छ।’

तमलोपा आयोगमा अहिले दर्ता छैन। एक वर्ष नाघेपछि त्यो नाम जसलाई पनि दिन मिल्ने भएकाले नाममा सहमति जुटे प्रक्रिया अघि बढाइने त्रिपाठीको योजना छ।

त्रिपाठी आफैँ तमलोपाको संस्थापक नेता भएकाले उनको पहिलो प्राथमिकतामा सो नाम परेको नेताहरु बताउँछन्।

‘उहाँलाई तराई र मधेस दुवै जोडिएका नाम प्रिय लाग्छन्,’ उनी निकट ती नेताले भने, ‘त्यसैले तमलोपाकै सम्भावना बढी छ।’

महन्थ ठाकुरलाई समेत ल्याउन उनैले गठन गरेको तमलोपा र झण्डालाई पहिलो प्राथमिकतामा राखिएको हुनसक्ने ती नेताले बताए।

उनका अनुसार यसबारेमा ठाकुरसँग त्रिपाठीले कुराकानी गरिसकेका छन्।

‘पार्टीको नाम तमलोपा नै राख्ने र झण्डापनि त्यही राखेर दल दर्ता गर्ने विषयमा ठाकुरजीसँग पनि कुरा भएको रहेछ,’ ती नेताले भने।

यद्यपि ठाकुर त्रिपाठीले गठन गर्ने तमलोपामा जाने सम्भावना नरहेको जसपाका नेता केशव झाले बताए।

‘त्रिपाठीजीले ठाकुरजीलाई गुरु मान्नुहुन्छ र उहाँहरुबीच निरन्तर छलफल भइरहन्छ, तर, कहीँ जाने सम्भावना छैन,’ झाले नेपालखबरसँग भने।

स्वास्थ्यमन्त्री त्रिपाठीले नेपालखबरसँगको अन्तर्वार्तामा आफूले वाम लोकतान्त्रिक पार्टी गठन गर्न लागेको बताएका थिए।

त्रिपाठीले नयाँ पार्टी गठनको तयारी गरेपछि जसपाबाट केपी ओली नेतृत्वको नेकपामा प्रवेश गर्न ठिक्क परेका नेताहरु समेत रोकिएका छन्।

‘त्रिपाठीजीले हाम्रा पनि केही साथीहरुलाई नयाँ पार्टी गठन गर्न लागेको छु भनेर बोलाउनुभएको रहेछ,’ झाले भने, ‘तर, उच्च तहका साथीहरु जाने सम्भावना छैन।’

त्रिपाठीले पूर्वी तराईमा पकड बलियो बनाउन जसपाका नेता तान्ने प्रयास गरेको हुनसक्ने टिप्पणी उनले गरे।

प्रतिनिधि सभा विघटनविरुद्धमा जसपा चरणबद्ध आन्दोलनमा छ। तर, ठाकुरले भने ओलीले घोषणा गरेअनुसार निर्वाचन हुनुपर्ने बताएका छन्।

उनले निर्वाचनमा जानुपर्ने भनी दिएको अभिव्यक्तिले जसपाभित्र खैलाबैला मच्चाएको थियो। कतिपयले जसपाभित्र विवाद सुरु भएको रुपमा यसलाई अर्थ्याएका थिए।

केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरुद्ध निकै आक्रामक रुपमा प्रस्तुत भइरहेका छन्। त्यसैबेला ठाकुरले चुनावमा जान खुट्टा कमाउन नहुने भनेर दिएको अभिव्यक्तिपछि जसपाले शुक्रबार पदाधिकारीको बैठक बोलाएको छ।

शुक्रबार दिउँसो १२ बजे पार्टी कार्यालयमा जसपाका दुई अध्यक्ष, एक संघीय परिषद् अध्यक्ष र दुई वरिष्ठ नेताहरुबीच छलफल गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने झाले जानकारी दिए।

त्यसो त त्रिपाठी पनि सर्वाेच्च अदालतले गर्ने निर्णयको पर्खाइमा छन्।

गठन भएको तीन वर्षमै फुटेको थियो तमलोपा
२०६४ साल पुस १३ गते महन्थ ठाकुरको नेतृत्वमा हृदयेश त्रिपाठी, महेन्द्र राय यादव, बृजेशकुमार गुप्ता, रामचन्द्र कुशवाह, वृशेषचन्द्र लाल, अनिश अन्सारी, रामचन्द्र रायलगायतले तमलोपा गठन गरेका थिए।

सो दलले पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ११ सिट जितेको थियो।

तर, सो पार्टी गठन भएको तीन वर्षमै विभाजित भयो। २०६७ पुस १६ गते महेन्द्र राय यादवले तमलोपा नेपाल नामको नयाँ पार्टी बनाए।

त्यसपछि तराईमा राजनीति गर्दै आएका ६ वटा दलहरुले २०७४ वैशाख ७ गते एकता गरेर राष्ट्रिय जनता पार्टी (राजपा) बनाए। सो पार्टी बनाउन त्रिपाठीले नै महत्वपूर्ण भूमिका खेलेका थिए।

तर, वरियता लगायतका विषयमा असन्तुष्टि जनाउँदै त्रिपाठीले २०७४ को संघीय चुनावताका राजपा छाडे।

त्यसपछि त्रिपाठीले बीके गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले ‘स्वतन्त्र राजनीतिक समूह’ बनाए र २०७४ असोज १६ गते एमालेको सूर्य चिह्न लिएर चुनाव लड्ने सहमति गरे।

२०७७ वैशाख १० गते राजपा र उपेन्द्र–बाबुरामले नेतृत्व गरेको समाजवादी पार्टीबीच एकीकरण भएको हो।

एकतापछि पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राखिएको हो।

प्रधानमन्त्री ओलीले दल विभाजन खुकुलो पार्नेगरी वैशाख ८ गते अध्यादेश ल्याएपछि राजपा र समाजवादी पार्टीबीच एकता भएको थियो।

यो पनिः
हाम्रो नयाँ पार्टी लोकतान्त्रिक वामपन्थी शक्तिसँग निकट हुनेछः त्रिपाठी (अन्तर्वार्ता)
नयाँ पार्टी गठनको तयारीमा त्रिपाठी, ओली समूहमा पस्न लागेका जसपाका नेता रोकिए

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .