ad ad

राजनीति


देउवाले गरेको संसद विघटन स्मरण गर्दै पौडेलले औँल्याए आन्दोलनको आवश्यकता

देउवाले गरेको संसद विघटन स्मरण गर्दै पौडेलले औँल्याए आन्दोलनको आवश्यकता

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार १४:८,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन नै गर्नुपर्ने बताएका छन्।

शेरबहादुर देउवाले विघटन गरेको संसदलाई ०६२-०६३ मा आन्दोलन गरेर फर्काएको भन्दै ओलीले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापनाका लागि पनि आन्दोलनको विकल्प नभएको बताएका हुन्।

धरान उपमहानगरपालिकामा रहेको बीपी पार्कमा बीपी कोइरालाको पूर्णकदको शालिक अनावरण गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘हामीले आन्दोलनबाट नै संसद फर्काएर ल्याएको हो। शेरबहादुर देउवाले विघटन गरेको संसदलाई आन्दोलनबाट फर्काएको हो नि’ पौडेलले थपे, ‘फेरि २०६२-६३ जस्तो इतिहास नदोहोरिओस्।’

पौडेलले अदालतले संसद विघटनलाई सदर गरे ठूलो आन्दोलन हुने चेतावनी पनि दिए।

‘अदालतले संसद विघटनलाई सदर गरोस्, अनि फेरि ठूलो आन्दोलन होस्, अनि त्यही आन्दोलनका बलमा संसद पुनर्स्थापना गर्नुपर्ने दिन नआओस्,’ पौडेलले चेतावनी दिँदै भने।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको चुनाव हुने संभावना नरहेको भन्दै वैशाख २७ पछि सरकारको वैधता के हुन्छ भनेर प्रश्न गरेका छन्।

‘चुनाव त हुनेवाला छैन, वैशाखको २७ गतेपछि शासन गर्ने अधिकार कोसँग हुन्छ? चुनाव गर्छु भनेकाले वैशाख २७ गतेसम्म केपी ओलीसँग शासन गर्ने अधिकार होला तर त्यो भन्दा पछि शासन गर्ने अधिकार कोसँग हुन्छ?’ पौडेलले प्रश्न गरे।

घोषित मितिमा चुनाव नहुने भएपछि मुलुकमा अराजकता आउने र नेत्रविक्रम चन्द, सेनालगायत हतियार हुनेहरुले राज्यलाई च्यालेन्ज गर्ने खतरा रहेको पौडेलले औँल्याए ।

भने, ‘जोसँग हतियार छ उही शक्तिशाली हुने दिन आउँछ। यो अवस्था आउँदै गर्दा नेपाली कांग्रेसले मुलुकलाई वेवारिसे छोड्नु हुँदैन, मुलुकमा संकट भएका बेलामा कांग्रेस रमिते बन्न हुँदैन।’

उनले कांग्रेस देशको भरोसा भएको बताए।

संविधान र यो लोकतन्त्र जोगाउनका लागि कुनै पनि मूल्य चुकाउन नहुने पौडेलको भनाई छ।

‘चुनाव भयो भने हामी जितौँला तर अहिले हामीले तत्कालिन फाइदा हेर्ने कि मुलुक, संविधान र लोकतन्त्रलाई हेर्ने, त्यसैले प्रतिनिधिसभाको पुनर्स्थापना हुनुपर्छ,’ पौडेलले थपे।

आफूले पार्टीमा संवैधानिक अंगका नियुक्तिको खारजी, संसदको पुनर्स्थापना र प्रदेशमा दर्ता भएको अविस्वासको प्रस्तावको पक्षमा मतदान गरौँ भन्ने तीन प्रस्ताव राखेपनि पास नभएको उनले गुनासो गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .