ad ad

राजनीति


सत्तापक्ष कि प्रतिपक्षः संसद् बैठकमा कहाँ बस्छन् प्रचण्ड–नेपाल पक्षका सांसद?

सत्तापक्ष कि प्रतिपक्षः संसद् बैठकमा कहाँ बस्छन् प्रचण्ड–नेपाल पक्षका सांसद?

सागर न्यौपाने
फागुन १६, २०७७ आइतबार १५:२५,

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरिसकेको छ। त्यसअनुसार फागुन २३ मा संसद् बैठक बस्नेछ।

सत्तारुढ नेकपा व्यवहारिक रुपले फुटिसकेको छ। आधाभन्दा बढी सांसद सरकारको विपक्षमा छन्। यस्तो अवस्थामा संसद् बैठक सुरु भएपछि उनीहरु कहाँ बस्लान्, सिट विभाजन कसरी होला भन्ने आम चासो छ।

आइतबार चिकित्सकहरूको टोलीसहित संसद सचिवालयका कर्मचारीले संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्ने कक्षको अवलोकन गरेका छन्। २३ फागुनमा सुरु हुने भनिएको प्रतिनिधिसभाको बैठकका लागि भौतिक दूरी र स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरी बैठक बस्ने तयारी गरिएको छ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले उनलाई कारबाही गरेका छन् र फरक पार्टीको अभ्यास भइरहेको छ। दुवै समूहले आफ्नो पक्ष आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन्।

निर्वाचन आयोगले नेकपाको आधिकारिक पार्टी कुन हो भनेर निर्णय गरेको छैन।

संसद् बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरु बस्ने छुट्टा छुट्टै कुर्सीको व्यवस्था मिलाइएको हुन्छ। अबको बैठकमा विभाजित दुई पक्षका लागि सिट व्यवस्थापन कसरी गरिन्छ त?

Sansad Meeting Rss2

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले दुई समूहले दुई पार्टीको संसदले नेकपालाई एउटै पार्टीका रुपमा चिन्ने बताए।

‘जबसम्म कानुनी रुपमा नेकपा एउटै रहन्छ, संसदले पनि एउटै पार्टीको रुपमा चिन्छ,’ योगीले नेपालखबरसँग भने, ‘निर्वाचन आयोगले चिठ्ठी लेखेर विभाजन भएको जानकारी नदिएसम्म हाम्रा लागि नेकपा एउटै पार्टी हो, अहिले उहाँहरु सत्तापक्षकै सिटमा बस्नुहुन्छ।’

‘प्रतिनिधि सभा पुनस्थापना भएपछिको अवस्था पुस ५ अघिकै जस्तो हो,’ योगीले थपे।

प्रचण्ड–नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाइसकेको छ भने ओलीले मुख्य सचेतकबाट देव गुरुङलाई बर्खास्त गरेर विशाल भट्टराईलाई नियुक्त गरेका छन्।

कार्यव्यवस्था समितिको बैठकका लागि बोलाइने समितिमा समेत यसअघि रहेकै व्यक्तिहरुबीच छलफल हुने उनको भनाइ छ।

कार्यव्यवस्था समितिमा सभामुख अध्यक्ष, उपसभामुख उपाध्यक्ष र कानुनमन्त्री सदस्य रहने व्यवस्था छ, त्यसबाहेकका सदस्य भने दलीय आधारमा गठन गरिन्छ।

Sansad Meeting Rss3

‘कार्याव्यवस्था समितिमा दलीय आधारमा हुने फेरबदल संसदबाटै गर्नुपर्छ, त्यो नभएसम्म पुरानैले मान्यता पाउँछ,’ योगीले भने, ‘पदेनबाहेकका सदस्य सभामुखले हाउसमा प्रस्ताव राखेर, हाउसले पास गरेर बनाएको कार्यव्यवस्था समिति हो त्यो।’

संसद् बैठक सुरु भएपछि प्रचण्ड–नेपाल समूहले ओलीविरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने चर्चा पनि छ। उनीहरुले सत्ता पक्षकै सिटमा बसेर प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राख्न मिल्छ त?

यसबारे आफूले केही भन्न नसक्ने योगीले बताए।

‘कुनै प्रक्रिया नै अगाडि नबढेको भएर अहिले केही भन्न सकिँदैन। अहिले हामीले बुझेको के हो भने नेकपा भनेको एउटै पार्टी छ, नेकपाको औपचारिक विभाजन भइसकेको छैन,’ उनले भने, ‘अरु कुरा के के आउँछ, त्यसपछि मात्र भन्न सकिन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .