ad ad

राजनीति


सांसदहरुलाई ओलीको निर्देशन : प्रचण्ड–नेपालको दबाब र प्रलोभनमा नपर्नुहोला

सांसदहरुलाई ओलीको निर्देशन :   प्रचण्ड–नेपालको दबाब र प्रलोभनमा नपर्नुहोला

सागर न्यौपाने
फागुन २२, २०७७ शनिबार १२:४९,

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको पनि दबाब र प्रलोभनमा नपर्न आफ्नो समूहका सांसदहरुलाई निर्देशन दिएका छन्।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा ओली समूहको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षका सांसदलाई दबाब र प्रलोभन देखाएको भन्दै त्यसको डटेर सामना गर्न निर्देशन दिएका छन्।

उनले प्रचण्ड–नेपाल समूहको घेराबन्दीमा परेर आउन पाइन भनेर नभन्न र त्यस्ता कुराको डटेर सामना गर्न पनि सांसदहरुलाई आग्रह गरे।

‘प्रचण्ड–नेपालले माननीयहरुलाई विभिन्न रुपमा भ्रममा पार्ने, दबाब दिने गर्लान्, घेराबन्दीमा परेर आउन सकिनँ नभन्नुहोला’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसदले नेपालखबरसँग भने, ‘तपाईँहरु त माननीय हो, यस्तो कुरामा डटेर सामना गर्नुपर्‍यो।’

उनले पार्टी र संसदमा सधैँ बहुमत नहुने भन्दै अल्पमतमा परे पनि उच्च मनोबलका साथ सामना गर्नुपर्ने बताए।

‘तपाईँहरु आत्तिनु पर्दैन, कहिलेकाही पार्टीमा अल्पमतमा पनि पर्न सकिन्छ। अल्पमतमै परे पनि उच्च मनोबलको साथ डटेर सामना गरौँ’, ओलीको भनाई उद्धृत गर्दै ती सांसदले भने।

प्रधानमन्त्री ओलीले आफ्नो समूह बहुमतमा रहेका कारण कुनै दुविधामा नपर्न आग्रह गरेको सांसद पदम गिरीले बताए।

‘हाम्रो पक्षमा बहुमत सांसद रहेको र कुनै ‘कन्फुजन’मा पर्नुपर्दैन भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ ओलीको भनाई उधृत गर्दै गिरीले नेपालखबरसँग भने।

बैठकमा ओलीले आफू पक्षका सांसदहरुलाई एकढिक्का भएर संसदमा प्रस्तुत हुन पनि निर्देशन दिएको उनले बताए।

ओलीले प्रचण्ड–नेपालले कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पारेर आफ्नै पार्टीको बहुमतको सरकार ढलाउने, पार्टीमा विभाजन ल्याउने र अरुलाई प्रधानमन्त्री बन्देऊ भन्दै हिँड्नेजस्ता निकृष्ट काम गरेको आरोप लगाए। आफूलाई प्रधानमन्त्रीबाट हटाउन अविश्वासको प्रस्ताव ल्याउन लागिएको भन्दै उनले त्यसको सामना गरेर जाने बताए।

‘अहिले छोड्ने कुरा केही पनि छैन, संसदमा हरेक कुराको डटेर सामना गर्नुपर्छ’, ओलीले भने, ‘तपाईंहरु त्यसै अनुसार लाग्नुहोस्।’

प्रधानमन्त्रीबाट तत्काल राजीनामा नदिने
आइतबारदेखि सुरु हुने संसद् बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा आउनसक्ने चर्चा चलिरहेको छ। तर, दलको बैठकमा प्रधानमन्त्रीले राजीनामा दिनेबारे कुनै संकेत नदिएको सांसद गिरीले बताए।

उनले प्रधानमन्त्रीबाट ओलीले कुनै पनि हालतमा राजीनामा नदिने ठोकुवा गरे। ‘अहिले पनि दलको नेता केपी ओली नै हो, उहाँले राजीनामा दिने कुरा छैन’, सांसद गिरीले भने।

बैठकमा आधा घण्टा बोलेका ओलीले सबै कुराको सामना गर्ने जिम्मा सांसदको काँधमा आएको बताए।

‘आफ्नो पक्षमा रहेका सांसद संख्यालाई कायम राख्ने, दृढतापूर्वक संसद बैठकमा आइपर्ने सबै कुराको सामना गरेर जाने दायित्व हाम्रो काँधमा आयो’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै गिरीले भने।

११५ सांसद रहेको दावी
ओली समूहको संसदीय दलका उपनेता सुवास नेम्वाङले शनिबारको बैठकमा ११५ जना सांसद उपस्थित भएको दावी गरे।

‘यतिउति भन्दा पनि ११५ जना त थिए नै’, नेम्वाङले नेपालखबरसँग भने, ‘केही सांसदले हामी यही समूहमा छौँ भनेर खबर पनि गर्नुभएको छ, यो संख्या बढ्न सक्छ।’

उता ओली पक्षकै अर्का सांसदले भने शनिबारको बैठकमा सांसदमात्र नभई केन्द्रीय सदस्यहरु पनि उपस्थित भएको बताए।

‘बैठकमा सांसद मात्रै नभई केन्द्रीय सदस्यहरु पनि सहभागी हुनुहुन्थ्यो’, ती सांसदले भने, ‘दुवै गरेर १५० जतिको उपस्थिति थियो। ठ्याक्कै सांसद यति नै भन्ने थाहा भएन।’

अर्का एक सांसदले भने शनिबारको बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरेर सय जना सांसद उपस्थित भएको बताए।

‘मैले हस्ताक्षर गर्ने बेला सय पुग्न लागेको थियो, दुवै सदनका गरेर करिब सय सांसद उपस्थित हुनुहुन्थ्यो होला’, नेपालखबरसँग ती सांसदले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .