ad ad

राजनीति


जसपा भन्छः उधारो सहमति गर्दैनौँ, सत्ता सहकार्य जोसँग पनि हुनसक्छ

जसपा भन्छः उधारो सहमति गर्दैनौँ, सत्ता सहकार्य जोसँग पनि हुनसक्छ

सागर न्यौपाने
फागुन २५, २०७७ मंगलबार १५:१४,

नयाँ सत्ता समीकरणमा निर्णायक हुने ठानिएको जनता समाजवादी पार्टीले सत्ता समीकरणका लागि सबै पक्षसँग वार्ता अघि बढाएको छ।

मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षसँग छलफलमा बसेको जसपाले दिउँसो संसद् सचिवालयमा गएर संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा विरोध दर्ज गराएको छ।

बिहान बालुवाटारमा भएको छलफलमा अध्यक्ष महन्थ ठाकुरले एमालेसँग वार्ता गर्न लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेको टोली बनाएका थिए।

दिउँसो बसेको संसदीय दलको बैठकमा ठाकुरको सो कदमको चर्को विरोध भएको थियो।

९० प्रतिशत सांसदहरुले प्रधानमन्त्री ओलीसँग मिलेर जान नहुने धारणा राखेको सांसद मोहम्मद इस्तियाक राईले बताए।

त्यसपछि बैठकले सत्ता समीकरणसहित जसपाले उठाएको मुद्दा कार्यान्वयनका विषयमा छलफल गर्न पाँच सदस्यीय वार्ता टोली गठन गरेको राईले बताए।

टोलीमा रहने अन्य तीन नेताहरुको टुंगो भने भोलि बस्ने शीर्ष नेतासहितको बैठकले तय गर्ने उनले जानकारी दिए।

प्रधानमन्त्री ओलीले ठाकुरसँगको भेटमा सत्ता साझेदारीको प्रस्ताव राखेका थिए। उनले मन्त्रालयमा सम्मानजनक भागबण्डा गर्न आफू तयार रहेको पनि बताएका थिए। त्यस्तै, उपसभामुख पद दिन पनि तयार भएको ओलीले बताएपछि ठाकुर वार्ता टोली गठन गर्न मञ्जुर भएका थिए।

जसका कारण जसपा विभाजन हुने चर्चा समेत चलेको थियो। मंगलबार दिनभर जसपा विभाजन हुने हल्ला चलेपछि बसेको संसदीय दलको बैठकले भने सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सत्ता समीकरणका लागि आफ्नो पार्टी नफुट्ने दाबी गरे।

आफूहरुले वैकल्पिक शक्ति निर्माणका लागि राजपा र समाजवादी पार्टीबीच एकता गरेको भन्दै सत्ताका विषयमा कुनै हालतमा पार्टी विभाजन नहुने ठोकुवा महतोले गरे।

‘ढुक्क भएर बस्नुस, यो वैकल्पिक शक्ति निर्माणका लागि एकता भएको हो, फुट्नका लागि होइन,’ महतोले भने, ‘फेरि दोहो¥याएर भन्छु वैकल्पिक शक्ति निर्माणका लागि एकता गरेका जसपा फुट्दैन।’

उनले आफ्नो पार्टीले उठाएको माग सम्बोधनका लागि भने सबै पक्षलाई दबाब दिइने बताए।

रेशम चौधरी रिहा भए जसपा ओली सरकारमा जान्छ भन्ने प्रश्नमा महतोले आफूहरुको माग त्यतिमात्र नभएको बताए।

‘हाम्रो माग रेशम चौधरीको रिहाइ मात्र होइन,’ महतोले भने, ‘हाम्रा नेता कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा फिर्ता र संविधान संशोधन गर्नुपर्छ।हाम्रा ती माग सम्बोधन भएन भने तत्काल केही हुँदैन।’

सत्ता समीकरणका लागि सबै पक्षसँग खुला भए पनि उधारो सहमति कसैसँग नगर्ने महतोले बताए।

‘हामी सत्ता समीकरणका लागि खुला छौँ। तीनवटै दलसँग सरकार निर्माणका विषयमा कुरा गर्छौं,’ उनले भने, ‘तर, हामी अब उधारोमा कसैसँग पनि सहकार्य गर्दैनौँ। विगतका अनुभवमा आधारित रहेर अघि बढ्छौँ। पार्टीका तर्फबाट औपचारिक कार्यदल बनाएरै सबै पक्षसँग छलफल गर्छौँ।’

उनले पार्टीको संसदीय दलको नेता चयनका लागि विधान संशोधन गरिने पनि बताए। संसदीय दलको बैठकमा समसायिक विषयको समीक्षा भएको उनले बताए ।

वैशाख ८ गते प्रधानमन्त्री ओलीले दल विभाजनको व्यवस्था खुकुलो पार्नेगरी अध्यादेश ल्याएपछि वैशाख १० गते राजपा र समाजवादी पार्टीले एकता गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .