ad ad

राजनीति


पार्टीको नाम फेर्दै माओवादी केन्द्र, के होला नयाँ नाम?

पार्टीको नाम फेर्दै माओवादी केन्द्र, के होला नयाँ नाम?

सागर न्यौपाने
फागुन २७, २०७७ बिहिबार ११:४६,

नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको छ।

बुधबार बसेको स्थायी समिति बैठकमा पार्टीको नाम फेर्ने विषयमा छलफल भएर सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उधृत गर्दै एक नेताले जनाए। पार्टीको नाम फेर्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी समितिका अधिकांश सदस्यहरु सहमत देखिएका छन्।

‘माओवादी केन्द्र नाम परिवर्तन गर्ने सहमति स्थायी समिति बैठकले गरिसकेको छ तर अर्को के नाम राख्ने भन्ने छलफल भइरहेको छ’, प्रवक्ता श्रेष्ठलाई उधृत गर्दै ती नेताले भने, ‘नेपाली कम्युनिस्ट पार्टी, एकीकृत नेपाल कम्युनिस्ट पार्टी वा अरु केही राख्नेबारे छलफल भइरहेको छ।’

एक जना युवा नेताका अनुसार सुरुमा केही युवा केन्द्रीय सदस्यहरुले यो पहल थालेका थिए।

स्थायी समितिमा सहमति भैसकेकाले चैत १ गते बस्ने केन्द्रीय समितिको बैठकमा औपचारिक रुपमै नाम परिवर्तनको प्रस्ताव लैजाने ती नेताले जानकारी दिए।

अदालतले एमाले र माओवादी केन्द्रलाई विभाजनअघिकै अवस्थामा पुर्‍याएपछि पुरानो नाममा नयाँ मानिसहरुको आकर्षण नहुने ठानेर नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव औपचारिक रुपमा केन्द्रीय समितिमा लैजान लागिएको हो। 

‘हाम्रो पार्टी भनेको जनयुद्ध लडेकाहरुको मात्र हो भन्ने देखियो,’ एक जना केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘नयाँ तप्कालाई समेट्न पनि नाम परिवर्तन गरेर जानुपर्ने कुरा नेतृत्वलाई भनेका छौँ।’

अन्य पार्टीबाट आउनेहरु माओवादी बन्न हिच्किचाउने भएकाले तिनलाई सहज प्रवेश गराउन नाम परिवर्तन गर्न लागिएको हो।

अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध प्रचण्डसँग एउटै समूहमा रहेका माधवकुमार नेपाल समूहले अलग भएर एमालेभित्रै रहेर संघर्ष गर्ने निर्णय गर्यो। यो निर्णय मुख्यतः एमालेमा नरहँदा सांसद पद धरापमा पर्ने कारणले गरिएको भएपनि माओवादी केन्द्रको नाममा पूर्वएमालेका नेता कार्यकर्ताहरू रहन नसक्ने अवस्थाका कारण पनि आएको मानिएको छ।

स्रोतका अनुसार माओवादी केन्द्रले नाम फेर्न लागेको सुनेर माधवकुमार नेपाल समूहका नेताहरूले पनि सकारात्मक प्रतिक्रिया जनाएका छन्। तर, त्यसको अर्थ उनीहरू फेरि प्रचण्डसँग मिलिहाल्छन् भन्ने होइन।

माओवादी केन्द्रले अहिले नाम परिवर्तन गर्ने तयारी गर्नुको कारण गैरमाओवादी वा हिजो माओवादी मन नपराउने जमातलाई सहज बनाउनु पनि रहेको मानिएको छ।

‘अन्य पार्टीमा रहेका, स्वतन्त्र भएर बसेकाहरुलाई माओवादी बन्न नपर्ने गरी आफ्नो पार्टीमा आउने वातावरण तयार गर्न पनि नाम परिवर्तन गरेर जानुपर्ने सुझाव आएको’ स्थायी समिति सदस्य कृष्णबहादुर महराले बताए।

‘अदालतले ब्युँताएको माओवादी केन्द्रको नाम लिएर जनतामा जानुभन्दा नयाँ नाम बनाउन छलफल भएको छ। तर, निष्कर्षमा पुगिएको छैन,’ महराले भने, ‘हामीले तीन वर्षअघि नेकपा बनाउँदा नै माओवादी केन्द्र बिर्सेका छौँ। अदालतले ब्युँतायो भन्दैमा पश्चगमनमा फर्कने कुरा हुँदैन भन्ने साथीहरुको राय छ।’

एमाले, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका दलबाट समेत नेताहरुलाई आउन सहज हुनेगरी नाम परिवर्तन गर्नुपर्ने जोड केही नेताहरूको छ।

‘हिजोको बाटोमा फर्किंदा अग्रगामी शक्ति बन्न सकिँदैन, नयाँ ध्रुवीकरणको लागि बाटो बनाउने र एकै ठाउँमा उभिन अपिल गर्ने हो भने माओवादी जोडिएको नाम नै किन चाहियो?’ अर्का एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने।

उनले सबैलाई समेट्न पार्टीले पहल गर्नुपर्ने बताए।

‘नेकपा बनाएर गल्ती गरिएको छैन भन्ने नेतृत्वलाई विश्वास छ भने अब नेकपा नै बन्नेगरी सबैलाई समेट्नुपर्छ,’ उनले भने।

उनीहरुले नेपालका सबै कम्युनिस्टहरु फेरि एकपटक गोलबन्द हुन पनि नाममा लचिलो हुनुपर्ने बताएका हुन्।

‘केपी शर्मा ओलीले कम्युनिस्ट एकतालाई धुजाधुजा पारे। अदालतको फैसलाले विभाजनमा पुर्‍याउँदा दीपावली गरे,’ उनले भने, ‘ओली गुट एकताको पक्षमा रहेनछ भन्ने देखियो। तर, हामीले ३ वर्षअघि फर्केर त्यही माओवादी केन्द्र नाम लिएर जनतामा जानु उचित हुँदैन।’

‘समाजमा रहेका एकेडेमिक तप्का माओवादी भनेपछि झस्किन्छ, माओवादी नबनी पार्टीमा आउने ढोका खोल्न पनि नाम परिवर्तन गर्नुपर्छ भनेका छौँ,’ ती नेताले भने।

केन्द्रीय सदस्य युवराज चौलागाईंले १ गते बस्ने केन्द्रीय समितिको बैठकमा नाम परिवर्तन प्रस्तावबारे छलफल हुनसक्ने बताए।

‘केन्द्रीय समितिको बैठकमा नामको बारेमा छलफल हुनसक्छ। तर, तत्काल नाम परिवर्तन होलाजस्तो लाग्दैन,’ चौलागाईंले भने।

यसरी बनेको थियो माओवादी केन्द्र
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र अनेकौँ टुटफुटको शृंखलापछि अहिलेको अवस्थामा आइपुगेको हो।

२०५२ सालदेखि सशस्त्र जनयुद्ध गरेको सो पार्टी ०६२/०६३ को जनआन्दोलमार्फत शान्ति प्रक्रियामा आएको हो। २०६५ सालमा एकता केन्द्र मसालसँग पार्टी एकतापछि एमाओवादी बन्यो।

मातृका यादवले पार्टी छाडेर नेकपा माओवादी बनाए। २०६९ सालमा एमाओवादीमा ठूलो विभाजन भयो। मोहन वैद्य, रामबहादुर थापा, विप्लव लगायत नेताले पार्टी विभाजन गरी नेकपा–माओवादी गठन गरे। वैद्यको पार्टीलाई पनि २०७१ मंसिरमा नेत्रविक्रम चन्दले फेरि विभाजन गराए।

२०७२ साल असोज ३ गते संविधान जारी भएपछि १० गते डा. बाबुराम भट्टराईले एमाओवादी छोडेका थिए।

‘पार्टीहरु भनेका साधन हुन्, साध्य होइनन्। संघीय लोकतान्तिक गणतन्त्रामक राज्यव्यवस्था ल्याउनका निम्ति बनाएको पार्टीले एउटा कालखण्डको काम पुरा गर्‍यो,’ त्यसबेला भट्टराईले भनेका थिए, ‘अब नयाँ युगका निम्ति पुरानो पार्टीले पुग्दैन। नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठन, नयाँ नेतृत्व, नयाँ शैलीसहितको पार्टी निर्माण गरेर जानुपर्छ।’

२०७३ मा रामबहादुर थापा, मणि थापा, मातृका यादव पुनः फर्केर आएपछि नेकपा माओवादी केन्द्र बनाइएको हो।

२०७४ असोजमा चुनावी गठबन्धन गरेका एमाले र माओवादी केन्द्रले फागुनमा पार्टी नाम, राजनीतिक कार्यदिशालगायतका विषयमा सातबुँदे सहमति गरेका थिए। त्यसपछि ०७५ जेठ ३ मा पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) बनाए।

एकतापछि ओली र प्रचण्ड दुई जना अध्यक्ष रहने व्यवस्था गरेर तल्लो तहसम्मै ६०/४० को भागबण्डा भएको थियो। ओली र प्रचण्डबीच सरकार र पार्टी नेतृत्वको विषयमा समेत सहमति थियो। सोही आधारमा त्यसबेला आधा कार्यकालका लागि भनेर ओली प्रधानमन्त्री बनेका थिए।

२०७६ मंसिरमा ओली र प्रचण्डबीच अर्को सहमति गरियो। जसअनुसार ओलीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने निर्णय भयो।

२०७७ साल वैशाख ८ गते ओलीले पार्टीमा समेत थाहै नदिई दल विभाजनको व्यवस्था खुकुलो पार्ने अध्यादेश ल्याएपछि दुई पक्षबीचको विवाद चुलियो। प्रचण्डलाई वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले साथ दिए।

अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिने फैसलासँगै एमाले र माओवादी केन्द्र अलग अस्तित्वमा आएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .