ad ad

राजनीति


नयाँ सरकारबारे कांग्रेस र जसपा किन अझै अनिर्णित?

नयाँ सरकारबारे कांग्रेस र जसपा किन अझै अनिर्णित?

सागर न्यौपाने
चैत २, २०७७ सोमबार १५:१६,

सत्ता समीकरणका विषयमा सहमति खोज्न बस्ने भनिएको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक सोमबार पनि बस्न सकेन।

यी तीन दलबीच समझदारी नबन्दा नयाँ सरकार गठनको विषय अन्यौलमा परेको छ। कांग्रेस र जसपाले एकअर्काका कारण आफ्नो पार्टीले निर्णय गर्न नसकेको बताएका छन्।

सोमबार तीन पार्टीबीच छलफल गर्ने भन्दै माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक नै स्थगित गरेको थियो। बैठकमा प्रचण्डले कांग्रेस र जसपासँग छलफल गर्न जाने जानकारी गराएका थिए।

‘हामीले ओलीको प्रतिगामी कदमविरुद्ध संघर्षरत दलहरुसँग छलफल र सहकार्य गर्ने निर्णय गरेका थियौँ,’ केन्द्रीय सदस्य युवराज चौलागाईंले नेपालखबरसँग भने, ‘आजै कांग्रेस र जसपासँग छलफल गर्ने अध्यक्ष प्रचण्डले बैठकमा जानकारी दिनुभयो, अनि बैठक स्थगित भयो।’

तर, सोमबार बेलुकासम्म पनि तीन दलबीच संवाद भएको छैन।

स्रोतहरुका अनुसार तीन दलबीच कुरा मिले अविश्वासको प्रस्ताव पेस गर्ने तयारी थियो। मंगलबार संसद् बैठक बस्दैछ। सो बैठकअघि नै तीन दलले निष्कर्ष निकाल्ने तयारी भएपनि सहमति नजुट्दा रोकिएको स्रोतले जनायो।

सोमबार जसपाका पाँच शीर्ष नेताहरुको बैठक बसेको थियो। सो बैठकले सरकार गठनका विषयमा ‘पर्ख र हेर’को नीति अवलम्बन गर्ने निष्कर्ष निकालेको छ।

जसपाका एक नेताका अनुसार नेपाली कांग्रेस तयार नभई माओवादी केन्द्र र जसपाले मात्र केही कदम चाल्न नसक्ने भएकोले पर्ख र हेरको नीति लिइएको हो।

‘आजको बैठकले नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेसको भूमिका हेर्नुपर्ने ठहर गरेको छ,’ एक नेताले भने।

यसअघि जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकार बनाउन कांग्रेस र माओवादी केन्द्रसँग छलफल गरेको थियो।

‘हाम्रा नेताहरुले दुई पार्टीकै प्रमुख नेताहरुसँग छलफल गर्नुभएको हो,’ ती नेताले भने, ‘आजसम्म कांग्रेसको गतिविधि हेरैकै हो, तर उसले कुनै निर्णय गरेन। कांग्रेसले नै ओली सरकार टिकाउन चाहेको देखियो।’

जसपाका वरिष्ठ नेता अशोक राईले ५ गतेको कार्यकारिणी बैठकअघि कुनै निर्णय नहुने बताए।

‘सर्वाेच्च अदालतको फागुन २३ गतेको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिमा हाम्रो स्टेप के हुने भनेर प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीसँग छलफल गरेका थियौँ,’ राईले नेपालखबरसँग भने, ‘५ गते कार्यकारिणीको बैठकपछि मात्र हामी निर्णय गर्छौँ।’

ओली सरकारको निरन्तरता कि नयाँ सरकार गठन भन्ने विषयमा जसपमा दुई धार रहेको राईले स्वीकार गरे।

‘एकै ठाउँमा बसेर छलफल नभएर हाम्रो पार्टीभित्र सबैको विचार एकीकृत हुन पाएका छैनन्। हाम्रो दिशा एउटै भएपनि जोड र कोण नमिलेको हो। त्यसैकारण व्यक्तिगत रुपमा फरकफरक बुझाइ बाहिर आयो,’ राईले थपे।

जसपाका शीर्ष नेताहरुको बैठक मंगलबार पनि बस्ने राईले जानकारी दिए।

नेपाली कांग्रेसले भने जसपाका कारण कुनै निष्कर्षमा पुग्न नसकेको दाबी गरेको छ।

संसदमा रहेको सिट संख्या हेर्दा कांग्रेस र माओवादी केन्द्र मात्र मिलेर सरकार बनाउन सकिँदैन,’ देउवानिकट एक नेताले भने, ‘जसपाले भने ओलीसँग मिलेर सरकार बनाउन सक्छ। निर्णायक पार्टीमै दुई धार देखिएकाले हामीले निर्णय गरेका छैनौँ।’

केही दिनअघि ओलीविरुद्ध देउवाले आफ्नै नेतृत्वमा अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको चर्चा थियो। तर, यो विषय अहिले सेलाएको छ। के देउवा पछि हटेका हुन्?

उनी निकट नेताहरु यसबारे स्पष्ट जवाफ दिन चाहँदैनन्।

‘कांग्रेस ‘अर्ली इलेक्सन’ को पक्षमा छ,’ ती नेताले भने।

त्यसका लागि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर विश्वासको मत लिन बाध्य पार्ने र विश्वासको मत लिन नसक्ने अवस्था बनाएपछि ओलीले नै अर्ली इलेक्सनको घोषणा गरुन् भन्ने कांग्रेसले चाहेको उनको भनाइ छ।

फागुन २३ गते सर्वाेच्च अदालतले पूर्ववत अवस्थामा फर्काएको एमालेमा विभाजन आउँछ कि आउँदैन भनेर पनि कांग्रेस पर्खिरहेको छ। एमालेमा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच तीव्र मतभेद छ।

नेकपा माओवादी केन्द्रले भने नयाँ सरकार निर्माणका लागि कांग्रेस र जसपालाई तयार पार्न खोजिरहेको छ।

मंगलबार माओवादी केन्द्रको संसदीय दलको बैठक
माओवादी केन्द्रले मंगलबार संसदीय दलको बैठक बोलाएको छ। बिहान १० बजे बैठक राखिएको एक सांसदले जानकारी दिए।

‘भोलि १० बजे दलको बैठक राखिएको छ, त्यो बैठकमा पनि कांग्रेस र जसपासँगको छलफलबारे जानकारी गराउने काम हुन्छ,’ उनले भने।

कांग्रेस र जसपासँग निर्णायक छलफल नभएको भन्दै माओवादी केन्द्रले एमालेमा गएका ७ मन्त्रीसहित २३ जना नेतालाई कारबाहीको निर्णय गरेको छैन।

आइतबार बसेको केन्द्रीय समितिको बैठकले गृहमन्त्री रामबहादुर थापासहित ७ मन्त्रीलाई फिर्ता हुन र अन्य केन्द्रीय सदस्यलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो।

तर, सोमबारको बैठकमा त्यसबारे कुनै निर्णय नगरी बैठक स्थगित गरिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .