ad ad

राजनीति


कांग्रेसकै नेतृत्वमा सरकार बनाउन तीन दलबीच यसरी बन्यो सहमति

कांग्रेसकै नेतृत्वमा सरकार बनाउन तीन दलबीच यसरी बन्यो सहमति

सागर न्यौपाने
चैत ३, २०७७ मंगलबार १४:२३,

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच आधारभूत सहमति जुटेको छ।

फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि दलहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने कसरत चलिरहेको छ। अब चाँडै नै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने नेताहरुले बताएका छन्।

सोमबारसम्म सरकारबारे अनिर्णित अवस्थामा रहेका दलहरु मंगलबार भने निष्कर्षमा पुगेको उनीहरुको भनाइ छ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लामो छलफलपछि तीन दलबीच सहमति जुटेको खुलासा गरे।

‘कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपासहितको सहभागितामा सरकार बन्ने निश्चित भएको छ,’ सप्तरी पुगेका नेता सिटौलाले भने, ‘यसका निम्ति सबै तयारी पुरा भएको छ।’

सिटौलाका अनुसार चैत महिनाभित्रै अर्को सरकार बन्नेछ।

माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले पनि चैत ५ गतेपछि कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपा सम्मिलित सरकार गठनको प्रक्रिया सुरु हुने बताए। 

‘५ गते जसपाको बैठक छ, त्यो बैठकपछि यो सत्ता समीकरणले मूर्त रुप पाउँछ,’ पुनले भने, ‘माओवादी केन्द्र, कांग्रेस र जसपाबीच समीरकण बन्छ।’

पुनले तीन दलबीचको गठबन्धन प्राकृतिक रहेको पनि बताए।

‘प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक हो, यसलाई सच्याउनुपर्छ भनेर आ–आफ्नो ठाउँबाट आन्दोलन गरेका थियौँ। संसद् पुनर्स्थापना भइसकेपछि यो एउटा प्राकृतिक गठबन्धन हो,’ पुनले भने।

यद्यपि, जसपाको एउटा धार भने अझै पनि ढुलमुलमा रहेको सो पार्टीका नेताहरुको भनाइ छ। सो धारले ओली सरकारलाई नै समर्थन गर्न खोजिरहेको उनीहरुको भनाइ छ। यद्यपी ५ गतेको बैठकमा सरकार गठनको विषयमा निर्णय लिइने वरिष्ठ नेता अशोक राईले बताए।

‘अब ५ गते बस्ने कार्यकारिणीको बैठकमा सरकार गठनको मोर्चाबारे निर्णय गर्छौँ,’ उनले भने।

एमाले पार्टी ब्युँतिएपछि नयाँ सरकार गठनका लागि जसपा निर्णायक बनेको छ।

संसदमा कांग्रेसको ६३ (दुई जना निलम्बित), माओवादी केन्द्रको ५३ (जसमध्ये ४ ओली पक्षमा) र जसपाको ३४ (दुई निलम्बित) सांसद छन्।

प्रतिनिधि सभा पुनर्स्थापना भएदेखि नै कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल पक्ष र जसपाबीच नयाँ सरकार गठनको विषयमा छलफल भइरहेको थियो।

फागुन २३ गतेको लागि तय भएको संसद् बैठकअघि नै अविश्वासको प्रस्ताव ल्याउने तयारी पनि थियो। तर, दलहरुबीच एकअर्काप्रतिको आशंका कायम थियो। त्यसैले सरकारको नेतृत्व कसले गर्नेलगायतका विषयमा सहमति जुट्न सकेन।

कांग्रेस आफ्नै नेतृत्वमा भए मात्र सरकार बनाउने नत्र चुनावमा जाने मनस्थितिमा थियो।

फागुन २३ गते सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रलाई छुट्याइदिएपछि घटनाक्रम फेरियो।

सर्वाेच्चको फैसलालगत्तै नेकपामा रहेका प्रचण्ड–नेपाल पक्ष आआफ्ना पार्टीमा फर्किए। ओली विरुद्ध तीन पार्टी जुटे मात्रै बहुमत पुग्ने अवस्था बन्यो।

पुनर्स्थापित संसदको पहिलो बैठकपछि तीन दलका नेताहरुबीच दौडधुप चल्यो। प्रचण्ड–देउवा, प्रचण्ड–जसपा नेता, देउवा–जसपा नेताबीचको छलफल भयो। तीनै दलका नेताहरुबीच अनेकौँ छलफलपछि नयाँ सरकारको विषयमा उनीहरुबीच सहमति जुटेको हो।

कहिले आउँछ अविश्वासको प्रस्ताव?
नेताहरुका अनुसार यी तीन दल प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढाउने तयारीमा छन्।

अविश्वासको प्रस्ताव ल्याउने भनेर सांसदहरुको हस्ताक्षर पनि तयारी अवस्थामा राखिएको कांग्रेसका एक सांसदले बताए।

‘अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर तयार छ,’ केन्द्रीय सदस्य समेत रहेका ती सांसदले नेपालखबरसँग भने।

तर, उनले कति सांसदको हस्ताक्षर छ भन्ने खुलाउन चाहेनन्।

एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेला राखेको छ। सो भेलाबाट आउने निर्णय कुरेर अविश्वासको प्रस्ताव पेस गर्ने तयारी छ।

‘ओलीलाई विदा गर्न ढिला भइसकेको छ, पछि समस्या नआउनेगरी प्रक्रिया अघि बढाउने सहमति भएको छ,’ ती कांग्रेस नेताले भने।

कांग्रेसले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा नदिएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ कि भनेर कुरेको थियो।

तर, नयाँ सरकार बन्ने सुनिश्चित नभएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने अडान लिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .