ad ad

राजनीति


जनकपुरमा नेपालले भने– हिजो मेरियटबाट धरहरा हेर्दै केपी ओली दम्भ देखाइरहेका थिए (भिडियो)

जनकपुरमा नेपालले भने– हिजो मेरियटबाट धरहरा हेर्दै केपी ओली दम्भ देखाइरहेका थिए (भिडियो)

शैलेन्द्र महतो
बैशाख १०, २०७८ शुक्रबार ६:५७,

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नरहेको दाबी गरेका छन्।

जनकपुरमा शुक्रबार बिहान एमाले पार्टी कार्यालयमा भएको पत्रकारसम्मेलनमा नेपालले दुई दिनको ओलीसँगको भेटघाटको क्रममा भएको वार्ताबाट उनी पार्टी एकताको पक्षमा नरहेको स्पष्ट भएको बताएका हुन्।

बुधबारको भेटमा पार्टी विवाद मिल्ने केही सम्भावना देखिए पनि बिहीबारको भेटघाट र कुराकानीले ओलीमा दम्भ यथावत् नै रहेको आफूले पाएको नेता नेपालको भनाइ थियो।

‘अस्तिको भेटघाट पार्टी विवाद मिल्छ कि भनेर अलिकति आशा जागेको थियो। मैले भनेको थिएँ– तपाईंको अध्यक्ष पद पनि हामीले खोस्न खोजेको होइन, प्रधानमन्त्रीबाट हट्नुस् भनेको पनि छैन। हामीलाई पद चाहिएन। बस्नुस् तर पार्टीलाई सिस्टमको आधारमा चलाउनुस्’, मेरियट होटलमा ओलीसँगको भेटबारे नेपालले भने, ‘उहाँले भन्नुभयो– त्यसो भए केही उपाय छ भनेर सोध्नुभयो। मैले भनेँ– म उपाय खोज्छु, तपाईंको सरकारलाई स्थायित्व दिन के गर्नुपर्छ, भूमिका खेल्छु।’

हिजो (बिहीबार) फेरि उनीसँग बस्नुअगाडि पहिले बिहानै पार्टी स्थापना दिवसको अवसरमा ओलीले भाषण गर्दै नेपाललगायतका नेतालाई गाली गरेर तह लगाइदिन्छु भनेको सुनेपछि ओलीसँग कुरो नमिल्ने अनुमान गरेको उनले बताए।

‘तर पनि भेटवार्तामा बसेँ’, उनले भने।

सो क्रममा नेता नेपालले ओलीसँग ‘पहिले चार जना हाम्रा पक्षका नेतालाई कारबाही गर्नुभयो, अहिले फेरि २७ जनालाई पुनः कारबाहीको प्रक्रिया अगाडि बढाउनुभएको छ’ भनेर सोधेको बताए।

‘त्यसपछि मलाई ६ महिना निलम्बनको विषयमा पुनर्विचार गर्न सकिन्छ भनेर भन्नुभयो’, नेपालले भने, ‘मैले भनेँ– तपाईंले मलाई पार्टीबाट निकाल्ने? जो माधव नेपालले आन्दोलन, संगठन दुईवटै आजसम्म सञ्चालन गर्दै आएको छ। कसैले निकालेर निक्लिनेवाला छैन। संगठन छोडेर हिँड्नेवाला छैन। आन्दोलनबाट भाग्नेवाला छैन माधव नेपाल।’

KPOli MadhavNepal Marriott9Chait77
बिहीबार मेरियटबाट धरहरा हेर्दै ओली-नेपाल। 

ओलीका दम्भहरु धरहराभन्दा माथि भर्‍याङ उक्लिएर बसेको नेपालको भनाइ छ।

‘हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो उहाँ। धरहरातिर हेर्दै उहाँले त्यो दम्भ देखाइरहनुभएको थियो। त्यो दम्भको कुनै अर्थ छैन’, वरिष्ठ नेता नेपालले भने।

यो पनिः ओलीले नयाँ प्रस्ताव ल्याउनुभएन, निर्णयबाट पछि हट्न पनि तयार हुनुभएनः नेपाल

आन्दोलन, पार्टी, लोकतन्त्र, संघीयता छाडेर आफू न भाग्ने बताउँदै उनले संविधानको भावनाअनुसार देश र जनतालाई अगाडि बढाउने बाटोमा लाग्ने विचार व्यक्त गरे।

‘केपी ओलीको विचार गलत छ। त्यसैले नाम र चिह्न के हो मूल कुरा होइन, विचार मूल कुरा हो। यसले सही बाटो देखाउँछ। सही विचारले सही निष्कर्षमा पुर्याउँछ, गलत विचारले गलत निष्कर्षमा पुर्याउँछ। हामी सही विचारको पक्षमा उभिएका छौँ। पार्टीमा सही विचार र पद्धति महत्वपूर्ण हुन्छ’, उनले भने।

बिहीबार राति नेता वामदेव गौतमलाई बालुवाटारमा ओलीले कुराकानीको लागि बोलाएको तर त्यहाँ कुरा नमिल्दा खाना समेत नखार्इ गौतम फर्किएको आफूलाई जानकारी दिएको नेता नेपालले खुलासा गरे।

भिडियो:

यो पनिः 
ओलीसँगको मेरियट बैठकपछि नेपालले भने– कुनै प्रगति छैन

ओली–नेपाल भेटवार्ता सकियो, दुवै नेता हर्षित

मेरियटमा ओली र नेपालबीच वार्ता, होटल परिसरमा बढ्यो चहलपहल (फोटोफिचर)

एकअर्काबीच तीव्र संघर्ष भइरहेकै बेला ओली र नेपालबीच नै भेटवार्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .