प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पछिल्लो समयमा भयावह रुप लिँदै गएको कोरोना महामारी नियन्त्रणका लागी आवश्यक तयारी गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन्।
प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशका सबै निकायहरुलाई आ–आफ्नो क्षेत्रको तयारीमा कुनै कमी नराख्न निर्देशन दिएका हुन्।
बैठकले आठवटै जिल्लामा रहेको पीसीआर ल्याबका लागी आवश्यक सामग्री तथा थप जनशक्तिको विवरण तयार गर्ने जिम्मेवारी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुखले गर्ने, जिल्लाहरुमा आवश्यक जनशक्ति तथा सामग्रीहरुको विवरण आन्तरिक मन्त्रालयले जिल्ला कोरोना संकट व्यवस्थापन समितिहरुबाट संकलन गर्ने निर्णय गरेको छ।
प्रादेशिक अस्पताल स्थित नर्सिङ कलेजलाई पुनः कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय पनि गरिएको छ।
त्यसै गरि बैठकले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको छ।
बैठकले महामारी नियन्त्रणका लागि प्रमुख सचिवको नेतृत्वमा सबै मन्त्रालयका सचिव र सुरक्षा निकायहरुका प्रमुख रहने गरि संयोजन समिति र आपूर्ति महाशाखाका प्रमुख डा. प्रमोदकुमार यादवको नेतृत्वमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. विनोद यादव, प्रादेशिक अस्पतालका मेसु डा. प्रमोद यादव र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण मिश्र सदस्य रहने प्राविधिक समितिसमेत गठन गरेको छ।
प्रतिक्रिया