ad ad

राजनीति


सांसदको हस्ताक्षर दुरुपयोग भएको भन्दै ओली पक्षले दियो राष्ट्रपति कार्यालयमा पत्र

सांसदको हस्ताक्षर दुरुपयोग भएको भन्दै ओली पक्षले दियो राष्ट्रपति कार्यालयमा पत्र

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १४:११,

नेकपा एमालेले आफ्ना सांसदको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै राष्ट्रपति कार्यालयमा जानकारी गराएको छ।

केही सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको तर राष्ट्रपति कार्यालयमा हस्ताक्षर पुगेको भन्ने जानकारी आएपछि जानकारी गराइएको एमाले केन्द्रीय सदस्य अग्नि खरेलले बताए।

‘साथीहरुले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्नु भएको छ। आफ्ना सांसदले त्यसो भनिसकेपछि पार्टीले राष्ट्रपति कार्यालयलाई जानकारी दिनु प¥यो नि’, उनले नेपालखबरसँग भने, ‘पार्टीले त्यही भएर राष्ट्रपतिलाई जानकारी गराएको हो।’

एमाले सांसद जयकुमार राईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै विज्ञप्ति नै जारी गरेका छन्। तर साे सूचीमा उनको हस्ताक्षर नै नभएको एक सांसदले बताए।

माधव नेपालनिकट केही सांसदले पनि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका छन्।

नेपाल समूहका २६ सांसदको हस्ताक्षर देउवाको पक्षमा बुझाइएको छ।

देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका १२ र जनमोर्चाका एक सांसद गरी १ सय ४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका छन्।

बिहीबार मात्रै विश्वासको मत नलिने र अर्को सरकारका लागि आह्वान गर्न राष्ट्रपति कार्यालयमा जानकारी गराएका केपी ओलीले पनि आफ्नो पक्षमा १ सय ५३ सांसदको समर्थन रहेको भन्दै पुनः प्रधानमन्त्रीमा दाबी गरेका छन्। ओलीले सांसदको हस्ताक्षर भने बुझाएका छैनन्। उनले पार्टी प्रमुख र संसदीय दलका नेताको साथ रहेकाे दाबी गरेका छन्।

दुवैतर्फबाट आफ्नो दाबी पेस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै पक्षका आधारहरुलाई अध्ययन गर्ने बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .