धनुषामा शुक्रबार पाँच बालबालिकाको डुबेर ज्यान गएको पोखरी माछापालनका लागि खनिएको प्रहरीले जनाएको छ।
प्रहरीले घट्नास्थलको अवलोकन गरेपछि सो जानकारी दिएको हो।
‘बालिकाहरु बाख्रा चराउन गएको बेला पोडी खेल्ने क्रममा डुबेका रहेछन्। प्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ,’ धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले बताए।
धनुषाको मुखियापट्टी मुसहरनिया ६ लक्ष्मपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया ललित साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
दिउँसो साढे १२ बजेको समयमा नुहाउन गएको बेला उनीहरुको डुबेर मृत्यु भएको हो। घटनाका विषयमा थप अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ।
डीएसपी मिश्रका अनुसार सो पोखरी स्थानीय हुलास यादवको हो। बिहान १२ बजेतिर ७ जना बालिका बाख्रा चराउन निस्केका थिए।
खेतमा खन्दै गरेको पोखरीमा जमेको पानीमा उनीहरु नुहाउन पसेका थिए। दुई बालिका भने पसेनन्। पाँचर्जना नुहान पस्दा डुबेपछि दुई बालिका गाउँमा पुगेर स्थानीयलाई जानकारी गराएका थिए।
त्यसपछि स्थानीय पुगेर हेर्दा उनीहरु डुबिसकेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले घटनास्थल पुगेर मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याउने तयारी गरेको डीएसपी मिश्रले बताए।
प्रतिक्रिया