यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम लगभग सकिन लागेको छ।
यो खबर तयार पार्दासम्म प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये १६४ वटाको अन्तिम मत परिणाम आइसकेको छ भने समानुपातिकतर्फ पनि अब बाजुरा र दोलखाको मत मात्र जोड्न बाँकी छ।
यो चुनावमा कतिपय दलले बराबर सिट ल्याएका छन् भने कतिपय दल आपसमा प्रत्यक्षमा अघि भए समानुपातिकमा पछि तथा समानुपातिकमा अघि भए प्रत्यक्षमा पछि पनि भएका छन्।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले बराबर ७ सिट जितेका हुन्।
तर समानुपातिकतर्फ भने यी दल अघिपछि छन्। प्रत्यक्षतर्फ समान सिट ल्याएका यी तीन दलमध्ये समानुपातिकतर्फ सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५ सय ४३ मत ल्याएको छ। दोस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले५ लाख ८६ हजार ६ सय ३८ र यसपछि जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय ४६ समानुपातिक मत पाएका छन्।
यस्तै अर्का ३ दलले पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फ बराबर १ सिटमा विजय हासिल गरेका छन्। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले प्रतिनिधिसभा प्रत्यक्षमा १/१ सिट मात्र जितेका हुन्। यी तीन दलमध्ये समानुपातिकतर्फ सबैभन्दा बढी जनमत पार्टीले
३ लाख ९४ हजार ५ सय २३ मत ल्याएको छ। प्रत्यक्षतर्फ १/१ सिट जित्ने तीन दलमध्ये समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने दल पनि यही मात्र हो। थ्रेसहोल्ड कटाउन नसकेका नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५७ तथा राष्ट्रिय जनमोर्चाले ४६ हजार ३ सय ८२ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकमा छ।
यस्तै प्रतिनिधिसभा प्रत्यक्षतर्फ सबैभन्दा बढी ५७ सिट जितेर पहिलो स्थानमा रहेको कांग्रेस समानुपातिकमा भने एमालेभन्दा पछि दोस्रो स्थानमा छ। प्रत्यक्षतर्फ कांग्रेसभन्दा कम ४४ सिट जितेको एमाले समानुपातिकतर्फ भने कांग्रेसलाई उछिनेर पहिलो बनेको छ।
यो खबर तयार पार्दासम्म समानुपातिकतर्फ एमालेले २७ लाख ८८ हजार ३ सय ५६ र नेपाली कांग्रेसले २६ लाख ६० हजार २ सय ४६ मत ल्याएका छन्।
यस्तै प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एकीकृत समाजवादीले भने समानुपातिकतर्फ अहिलेसम्म थ्रेसहोल्ड पनि कटाउन सकेको छैन। प्रत्यक्षतर्फ ७ सिट मात्र जितेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा १ सिट मात्र जितेको जनमत पार्टीले भने समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता सुरक्षित गरेका छन्।
अब सामनुपातिकतर्फ बाजुरा र दोलखाको मत मात्र मिसाउन बाँकी छ। त्यसपछि गणना पूरा हुने आयोगले जनाएको छ। आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दोलखामा ८० हजारभन्दा केही बढी र बाजुरामा ६५÷७० हजार समानुपातिक मत होलान्। दलहरूमा बाँकी मत बाँडिने अनुपात अहिलेकै कायम रहे अब थप दलले थ्रेसहोल्ड कटाउने सम्भावना कम रहेको उनको भनाइ छ।
यसो हुँदा सबैभन्दा मारमा एकीकृत समाजवादी पर्ने देखिएको छ। किनकि प्रत्यक्षतर्फ आफूभन्दा कम सिट जितेका पार्टी राष्ट्रिय दल बन्दा ऊ भने थ्रेसहोल्ड कटाउने संघर्षमै अल्झिरहेको छ। यो खबर तयार पार्दासम्म एकीकृत समाजवादीले २ लाख ९४ हजार ३ सय ६२ समानुपातिक मत प्राप्त गरेको छ। थ्रेसहोल्ड पार गर्न ३ लाख १७–१८ हजार माथि मत ल्याउनुपर्ने अहिलेसम्मको अनुमान छ।
Shares
प्रतिक्रिया