लामो समय भ्रातृ संगठनमा सक्रिय रहेर मोहभंगपछि निष्क्रिय कृष्ण आचार्य ‘रचित’ले नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको प्रतिनिधि चयनबारे फेसबुकका लेखेका छन्, ‘केन्द्रदेखि वडासम्म उनै व्यक्ति प्रतिनिधि बन्नुपर्ने पार्टी कुन होला? त्यो पार्टीमा वर्षौँदेखि रगत, पसिना बगाएका इमान्दार कार्यकर्ताको हविगत ठूलो रुखमुनि उम्रेको बिरुवाको जस्तो छ! वर्षौँ बगाएको रगत र पसिनाको अवमूल्यन भएको छ। त्यही बूढो रुखको कर्नरतिर उम्रेका बिरुवा बढिसक्दा पनि अझै बुट्टयानमै सीमित छन्! बिरुवा मौलाउने हो भने कि त अब त्यो बूढो रुख ढाल्ने हिम्मत गर्नुपर्छ, होइन भने नयाँ ठाउँमा सर्नुु नै बुद्धिमानी हुनेछ!’
उनको अभिव्यक्तिलाई आक्रोशकै रुपमा अथ्र्याउनेहरुको कमी नहोला तर त्यसमा दम छ। कारण, एमाले गण्डकीको प्रथम अधिवेशनका लागि ११ जिल्लाबाट चुनिएका ९०५ प्रतिनिधिमध्ये अधिकांश पुरानै छन्। समावेशीताको सिद्धान्तअनुसार महिला, जनजाति, दलित, युवालगायतबाट केही नयाँ अनुहार भित्रिएका छन्।
कतिसम्म भने ४ जना त केन्द्रीय सदस्य नै प्रतिनिधि बनेर प्रदेशमा ओर्लिएका छन्। रमाइलो त पोखरा महानगरपालिकाको प्रतिनिधि छनोटमा देखियो। पोखरा महानगरको ८७ जना प्रतिनिधिका लागि २८८ जनाको उम्मेदवारी परेको थियो।
प्रतिस्पर्धी धेरै हुँदा निर्वाचनमै जानेसम्मको स्थिति बन्यो। ९ गते टुंग्याउने भनिए पनि सहमतिको नाममा प्रक्रिया लम्ब्याइयो। सहजीकरणका लागि भन्दै पोखरा महानगर कमिटीका अध्यक्ष दीलिप न्यौपाने, कास्की जिल्ला कमिटी अध्यक्ष मनबहादुर गुरुङ, केन्द्रीय सदस्यद्वय कृष्ण थापा र भीम कार्की सम्मिलित समिति बनाइयो।
एमाले स्रोतका अनुसार सहमतिको नाममा धेरै युवा आकांक्षीको नाममा कैंची चलाइयो। सहमति गराउने समितिमै बसेका केन्द्रीय सदस्य कृष्ण थापा र अर्का केन्द्रीय सदस्य राजीव पहारीसहितका नेताहरु प्रतिनिधिमा अटाए।
त्यसो त अहिले प्रदेश प्रतिनिधिमा अटाएका कास्कीबाट केन्द्रीय प्रतिनिधि बनेकामध्ये अधिकांश एमालेको १० औँ महाधिवेशनको उपक्रममा केन्द्रीय प्रतिनिधि थिए।
एमाले गण्डकीको पहिलो अधिवेशनको असोज १५ गते अध्यक्ष केपी शर्मा ओलीले पोखराको अमरसिंहचोकमा उद्घाटन गर्ने कार्यक्रम छ।
उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र र चुनावी कार्यक्रम सुरु हुने सचिव धनञ्जय दवाडीले बताए। दवाडीसहित हालका अध्यक्ष नवराज शर्मा र सबै पदाधिकारी प्रतिनिधि चुनिएका छन्।
दवाडीसहित वर्तमान अध्यक्ष शर्मा र उपसचिव रश्मी आचार्य अध्यक्षको दौडमा छन्। यद्यपि, गण्डकीका प्रतिनिधि छनोटमै भागबन्डा भएपछि उनीहरुले उम्मेदवारी घोषणा गरेका छैनन्।
एमालेको विधानले प्रदेश अध्यक्षलाई पोलिटब्यूरो सदस्य बराबरको हैसियत दिएको छ। त्यसैले यो पदमा आउन केन्द्रीय सदस्य भइसकेका नेताहरुले पनि चाहना राखेका छन्।
त्यसरी चाहना राख्नेमा कास्कीका कृष्ण थापा र राजीव पहारी, लमजुङका मायानाथ अधिकारी तथा गोरखाका रामशरण बस्नेत छन्।
उनीहरु अध्यक्ष बन्ने मनशायले नै प्रतिनिधि बनेर आएको एमाले स्रोतले जानकारी दिएको छ। उता, हालका गण्डकी प्रदेश सचिवालय सदस्य हीराबहादुर केसीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
बागलुङका ४६ वर्षीय केसीले एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानले दिएको सन्देशअनुसार युवाहरुलाई पार्टीमा ल्याउन, नयाँ पुस्ताले सोध्ने प्रश्नको उत्तर दिन आफ्नो उम्मेदवारी रहने बताएका छन्।
वर्तमान सभापति नवराज शर्मा पनि केन्द्रीय नेतृत्वको आशीर्वाद पाए अध्यक्ष दोहोर्याउने मनस्थितिमा देखिन्छन्।
सर्वसम्मतिको नाममा ‘गुटतन्त्र’
एमाले गण्डकीमा सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच अघोषित गुटबन्दी रहँदै आएको छ।
वर्तमान अध्यक्ष केपी ओली शक्तिमा नहुँदा पनि ओलीकै पक्षमा रहेका यी दुई नेता गण्डकीको हकमा भने ‘विपरीत ध्रुव’मा रहँदै आएका छन्।
यी दुई नेता नमिल्दाको फाइदा वर्तमान उपाध्यक्षहरु विष्णु पौडेल र महासचिव शंकर पोखरेलले उठाउँदै आएका छन्।
पछिल्लो समय सचिव पद्मा अर्यालको प्रभाव पनि बिस्तारै बढेर गएको छ। त्यसमा अहिलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि बेलाबेला हात हाल्छन्।
तर,गण्डकीमा लडाईं खगराज र पृथ्वीसुब्बाबीच नै हुन्छ। गण्डकी प्रदेशको आगामी अध्यक्ष र पदाधिकारी कसलाई बनाउने भन्नेमा पनि यी दुई नेताको चासो रहेकै छ।
अहिले नेतृत्वको चाहना गरेका नेताहरु पनि उनीहरुको मुख ताकेर बसेको एमाले स्रोतले बतायो। त्यसो त, प्रतिनिधि छनोटमै दुई समूहबीच अघोषित प्रतिस्पर्धा भयो।
‘यो पटक पालिका तहमा धेरै युवा र अवसर नपाएका नेताहरुले प्रतिनिधि बन्ने चाहना राख्नुभएको थियो तर ती सवैलाई निषेध गरियो’, एमाले गण्डकीका एक सचिवालय सदस्यले भने,‘ सहमतिको नाममा आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउँदै, प्रतिस्पर्धीको बाटो छेक्दै प्रतिनिधि भागबण्डा गरियो।’
उनले त्यसको पुष्टि गर्ने आधार पोखरा महानगर नै भएको पनि दोहोर्याए।
स्रोतका अनुसार नेता खगराज अधिकारी आफ्ना प्रिय पात्र कृष्ण थापालाई गण्डकी अध्यक्ष बनाउन चाहन्छन्। थापा स्वयम्ले शीर्ष नेताको साथ पाए पृथ्वीसुब्बाको प्रस्ताव, खगराज र पद्माको समर्थनमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
गोरखाका रामशरण बस्नेत पनि हाल खगराजकै समूहमा छन्। खगराज चाहिँ सर्वसम्मत हुँदा थापा र नहुँदा मायानाथ अधिकारीको पक्षमा जाने स्रोतले दाबी गर्यो।
मायानाथ भने खगराज र पृथ्वीसुब्बा दुवैको उम्मेदवार बन्ने र निर्विरोध हुने दाउमा छन्। यता, पृथ्वीसुब्बाले भन्नासाथ अध्यक्षमा उम्मेदवारी दिन वर्तमान सचिव धनञ्जय तम्तयार छन्।
धनञ्जयनिकट एक नेताले त्यसको छनक दिँदै भने,‘ उहाँ (धनञ्जयलाई कसैले पत्याए पनि नपत्याए पनि पृथ्वीसुब्बाकै मान्छे हो भन्ने ट्याग लागेको छ।
त्यस्तोमा गृहजिल्लाका नेताको आदेश बिना उहाँ मैदानमा उत्रने कुरा भएन। उहाँले गण्डकीको सचिव रहेर आफूलाई प्रमाणित गरिसकेको नेता, अहिले उहाँसँग संगठनबाहेक राजकीय काम पनि छैन ,त्यसैले योग्य पात्र उहाँ नै हो तर कुरा ग्रिन सिग्नलकै छ।’
यता,पृथ्वीसुब्बाले भने मुख खोलेका छैनन्। ‘यो चुनावमा उहाँ बोल्ने मुडमा हुनुहुन्न, मिलाएर जाऊँ भन्ने कुरा हो, निहुँ खोजे भने (खगराज समूहले) हराइदिने भन्ने छ,’ उनीनिकट एक नेताले भने।
त्यसो त, नेतृत्वको चाहना राख्ने वर्तमान उपसचिव रश्मि र राजीव पहारी पनि अहिले पृथ्वीसुब्बा निकट नै मानिन्छन्।
प्रदेश कमिटीको गुटगत उम्मेदवारी दिन नपाइने घोषणाका कारण यो अधिवेशनका प्यानल बन्ने सम्भावना कम भएको उपसचिव रश्मी आचार्यको भनाइ छ।
अध्यक्ष ओलीले खुला छाड्नासाथ उनी स्वयम् मैदानमा उत्रन तम्तयार छन्।
अखिलको अध्यक्ष रहीसकेका बौद्धिक व्यक्तित्व रश्मी युवाहरुकै मतको आधारमा चुनाव जित्ने आँकलनमा रहेको उनी निकट एक युवा नेताले बताए।
‘अध्यक्षको आर्शीवाद लिएर कोही आयो भने वा अध्यक्षले नै चुनाव नगराउने भन्नुभयो भने छुट्टै कुरा नभए अब उहाँसँग कुरेर बस्ने समय छैन। उहाँ सवै कोणबाट नेतृत्वको लागि योग्य हुनुहुन्छ,’ उनले भने।
प्रदेश कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित दुईजना उपसचिव पदाधिकारी हुनेछन्। सदस्यहरुको हकमा तोकेबजमोजिम हुने भनिएको छ भ भने प्रदेश कमिटीले आफ्ना सदस्य संख्याको ५० प्रतिशतमा नबढ्ने गरी प्रदेश सल्लाहकार परिषद् गठन गर्ने व्यवस्था रहेको छ।
एमालेका एक नेताका अनुसार प्रदेशको यो अधिवेशनमा अनौठो माहौल देखिएको छ। प्रतिनिधिहरुको चाहना निर्वाचनबाटै नेतृत्व चयन होस् भन्ने छ।
उनीहरु भाग खोज्दै प्रदेशमा आउने केन्द्रीय सदस्यको पक्षमा देखिँदैनन्।
‘अधिकांश प्रतिनिधिको चाहना सहमतिको नाममा प्रतिस्पिर्धालाई निषेध नगरियोस् भन्ने छ, प्रतिस्पर्धा हुने हो भने युवाले नै बाजी मार्छन्,’ती नेताले भने,‘सहमतिको माला जपियो भने चाहिँ युवाहरु बिच्किन्छन्। २०८४ को चुनाव पनि हात्ती आयो, हात्ती आयो फुस्सा हुन्छ, हाम्रा मान्छे अवसर खोज्दै अन्यत्र लाग्छन्।’
Shares
प्रतिक्रिया