ad ad

राजनीति


राष्ट्रियसभा चुनावकी उम्मेदवार मनरूपा भन्छिन्ः पार्टीले मलाई न्याय गरेको अनुभूति भएको छ

राष्ट्रियसभा चुनावकी उम्मेदवार मनरूपा भन्छिन्ः पार्टीले मलाई न्याय गरेको अनुभूति भएको छ

रासस
पुस २३, २०८० सोमबार ११:८, गण्डकी

विसं २०६४ को संविधानसभा चुनावमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित पर्वतकी मनरुपा शर्मा त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परे पनि ‘सांसद’ बन्ने अवसर मिलेन।

नेकपा माओवादी केन्द्रले विसं २०७० को दोस्रो संविधानसभा चुनाव, विसं २०७४ र विसं २०७९ को प्रदेशसभा चुनावमा उनलाई समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो। कुश्मा नगरपालिका–१० की शर्माको जनप्रतिनिधिका रुपमा संसद् छिर्ने सपना १६ वर्ष बित्दासमेत पूरा हुन सकेन। 

गत वर्षको चुनावमा शर्मा समानुपातिकबाट गण्डकी प्रदेशसभा सदस्य बन्ने चर्चा चले पनि पार्टीले अर्को जिल्लाबाट महिला उम्मेदवारलाई छनोट गरेको थियो। पटकपटकको प्रयासका बाबजुद संसदीय यात्रा तय गर्न नसके पनि उनी निराश भने भइनन्। पार्टीले दिएको जिम्मेवारीमा सधैँ सक्रिय रहिन्। 

विसं २०६० देखि पार्टी र सङ्गठनका विभिन्न जिम्मेवारी सम्हाल्दै हाल माओवादी केन्द्र पर्वतको जिल्ला संयोजक रहेकी शर्मा यसपटक भने पार्टीले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ। सहिद परिवारकी उनी आसन्न राष्ट्रियसभा सदस्य चुनावमा गण्डकी प्रदेशबाट माओवादी केन्द्रको उम्मेदवार बनेकी हुन्। 

“पार्टीले मलाई वास्तवमै न्याय गरेको अनुभूति भएको छ, आज म धेरै नै खुसी छ, म उम्मेदवार छनोट भएपछि जिल्ला तहका नेता, कार्यकर्ता पनि उत्साहित हुनुहुन्छ”, उनले भनिन्, “निर्वाचित भएर राष्ट्रियसभामा गए भने देश र जनताको हितमा काम गर्छु।”

कुनै राजकीय पदमा निर्वाचित नहुँदा पनि सधैँ जनताको बीचमा बसेर सामाजिक सेवा र राजनीतिमा खटिएको उनले बताइन्। उनले एक त महिला अर्कातिर सहिद परिवारको सदस्यका हिसाबले राष्ट्रियसभामा उम्मेदवार बन्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताइन्।

अहिलेको सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाले चुनावको परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त छु”, उनले भनिन्, “हिजो जनयुद्धका कठिन र सङ्घर्षपूर्ण दिनमा जसरी समाज रुपान्तरणको अभियानमा लागियो, अब त्यस्तै ऊर्जाका साथ नयाँ भूमिकामा आफूलाई उभ्याउने प्रण गरेकी छु।”

शर्माका पती विजय सुवेदी ‘विकास’को तत्कालीन जनयुद्धका क्रममा २०६१ मङ्सिर १७ गते हत्या भएको थियो। सुवेदी तत्कालीन  माओवादीको सांस्कृतिक फाँटमा क्रियाशील थिए। 

४३ वर्षीया शर्मा यसअघि अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला तहको नेतृत्वमा आएकी हुन्। उनी २०७४ अघि माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक कमिटिको सदस्यसमेत थिइन्। 

गण्डकी प्रदेशबाट निर्वाचित हुने तीन राष्ट्रियसभा सदस्यमध्ये सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार माओवादी केन्द्रले महिला ‘क्लस्टर’बाट शर्मालाई उम्मेदवार बनाएको सो पार्टीका गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले जानकारी दिए। 

राजनीतिक सङ्घर्ष र सङ्गठन निर्माणमा पुर्‍याएको योगदान हेरेर शर्मालाई उम्मेदवार बनाइएको उनले बताए। सत्ता गठबन्धनमा आबद्ध दलको मतभार हेर्दा शर्माको जित सुनिश्चितजस्तै रहेको इन्चार्ज पौडेलको भनाइ छ। 

राष्ट्रियसभामा गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिने भएपछि सो पदमा चुनाव हुन लागेको हो। तीसमध्ये महिलातर्फ सत्ता गठबन्धनबाट माओवादी केन्द्रले शर्मालाई उम्मेदवार बनाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .