ad ad

राजनीति


माओवादीको आधार इलाका रोल्पामा कांग्रेस जोगाएका कृष्णबहादुरलाई प्रदेश प्रमुख उपहार

माओवादीको आधार इलाका रोल्पामा कांग्रेस जोगाएका कृष्णबहादुरलाई प्रदेश प्रमुख उपहार

दिनेश बुढा
साउन १७, २०८१ बिहिबार ८:४, सुर्खेत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृष्णबहादुर घर्तीमगरलाई लुम्बिनी प्रदेश प्रमुख पद उपहार दिएका छन्। नेकपा माओवादी केन्द्रको आधार इलाका मानिने रोल्पामा कांग्रेसलाई जोगाइराख्न सशस्त्र युद्धको समयमा पनि संगठन विस्तार गरेका कृष्णबहादुर प्रदेश प्रमुखमा नियुक्त भएका हुन्। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखमा नियुक्तका लागि उनिसँगै तीन जनाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले लुम्बिनी प्रदेशमा रोल्पाका कृष्णबहादुर घर्तीमगरलाई प्रदेश प्रमुख नियुक्त गरेका छन्। 

२०१६ माघ १० गते रोल्पाको घर्तीगाउँमा जन्मिएका ६५ वर्षीय कृष्णबहादुर घर्तीमगर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन्। देउवालाई विद्यार्थी राजनीतिकदेखि नै कृष्णबहादुरले निरन्तर साथ दिँदै आएका छन्। 

उनले २०३६ सालको विद्यार्थी आन्दोलनमा नेविसंघबाट राजनीति सुरु गरेका थिए। कृष्णबहादुरका बुवा अमृतबहादुर पञ्चायतको सभापति थिए। तर, कृष्णबहादुरले एक प्रकारको विद्रोह घरबाटै सुरू गरेको नेताहरु बताउँछन्। सोही विद्रोही स्वभावका कारण कृष्णबहादुर पञ्चायतकालमा २०३६ सालमा २६ दिन र २०३८ सालमा २० दिन गरि दुई पटक जेल परेका थिए।

यस्तै, कृष्णबहादुर २०४७ मा पार्टीको जिल्ला कार्यसमिति सदस्य हुँदै २०४९ मा सचिव, २०४९ मा साविक घर्तीगाउँ विकास समितिको अध्यक्ष भएका थिए। तर, जिविस सभापतिमा तत्कालीन संयुक्त जनमोर्चाका झक्कुप्रसाद सुवेदीसँग हारेका थिए। 

उनले २०५० सालदेखि रोल्पाको लिवाङमा तुलसी इङ्लिस बोर्डिङ स्कुल चलाउँदै आएका छन्। 

यस्तै, तत्कालीन नेकपा (माओवादी)को सशस्त्र ‘जनयुद्ध’ उत्कर्षमा पुग्दै गर्दा २०५६÷०५७ सालतिर कृष्णबहादुरलाई तत्कालीन विद्रोही पक्षले अपहरण पनि गरेको थियो। उनलाई माओवादीले एक साता नियन्त्रणमा राखेका थिए।

उनले २०५९ सालमा पार्टी विभाजन भएपछि प्रजातान्त्रिक कांग्रेसको नेतृत्व गरेका थिए। हालका कांग्रेस सभापति देउवाले कांग्रेस विभाजन गरेर प्रजातान्त्रिक कांग्रेस बनाउदा कृष्णबहादुर रोल्पा जिल्ला सभापति बनेका थिए। त्यसपछि पार्टी एकता हुँदा पनि उनी जिल्ला सभापति नै रहे। 

२०५९ मा आमन्त्रित केन्द्रीय सदस्य र पछि केन्द्रीय सल्लाहकार बनेका थिए। त्यसपछि उनि देउवाका विश्वास पात्रका रुपमा पर्दै गए। उनी २०४८ देखि ०७२ सालसम्म पार्टीको महासमिति सदस्यको जिम्मेवारीमा रहे। 

भारतको गोरखपुरबाट बीएसम्मको पढाइ उत्तीर्ण गरेका कृष्णबहादुर घर्ती लगातार १३ वर्षसम्म जिल्ला सभापति बनेका थिए।

कृष्णबहादुरलाई पार्टीले २०७९को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकको बन्दसूचीमा राखेको थियो। कृष्णबहादुरका बुवा अमृतबहादुर घर्ती पनि नेपाली का्रग्रेसमा नै आवद्ध थिए। 

नेपाली कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनका नातेदार समेत रहेका घर्तीले पार्टीको १२औं महाधिवेशनमा उनै पुनलाई हराउँदै जिल्ला सभापतिमा निर्वाचित समेत भएका थिए। 

यस्तै, नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले कृष्णबहादुरलाई लुम्बिनी प्रदेशको प्रदेश प्रमुख बनाएको प्रति खुशी व्यक्त गरे। उनले भने, ‘रोल्पा नेकपा माओवादी केन्द्रको आधार इलाका मान्निछ। र यहाँका नेपाली कांग्रेसका नेताहरु राजकीय पदमा पुग्न पनि कठिन छ। त्यसैले कांग्रेसमा लामो समयदेखि क्रियाशील नेता घर्ती प्रदेशको प्रमुख भएकामा कांग्रेस मात्र नभई सिंगो रोल्पाली र प्रदेशका मगर समुदायमा खुशीयाली छाएको छ।’

आचार्यले लुम्बिनी प्रदेश मगर समुदायको बाहुल्यता भएको र त्यसैमा मगर समुदायबाट कृष्णबहादुर प्रदेश प्रमुखको नियुक्तीले रोल्पाली जनातालाई न्याय गरेको अनुभूति भएको बताए। 

यस्तै, कृष्णबहादुरको टाउकोमा छत्रे टोपी र पिठ्युँमा सधैँ झोला बोक्ने स्वभाव छ। साथै उनी गीत, कविता, संगीत र नृत्यमा पनि उतिकै रुची राख्दछन्। 

यस्तै, नवनियुक्त प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले शपथ लिनका लागि काठमाडौँ जादै गरेको बताए। उनले भने, ‘पार्टीले धेरै समयपछि मलाई न्याया गरेको छ। शपथ ग्रहण नलिई, पदभार ग्रहण नगरी सबै कुरा भन्न पनि मिलेन्। म रोल्पाबाट काठमाडौँ जादै छु। बाटोमा छु। आजै शपथ ग्रहण हुन्छ होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .