सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सुनसरीको इटहरी उपमहानगरपालिकामा ‘पूर्वेली संगठन सुदृढीकरण अभियान ०८१’ सुरु गरेको छ।
माओवादी केन्द्र प्रदेश नम्बर १ कमिटीको निर्देशनअनुसार शनिबारबाट अभियान सुरु गरिएको हो।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज निर्मल बरालले शनिबार इटहरीको पशुपति चोकस्थित नगर पार्टी कार्यालयबाट अभियानको उद्घाटन गरेका छन्।
अभियान आगामी असार १५ सम्म सञ्चालन हुने नगर कमिटीले जनाएको छ। अभियान इटहरी उपमहानगरपालिकाका २० वटै वडामा सञ्चालन हुने छ।
अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी इन्चार्ज बरालले अभियान सफल बनाउन पार्टीका नेता कार्यकर्ता र आम नागरिकलाई आह्वान गरे।
उनले नेपालको पश्चिमी क्षेत्रले जनयुद्धको नेतृत्व गरेको चर्चा गर्दै अब देशको पूर्वी क्षेत्रले समाजवादी क्रान्तिको नेतृत्व गर्नुपर्ने बताए। ‘नेपालको पूर्व भनेको पूँजीवादको केन्द्र पनि हो। यहाँ समाजवादको आधारविन्दु पनि छ,’ उनले भने।
कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य एवम् मजदुर फाँटका इन्चार्ज डम्बर सुवेदी (हिमाल)ले यस भन्दा अगाडि संचालन गरिएको ४ महिने अभियानले सफलता हासिल गरेकोले त्यसलाई निरन्तरता दिन यो अभियान संचालन गरिएको बताए।
उनले यही वैशाख १९ गते मनाउन लागिएको अन्तर्राष्ट्रिय मजदुर दिवसलाई पनि पार्टीको अभियानसँग जोडेर अघि बढ्ने जानकारी दिए।
कार्यक्रममा इटहरी उपमहानगर कमिटीका अध्यक्ष बहादुरसिंह तामाङ (ज्वाला)ले माथिल्लो कमिटिबाट आएका सर्कूलर पढेर सुनाएका थिए।
Shares
प्रतिक्रिया