नागरिक उन्मुक्ति पार्टीको नेतृत्वबाट रञ्जिता श्रेष्ठलाई हटाइएपछि उनी असन्तुष्ट भएकी छन्। अर्को कार्यकाल पनि अध्यक्ष बन्न चाहेकी श्रेष्ठलाई रोकेर उनकै श्रीमान् रेशमलाल चौधरी अध्यक्ष बनेपछि श्रेष्ठ असन्तुष्ट बनेकी हुन्।
भूमि, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेकी रञ्जिताले शुक्रबार बिहानदेखि पार्टीको महाधिवेशनस्थल छाडेकी छन्। उनी अहिले राजधानी काठमाडौँमा छिन्।
शुक्रबार उम्मेदवारी दर्तासहितको निर्वाचन कार्यतालिका थियो। अध्यक्षमा रेशमलाल चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष चुनिएका छन्।
‘बन्दसत्र सुरु भएदेखि मनोनय दर्ता सुरु हुनभन्दा अघि शुक्रबार बिहानसम्म उहाँ (रञ्जिता श्रेष्ठ) यहीँ हुनुहुन्थ्यो। त्यसपछि एक्कासि महाधिवेशनस्थल छाडेर हिँड्नुभयो,’ नागरिक उन्मुक्तिका एक नेताले नेपालखबरसँग भने, ‘त्यसपछि महाधिवेशनस्थलमा देखिनुभएको छैन।’
महाधिवेशनले संस्थापक अध्यक्ष श्रेष्ठको जिम्मेवारीका विषयमा कुनै निर्णय नगरेर उपेक्षामा पारिएकाले उनी असन्तुष्ट बनेको हुनसक्ने नाउपा नेताहरुको विश्लेषण छ। ३३ सदस्यीय पदाधिकारीमा श्रेष्ठलाई कहीँ कतै स्थान दिइएको छैन।
संस्थापक अध्यक्ष श्रेष्ठको सम्मान स्वरुप केही पद सिर्जना गरेर पार्टीमा समेट्नुपर्ने नागरिक उन्मुक्तिका नेताहरुको माग छ। तर उनको व्यवस्थापनका विषयमा अहिलेसम्म कुनै ठोस छलफल नै भएको छैन।
‘सहअध्यक्ष राख्ने कुरा आएको थियो। फेरि अध्यक्ष भइसकेको व्यक्ति सहअध्यक्ष बस्नुहुन्छ वा हुँदैन यकिन छैन,’ नाउपाका अर्का नेताले भने, ‘नयाँ कार्यसमिति बैठकले उहाँ (रञ्जिता) को व्यवस्था गर्छ।’
त्यसो त रञ्जिताको असन्तुष्टि अहिले सुरु भएको होइन। रेशम जेलमुक्त भएर खुला राजनीतिमा आएपछि महाधिवेशनकै मुखमा पार्टीको कार्यकारी अधिकार रेशमले लिएका थिए।
असोज दोस्रो साता टीकापुरमा नाउपाको केन्द्रीय कार्यसमितिको बैठक उद्घाटनपछि अध्यक्ष श्रेष्ठ काठमाडौँ गइन्। त्यही बैठकले रञ्जिताका श्रीमान् रेशमलाई पार्टीको कार्यकारी अधिकार दिने निर्णय गरेको थियो।
विधान संशोधन गरेरै भए पनि अर्को कार्यकाल अध्यक्ष बन्न चाहेकी रञ्जिताको असन्तुष्टि महाधिवेशनमा झनै छताछुल्ल भएको हो।
टीकापुर घटनामा तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी गत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले बाँकी कैद माफी दिएपछि रिहा भएका थिए।
जेलमै रहँदा चौधरी संरक्षक रहेर श्रीमती रञ्जिताको नेतृत्वमा दुई वर्षअघि २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी दर्ता भएको थियो।
श्रेष्ठ नेतृत्वको नाउपा छोटो समयमै चुनाव जितेर राजनीतिक शक्तिका रुपमा उदायो। रेशमलाई जेलमुक्त गराउने मोलमालाइ गर्दै नाउपा सत्तामा पुगेको हो।
पहिलोपटक चुनावमा सहभागी भएको नाउपाका ४ जना संघीय र १२ जना प्रदेश सांसद छन्। रेशमलाल चौधरीले पाएको कैद माफीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।
पहिलो कार्यकाल आफू नेतृत्वको नाउपाले चुनावमा राम्रो नतिजा ल्याएकाले अर्को कार्यकाल पनि अध्यक्ष बन्ने इच्छा व्यक्त गरेकी रञ्जिताको आकांक्षामा रेशम तगारो बनेका छन्।
नेताहरुका अनुसार रेशमले महाधिवेशनअघि पत्नी रञ्जितालाई नै दोस्रो कार्यकाल पनि अध्यक्ष बनाउने बताउने गरेका थिए। अन्ततः रेशम आफैँ नाउपाको सर्वसम्मत अध्यक्ष बने।
नागरिक उन्मुक्ति स्रोतका अनुसार टीकापुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा २१ जना पार्टी संस्थापकमध्ये ५ जनाले मात्रै उम्मेदवारी दिए। १६ जना संस्थापक बाहिर छन्।
वरिष्ठ उपाध्यक्ष बनेका दामोदर पण्डित, महासचिव गंगाराम चौधरी, सहमहासचिव रामलाल डगौरा, सुनिता चौधरी र सावित्री चौधरीले उम्मेदवारी दिए।
निवर्तमान अध्यक्ष रञ्जिताको व्यवस्थापन नयाँ कार्यसमितिको बैठकले गर्ने नेताहरुको भनाइ छ। नाउपाका अधिकतर पदाधिकारी सर्वसम्मतमा टुंगो लागेको छ। टीकापुरमा अहिले नयाँ कार्यसमितिको बैठक बस्ने तयारी भइरहेको छ।
तर नाउपाकी निवर्तमान अध्यक्ष श्रेष्ठ श्रीमान् रेशमलाललाई नै अध्यक्ष बनाउने गरी आफूले उम्मेदवारी नदिएको बताउँछिन्। उनले यस विषयमा आफू असन्तुष्ट नरहेको जिकिर गरिन्।
‘त्यस्तो केही असन्तुष्टि भएको भए म पनि उम्मेदवारी दिन्थेँ। उहाँ (रेशम) लाई नै अध्यक्ष बनाउनुपर्छ भनेर लागेँ,’ उनले नेपालखबरसँग भनिन्, ‘पार्टी अध्यक्ष भएर यहाँसम्म पुगियो। यो मेरो पार्टी हो, हाम्रो पार्टी हो। पद भन्ने कुरा केही होइन। पार्टी मजबुत बनाउन लाग्नुपर्छ।’
- नागरिक उन्मुक्ति महाधिवेशन: मध्यराति विधान संशोधन गरेर २ महासचिव चयन
- नागरिक उन्मुक्तिमा अध्यक्षसहित अधिकांश पदाधिकारी निर्विरोध
Shares
प्रतिक्रिया