प्रदेश सभा सदस्य चयनका लागि बझाङ प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा १ मा मतदान भइरहेको छ।
अहिलेसम्म सबै मतदान स्थलमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
‘अहिलेसम्म कतै केही विवाद भएको छैन । शान्तिपूर्ण तवरले मतदान चलिरहेको छ,’ मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछाने भने।
बझाङमा मतदान चलिरहँदा कतिपय ठाउँमा पानी पर्ने मौसम भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो बिहान १ः३० बजेसम्म ३४ प्रतिशत मतदान सम्पन्न भएको छ।
यस क्षेत्रमा ७४ वटा मतदानस्थल र ९३ मतदान केन्द्र छन् भने ६१ हजार ७४८ मतदाता छन्।
बिहान ७ बजे सुरु मतदान अपराह्न ५ बजेसम्म जारी रहने जनाइएको छ।
नेपाली कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि रिक्त यस क्षेत्रमा उपनिर्वाचन भइरहेको हो।
नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंह र नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा मैदानमा छन्।
यस्तै राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर, जनता समाजवादी पार्टी (जसपा) का रामबहादुर जाग्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट किशोरकुमार खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्का र जनमत पार्टीका सुशीला देवी विष्ट उम्मेदवार छन्।
Shares
प्रतिक्रिया