बझाङ उपनिर्वाचनको मतगणना आइतबार दिउँसो १ बजे सुरु हुने भएको छ।
सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मत गणना सुरु गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिए।
जिल्ला अदालतको भवनमा मतगणना स्थलमा राखिएको छ। गणनाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
तारजाली निर्माण गर्नेदेखि सीसीटीभी जडानलगायत सम्पूर्ण तयारी पूरा भएको हो। मत गणना सुरु भएपछि चरण चरणमा परिणाम माइकिङ गर्ने प्रबन्ध मिलाइएको छ।
शनिबार मतदान सम्पन्न भएपछि अधिकाँश मतपेटिका मतगणनास्थलमा ढुवानी गरिएको थियो। विकट साइपालको साइपाल क्षेत्रको काडा, धुली र यारङकुरीको मतपेटिका आइतबार बिहान हेलिकप्टरमार्फत ल्याइएको थियो।
प्रदेश सभा सदस्य चयनका लागि बझाङ प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा (क) को उपनिर्वाचन अन्तर्गत ४९ प्रतिशत मत खसेको थियो। यस क्षेत्रमा ७४ वटा मतदानस्थल र ९३ मतदान केन्द्र छन् भने ६१ हजार ७४८ मतदाता छन्।
नेपाली कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि रिक्त यस क्षेत्रमा उपनिर्वाचन भएको हो।
नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंह र नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा मैदानमा छन्।
यस्तै राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर, जनता समाजवादी पार्टी (जसपा) का रामबहादुर जाग्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट किशोरकुमार खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्का र जनमत पार्टीका सुशीला देवी विष्ट उम्मेदवार छन्।
Shares
प्रतिक्रिया