अमेरिकाले लामो समयदेखि उडनतस्तरी ‘यूएफओ’को बारेमा अध्ययन गरिरहेको छ।
अमेरिकी नौसेनाका पाइलटले धेरैपटक उड्ने अज्ञात वस्तु देखेको जानकारी गराएसँगै अमेरिकी रक्षा मन्त्रालयले यसबारे अनुसन्धान गरिरहेको छ।
तर यसैवर्ष पेन्टागनले उडनतस्तरी के हो भनेर भन्नसक्ने अवस्था नभएको बताएको छ। तर अमेरिका त्यस्ता अज्ञात उड्ने वस्तु के हो भनेर अनुसन्धन गर्न दृढ छ।
यसबीचमा अमेरिकाले अन्तरिक्षका टाढाका वस्तुहरूको निगरानी गर्न बेलायतमा एउटा विशाल रडार प्रणाली राख्न चाहेको छ।
बीबीसीका अनुसार अमेरिकाको अन्तरिक्षसम्बन्धी बलले विकास गरिरहेको एउटा विश्वव्यापी प्रणालीले ३६,००० किलोमिटर परसम्मका सम्भावित निशानालाई पहिचान गर्ने बताइएको छ।
अन्तरिक्षको त्यस्तो भित्री भागमा धेरै सैन्य भूउपग्रहहरू राखिएका छन्।त्यस्तो प्रणाली टेक्सस र अस्ट्रेलिया पनि राख्ने योजना बनाएको छ।
अमेरिकी रक्षा मन्त्रालयले नयाँ रडारको क्षमताले अन्तरिक्षलाई अझ बढी सुरक्षित गराउने जनाएको छ।
अमेरिका र यूके दुवैले रुस र चीनलाई भूउपग्रहलाई हानि पुर्याउन सक्ने हतियार विकास गरिरहेको आरोप लगाएका छन्।
गतवर्ष मात्र १,००० भन्दा धेरै नयाँ भूउपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण गरिएका थिए। तीमध्ये १० भूउपग्रह अमेरिकी सेनाका थिए।
डीएआरसी भनिने अन्तरिक्षको निकै टाढासम्म निगरानी गर्ने परिष्कृत रडार क्षमताको विकास यूएस स्पेस एण्ड मिसाइल सिस्टम्स सेन्टरमा भइरहेको छ।
अमेरिकी अन्तरिक्ष बलका लेफ्टिनेन्ट कर्णेल ज्याक वाल्करले अमेरिकाले त्यस्ता रडारहरू स्कटल्याण्ड वा थप दक्षिणतर्फ राख्नेबारे यूकेसँग छलफल गरिरहेको बताएका छन्।
उनले त्यस्तो रडार प्रणालीका लागि एक वर्गकिलोमिटरको क्षेत्रफल चाहिने बताए।
कर्णेल वाल्करले त्यस्तो प्रणालीको उद्देश्य उच्च मूल्यका सम्पत्तिमा पर्न सक्ने सम्भावित जोखिमको पहिचान गर्दै निशाना साँध्ने रहेको बताएका छन्।
उनले भने,‘त्यो भनेको चिनियाँ पनि हुन सक्छन्, रुसी पनि हुन सक्छन् वा त्यो भूउपग्रहविरोधी वा अन्तरिक्षको भग्नावशेष पनि हुनसक्छ।’
अमेरिकाको क्षेप्यास्त्र पहिचान गर्न अन्तरिक्षमा एउटा पूर्वसूचना प्रणाली छ। तर उक्त रडार प्रणालीले २०,००० किलोमिटर टाढाको वस्तु मात्र पहिचान गर्न सक्छ।
Shares
प्रतिक्रिया