ट्वीटरका नयाँ मालिक इलोन मस्कले कम्पनीको आम्दानी घट्नुमा अधिकारवादी समूह जिम्मेवार रहेको बताएका छन्।
पछिल्लो समय ट्वीटरको खर्च घटाउन विभिन्न योजना चालिरहेका मस्कले यस्तो बताएका हुन्। उनले अधिकारवादी समूहहरुले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको आरोप पनि लगाएका छन्।
यसअघि ट्वीटरले आफ्ना करिब आधा कर्मचारी हटाउने तयारी गरिरहको समाचार सार्वजनिक भएको थियो। समाचारमा उल्लेख गरिएअनुसार ट्वीटरका हजारौं कर्मचारीले रोजगारी गुमाइसकेका छन्।
ट्वीटरको सेफ्टी एण्ड इन्टिग्रिटी प्रमुख योएल रुथले कम्पनीका करिब आधा कर्मचारीलाई हटाउन लागिएको पुष्टि गरेका हुन्। उनले कम्पनीका कन्टेन्ट मोडेरेटरको रुपमा काम गर्ने दुई हजारभन्दा धेरै कर्मचारीलाई भने कामबाट नहटाइने बताएका छन्।
मस्कले घट्दो आम्दानीका बीच कर्मचारीको कटौती गर्नुभन्दा आफ्नो कुन विकल्प नरहेको बताएका छन्। उनका अनुसार अहिले बिदा दिइन लागेका कर्मचारीले तीन महिनाबराबरको सेवा तथा सुविधा पाउनेछन्।
ट्वीटरले आफ्ना कर्मचारीहरुलाई पठाएको आन्तरिक मेलमा भने कम्पनीको सफलताको लागि यो कदम आवश्यक रहेको उल्लेख गरिएको छ। अनलाइन सेफ्टी ग्रुपले भने मस्ककोे यो कदमको विरोध तथा आलोचना गर्दै आएका छन्।
Shares
प्रतिक्रिया