सन् १९८४ मा दक्षिण अफ्रिकी एक पत्रिकामा एउटा समाचार छापियो। १२ वर्षको एक केटाले विज्ञान र कथाको मिश्रणबाट भिडियो गेम बनाएको समाचार।
उक्त गेममा हिरो एलियनहरूबाट बच्नुपर्थ्यो, एलियनसँग थियो हाइड्रोजन बम। पछि त्यो गेम सोही पत्रिकाले किन्यो, जुन ८० को दशकमा केटाकेटीहरूबीच निकै चर्चित गेम पनि बनेको थियो।
कथा, विज्ञान र प्रविधिलाई जोडेर बाल्यकालमै पैसा कमाउने ट्रिक सिकेका ती व्यक्ति हुन्- एलन मस्क। अब अन्तरिक्षमा बस्ती बसाउने सपना देखेका उनीसँग अब अन्तरिक्ष परिवहन कम्पनी स्पेस एक्सबाहेक टेस्ला, सोलारसिटी, जीप टू, पेपल-पल, ट्विटरलगायत दर्जनौँ कम्पनीमा लगानी छ।
सामाजिक सञ्जाल ट्विटरमा निकै सक्रिय उनी ट्विटर किनेपछि दैनिकजसो अनेक प्रयोग गरिरहेका छन्, जसले ट्विटरको चर्चा थप बढेको पनि छ। कतिले आलोचना पनि गरेका छन्। अहिले उनले ट्विटरमा अडियो र भिडिओ कल गर्न मिल्ने बनाउने घोषणा गरेका छन्।
हाल विश्वको दोस्रो धनी व्यक्ति रहेका उनी बेलाबखत पहिलो स्थानमा पनि उक्लिरहेका हुन्छन्। उनीसँग अर्बौँ सम्पत्ति छ। आफ्नै जेट, विभिन्न ब्राण्डेड कार, करोडौंको घर- समग्रमा विलासी जिन्दगी। तर अरु धनी मानिस जस्तो उनी चूपचाप छैनन्, मनलाग्दी ट्विट गर्छन्, हँसिमजाक गर्छन्, आम मान्छेसँग रिप्लाईमा गफ गरेर बस्छन्। बेपरवाह बाँचिरहेका छन्।
हाल ५१ वर्षीय एलनको व्यवसाय सन् १९९९ मा सुरु भएको थियो। त्यसबेला उनी २७ वर्षका थिए। आफ्नो भाइसँग मिलेर अमेरिकामा सफ्टवेयर कम्पनी 'जिप-२' को लागि सम्झौता गरे। दक्षिण अफ्रिकामा सन् १९७१ मा जन्मिएका उनी किन अमेरिका गए? यसको कथा पनि निकै रोचक छ।
तर त्यो भन्दा पहिले जानौं उनको जीवन कसरी सुरु भयो। २७ वर्षको उमेरमा एलनले जिप-२ बाट उनले एक्स.डटकम स्थापना गरे। मोबाइलबाटै एक बैंकको पैसा अर्कोमा पठाउन सकिने उक्त एपले संसारमा क्रान्ति ल्याउन घोषणा गरे। हुन पनि अहिले डिजिटल वालेटको विकास बैंकिङ क्षेत्रमा ठूलो क्रान्ति बनेको छ।
मस्कको त्यो कम्पनी अहिले पे-पल नामले चिनिन्छ। उनको त्यो आइडिया थियो। उनले त्यसलाई कम्पनीका रूपमा स्थापना गरेनन्, बेचे। सन् २००२ मा ई-बेयले खरिद गर्यो। जसका लागि मस्कले १६ करोड ५० लाख डलर प्राप्त गरे। त्यो उनको जीवनमा ठूलो उपलब्धी थियो।
त्यसपछि मस्कको ध्यान अन्तरिक्षतर्फ गम्भिरतापूर्वक गयो। उनले ‘स्पेस एक्स’ नामको आफ्नै कार्यक्रम सुरु गरे। स्पेस एक्सले किफायती र नयाँ प्रविधिको अन्तरिक्ष यान मात्र निर्माण गर्दैन, तर अन्य ग्रहहरूमा बस्ने क्षेत्रको अन्वेषणमा पनि संलग्न छ।
सन् २००४ मा मस्कले इलेक्ट्रिक कार कम्पनी टेस्ला गठन गरे, त्यसपछि उनले पछि फर्किएर हेर्नुपरेन। टेस्लाको प्रक्षेपणमा मस्कले भनेका थिए, 'भविष्यमा सबै कुरा विद्युतीय हुनेछ र टेस्लाको टेक्नोलोजीले रकेटहरू अन्तरिक्षमा जानमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।' अहिले संसारभर विद्युती गाडीको बहस-विमर्श भइरहेको छ।
उनीसँग व्यक्तिगत आफ्नै कम्पनी टेस्लाका धेरै महँगो गाडीसहित ज्यागुअरको कलेक्सन पनि छ। कारको कलेक्सन भए पनि उनी त्यसमा त्यति बहुत शौखिन छैनन्। फोर्ब्स म्यागेजिनका अनुसार उनी आफ्ना कारलाई खराब गर्लफ्रेण्ड बताउँछन्, र त्यसले आफू निकै दु:खी भएको टिप्पणी पनि गर्छन्।
उनका धेरै किस्सा छन्। त्यसमध्ये रोचक किस्सा यो हो कि उनलाई पाठ्यक्रमका पुस्तकसँग त्यस्तो कुनै लगाव थिएन।
मस्ककी आमा मेका अनुसार एलनको बुद्धिमत्ता र प्रश्न-उत्तर गर्ने बानी थियो। मस्क यति धेरै प्रश्न सोध्थे, यति फरक ढंगले सोच्थे, जसकारण बाल्यकालमा उनका कोही साथी भएनन्। शिक्षकहरू पनि पाठ्यपुस्तकभन्दा बाहिरका कुरा ल्याएर अनेक प्रश्न सोधेपछि उनलाई मन पराउँदैन थिए। आमा मेले भनेकी छन्- त्यतिबेलै ऊ अर्को ग्रहमा बसोबासका योजना सुनाउँथ्यो, विद्यालयमा नमुना रकेट परीक्षण गर्न भन्थ्यो।
उनले पाठ्यपुस्तकमा उत्कृष्ट प्रदर्शन गरेनन्। एलनकी आमा मेयका अनुसार मस्कले कहिल्यै राम्रो अंक पनि ल्याएनन्। भन्ने गर्थे, 'राम्रो अंक ल्याएर के गर्नु? म त्यति मात्रै पढ्छु, जति पढेपछि पास हुन्छु।'
तर यसो भनिरहँदा उनलाई अध्ययनप्रति कुनै शौख थिएन भन्ने चाहिँ होइन। उनी दैनिक १० घण्टासम्म पढ्थे। तर ती किताब पाठ्यक्रमका थिएनन्, पाठ्यक्रमबाहिरका।
मस्कले एक अन्तर्वार्तामा आफ्नो रुचि भौतिक विज्ञान र अन्तरिक्ष भएको बताएका छन्। जसअनुसार उनले भेटेसम्म पुस्तक पढेको तर विद्यालयका गणितीय र शिद्धान्तका पुस्तकप्रति कहिल्यै रूचि नालगेको बताएका छन्। -एजेन्सी
Shares
प्रतिक्रिया