अमेरिकी अर्बपति इलन मस्कले खरिद गरेयता माइक्रोब्लगिङ प्लाटफर्म ‘एक्स’ (पहिलेको नाम ट्विटर) को बजार मूल्य झन्डै ७२ प्रतिशत घटेको छ।
लामो विवाद र घटनाक्रमपछि मस्कले सन् २०२२ अक्टोबरमा ट्विटरको स्वामित्व खरिद गरेका थिए। त्यसयता एक्सको बजार मूल्य उल्लेख्य रूपले घटेको लगानी तथा बजार मूल्यांकनसम्बन्धी काम गर्ने अमेरिकी कम्पनी फिडेलिटीको पछिल्लो प्रतिवेदनले देखाएको हो।
फिडेलिटीको नोभेम्बर २०२३ सम्मको आँकडाका आधारमा सार्वजनिक प्रतिवेदनमा मस्कको कम्पनीको मूल्य नोभेम्बर एक महिनामै झन्डै १९ प्रतिशतले घटेको देखाइएको छ।
ट्विटर किन्न मस्कलाई फिडेलिटीले नै सघाएको थियो। त्यसयता उसले हरेक महिना सो कम्पनीको मूल्यांकन गर्ने गरेको छ।
मस्कको कम्पनीमा फिडेलिटीको झन्डै साढे ५ अर्ब अमेरिकी डलर लगानीसमेत रहेको अनुमान सार्वजनिक भएका छन्।
फिडेलिटीले गत मे महिनामै ट्विटरको सुरुवाती मूल्यको एकतिहाइ अर्थात् झन्डै १५ अर्ब अमेरिकी डलरमा झरिसकेको आँकडा सार्वजनिक गरेको थियो।
मस्कले झन्डै ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेका थिए।
Shares
प्रतिक्रिया