मौसमले साथ दिएको खण्डमा आज (बिहीबार) राति आकाशमा उल्का वर्षा देखिँदैछ। नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईका अनुसार केही दिनदेखि नै आकाशमा उल्का वर्षा भैरहेको छ। बिहीबार राति भने अत्यधिक मात्रामा उल्का वर्षा हुन लागेको भट्टराईले जानकारी दिए।
बिहीबार राति साढे ११ बजेदेखि शुक्रबार बिहान घाम उदाउनु अघिसम्म नै उल्का वर्षा देख्न सकिने छ। नाङ्गो आँखाले नै उल्का वर्षाको अवलोकन गर्न सकिने भट्टराईले बताए। आगोका झिल्का जस्तै देखिने उल्का वर्षा जमिनको सतहबाट झण्डै ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्नुलाई उल्का वर्षा भनिन्छ। जसलाई नेपाली जनजिब्रोमा तारा खसेको पनि भन्ने गरिन्छ।
थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा उल्का वर्षा देखिने गर्दछ।
थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४ सय १५ वर्ष लगाउँदछ। पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन जुन लाखौँ किलोमीटरसम्म फैलिन्छन्।
यसरी फैलिएका धूलाका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन्। परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्कावर्षाको रुपमा देखिन्छन्।
यदि यस्तो दृश्यमा १० वा सो भन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ।
Shares
प्रतिक्रिया