ad ad

समाज


दिनभरि पुरिएको घर हेरेर साँझ डेरा फर्किन्छन् मेलम्चीबासी

दिनभरि पुरिएको घर हेरेर साँझ डेरा फर्किन्छन् मेलम्चीबासी

उजिर कार्की
असार २५, २०७८ शुक्रबार १७:२४,

जेठ अन्तिम रातको बाढीले सिन्धुपाल्चोकका ३६६ परिवारलाई विस्थापित गर्‍यो। बाढी घरभित्र पसेपछि मेलम्ची बजारका १८७ परिवार पाखा लागे। 

दिउँसैबाट खोला बढेकाले मेलम्ची बजारमा मानवीय क्षति हुन पाएन। तर, त्यही बाढीले हेलम्बुका २५ जनालाई बगायो। अहिलेसम्म पनि २० जनाको अत्तोपत्तो छैन। ५ जनाको शव फेला परेको छ। 

अहिले पनि सम्भावित ठाउँहरुमा सुरक्षाकर्मीले खोजी गरिरहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए। 

बाढीबाट विस्थापित भएकाहरुलाई प्रशासनले तत्कालै सार्वजनिक स्थलहरुमा सार्‍यो। तर २५ दिन बित्दा पनि खोलाले बाटो फेरेन। घर फर्किने अवस्था रहेन। 

 

‘विद्यालयको बास अस्तव्यस्त, बुढापाका र केटाकेटीलाई गाह्रो भयो। हामी त डेरा खोजेर बस्न थाल्यौँ,’ बाढीपीडित गणेश दुलालले भने, ‘घर फर्किन सकिएन। बसाइ लम्बिने भयो।’

भदौसम्म खोलाको भेल हेरेर घर फर्किनेनफर्किने निर्णय गर्ने उनी बताउँछन्। उनी अहिले स्थानीय सीताराम चालिसेको घरमा दुई वटा कोठा भाडामा लिएर बसेका छन्।

पहिलेको भन्दा खोला गोहिरिँदै गएको छ। तर खोलो थिरले बगिरहेको छैन। छिनमा पल्लो भित्तो पुग्छ, छिनमा वारि भित्तो हान्न थाल्छ। पहिले थुपारेको लेदो र गेग्रान कटान गर्दैछ। 

‘हाम्रो घरसम्म त अब खोला नआइपुग्ला, चारतले घरको एक ढलान पुरै पुरिएको छ। बाँकी तला बगरमाथि देखिन्छ,’ दुलालले सुनाए, ‘तर त्यो घर खोतल्न सरकारले सघाएन। हामी सक्ने भए थाल्थ्यौँ।’

इन्द्रेश्वरी विद्यालयमा करिब ५० परिवार बसेका थिए। उनीहरुलाई पनि राहत दिएर स्थानीय सरकारले कोठा खोजेर बस्नुस् भन्यो। त्यसपछि आफैँ कोठा खोजेर सर्न थाले, अहिले विद्यालय खाली छ। 

बगुवाका रामबहादुर तामाङ पनि मेलम्ची बजारमा होटल गरेर जीवन चलाउँदैथे। उनको जुनतारा होटलमा खोला पसेपछि रामबहादुर तीन जनाको परिवार लिएर पाखा लागे। केही समय विद्यालयमा बसेपछि तामाङको परिवारले पनि डेरा खोज्यो। 

‘विद्यालय चलाउँछौँ भनेर हामीलाई बस्न दिएनन्, निकाले,’ उनले शुक्रबार नेपालखबरसँग भने, ‘अहिले आरुखर्कका दुलालको घरमा डेरा लिएको छु।’

कसैले पुरिएका घरमा डोजर चलाए। कसैका घरका छतमाथिका रड मात्रै देखिएका छन्। 

स्थानीय व्यवसायी तथा कांग्रेस नेता आकाश श्रेष्ठका अनुसार करिब १६ सय मानिस विस्थापित छन्। खोला आफ्नो ठाउँमा नफर्केसम्म मान्छेहरु पनि घर फर्किने छैनन्। 

अहिले स्थानीयले मेलम्ची पुनर्निर्माण तथा सरोकार समिति बनाएका छन्। समितिले यहाँका विस्थापितहरुलाई बोलाएर घर खोतल्ने र निकाल्न मिल्नेजति सामान निकाल्ने श्रेष्ठले बताए। 

‘स्थानीय सरकारले केही पनि गरेन। विस्थापितलाई कसरी सुरक्षित गर्ने भन्ने काम गरेन। जोखिम न्यूनीकरणका लागि पनि केही गरेन। खोलाबाट बस्ती जोगाउन ध्यानै दिएन, अहिले पनि जोखिम कम भएको छैन,’ श्रेष्ठले भने। 

मेलम्चीकै जमुना र मोहन गौतम पनि आफन्तकहाँ बस्न थालेका छन्। खोला घर नजिकैबाट बगिरहेको छ। चारतले घरको दुई तला पुरिएको छ। दुई तलामाथिको झ्यालबाट भित्र जान सकिन्छ। 

झ्याल फोडेर मोहनले भित्र जाने बाटो बनाएका छन्। त्यहीँबाट केही बचेखुचेका सामान सारे पनि। 

लेदोमा डुबेका कपडाहरु खोतले। बेड निकाल्न खोजे, तर झ्यालबाट निकाल्न सकिएन। 

‘अब दुई चार दिनमा सुक्यो भने यो बेड काम लाग्छ,’ मोहनले भने।

जमुनाले थपिन्, ‘खोलाको के भर भयो र! अघि यहीँ थियो खोलो, अहिले पारि पुगेछ।’

उनीहरु दिनदिनै पुरिएको घरको छेउमा पुग्छन्। घर घुमीघुमी हेर्छन्। नयाँ–नयाँ मान्छे आउँछन्। उनीहरुलाई त्यहाँका कुरा सुनाउँछन्। र, साँझ परेपछि डेरामा फर्किन्छन्।

तल पुगेको गाडी तर्ने फलामको पुल देखाउँदै मोहनले भने, ‘यो पुल यहीँ थियो। हेर्दाहेर्दै गर्ल्याम्मै ढाल्यो। त्यसपछि मात्रै हामीलाई लागेको हो अब केही बाँकी राखेन भनेर।’

त्यस अघिसम्म त मेलम्ची बजारका धेरै मान्छे हातमा फोन बोकेर त्यही पुलमाथिबाट फोटो र भिडियो खिचिरहेका थिए। प्रायः बर्खामा खोलो बढ्दा पक्की पुलमाथि उभिएर सधैँ उनीहरु यसै गर्थे। 

अरु पुरिएको घर खोतल्ने कुरा गरिरहेका थिए। तर, मोहन र जमुनाको योजना त्यस्तो छैन।

‘अब पुरिएको घर खोतलेर काम छैन। पुरानै ठाउँमा खोला फर्कियो भने यो माथिको तलादेखि बस्न मिल्छ,’ मोहनले भने। 

जमुनाले पनि त्यसैमा सही थापिन्।

काभ्रे पाँचखालका मोहन र जमुना २० वर्षपहिले मेलम्चीमा घर बनाएर सरेका हुन्। घरको दुई फ्ल्याट भाडामा दिएका थिए। माथिको तलामा आफू बस्थे। उनको घरमा पसल गर्नेहरुको पनि क्षति पुग्यो। पसलमा भएका सामान उनीहरुले पनि निकाल्न पाएनन्। 

‘त्यो दिन एकछिन हेर्न त रमाइलै भाको थियो, अहिले त बिल्लिबाठै भयो नि,’ जमुनाले भनिन्। मोहनले थपे, ‘मसँग अहिले पनि भिडियो छ, रमाएर बाढी हेर्ने मान्छे पुलमा अटाइनअटाइ थिए। साँझ ९ बजे खाना खाँदा टर्च बाल्दै खोलो हेर्दै खाना खाइयो। २ बजेर २ मिनेट जाँदा ठ्याक्कै पुल लगेको।’

बिहान चार बजेतिर बजारबाट बग्न थाल्यो खोलो। माथिल्लो बाटोमा पुगेपछि सबैतिर भागाभाग चल्यो।

मेलम्चीको पुछारमा रहेको धितालबेँसी पनि अचेल खाली छ। धितालबेँसीमा २०/२२ घर छन्। 

पहिले यो ठाउँमा खेतीमात्रै गरिन्थ्यो। बसोबास माथि गाउँतिरै थियो। राजु रायमाझीको घर अझै सिन्धुकोटमा पनि छ। धितालबेँसीमा रहेको घर पुरिएपछि उनी अहिले सिन्धुकोटतिरै फर्किएका छन्। 

जब त्यो ठाउँमा सडक पुग्यो, बिस्तारै बस्तीहरु बाक्लिन थाल्यो। पछि बेँसी नै सहर बन्दै गएको थियो।

स्थानीय पूर्ण धितालका अनुसार २०३२ सालदेखि यहाँ घर बन्न थालेका हुन्। ४६ वर्षको बीचमा बगर सहर बन्यो र फेरि बगरै बनिगयो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .