‘...मैले आज प्रहरी सेवा त्यागेँ। राजीनामा दिएँ। बाँचुन्जेललाई हुने आयस्रोतको बाटो आफैँले बन्द गरेँ। तैपनि पश्चाताप छैन। गाउँ फर्किँदै छु। समाजका लागि केही सिर्जनात्मक योगदान गर्नेछु। थोरै भए पनि आत्मसन्तुष्टि नै मिल्छ। सन्तुष्ट– यसर्थ अब गाई काट्नेलाई समात्न हतकडी बोकेर जानु पर्दैन। आफ्नै सांस्कृतिक हत्यारा बन्नुपर्दैन...’ नेपाल प्रहरीमा १५ वर्ष २ महिना २ दिन बिताएका कथाकार बीएस राईले सामाजिक सञ्जालमा यस्तो भावुक स्टाटस लेखे।
झण्डै १२ दिनअघि मकवानपुरमा गाई काटेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गर्यो। त्यस घटनाले प्रहरी सेवामै सब-इन्स्पेक्टर (सई) को भूमिकामा रहेका बीएस झस्किए। कारण, चाहे बीएसको समुदाय होस् वा तामाङ समुदाय। उनीहरूको संस्कृतिमा गाई काट्नु स्वीकार्य छ।
‘मैले उनीहरूलाई हतकडी लगाउनुपर्याे भने हात काँप्नेछन्। म पनि त्यही सांस्कृतिक सम्प्रदायको मान्छे हुँ। म आफ्नै संस्कृतिको हत्यारा कहिलेसम्म बनिरहुँ। जबकि प्रहरीमा जस्तो आदेश आउँछ त्यो गर्नुपर्छ,’ बीएसले भने।
प्रहरी सेवाबाट राजीनामा दिएको क्षण भने हलुका भए उनी। आफू स्वतन्त्र भएको महसुस गरे। र, हिम्मतले स्टाटस लेखे। सामाजिक सञ्जालमा केही अभियन्ताले उनको स्टाटसको तारिफ गरेका छन्।
उनी आफैँ पनि सोचिरहेछन्, ‘अब गाई काट्नेहरूलाई हतकडी लगाउने होइन, हतकडी लगाउने यो सिस्टमविरुद्ध बोल्ने हो।’
असईबाट थालेको प्रहरी सेवालाई बीएसले चार वर्षअघि विश्राम दिने सोच बनाइसकेका थिए। उनी लेखक थिए, जसलाई यो सकसलाग्दो फ्रेमभित्र बाँधिनु थिएन। बरु केही फरक गर्नु थियो।
‘हुन त यो घटना संयोग हो, तैपनि मेरो निर्णय यो घटना भइरहँदा सही हो भन्ने लागिरह्यो,’ उनी सुनाउँछन्।
उनको संस्कारमा पितृ पूजा हुँदा गाई/गोरुको मासु नै प्रयोगमा आउँछ। गाई/गोरुलाई राज्यले काट्न बन्देज लगाएको छ।
‘पितृ पूजामा हाम्रो घरमा बाँसको ढुंग्रामा वर्षौंअगाडि राखिएको गाई/गोरुको सुकुटी हुन्छ। त्यो निकै सडिसकेको छ। बिडम्बना ! हाम्रा पुर्खाले ढुंग्रामा राखिएको कालो भइसकेको मासुको अवशेष राखेर पुज्न बाध्य छन्। यो हाम्रो संस्कृतिमाथिको अतिक्रमण हो,’ बीएस भन्छन्, ‘जबसम्म कुरा बुझिन्न, चासो राखिन्न केही हुन्न। जब चासो राखिन्छ। त्यसपछि साँचिक्कै बिझाउँछ यो कुराले।’
बीएस लेखक हुन्। ‘हिउँमाझी’ कथासङ्ग्रहबाट उनले आफ्नो लेखकीय पहिचान बनाएका थिए। प्रहरी सेवामा रहिरहँदा साहित्य साधनामा कठिनाइ भएको उनको अनुभूति थियो। तर अब उनी लेखनलाई अझै फराकिलो बनाउन चाहन्छन्।
उनले त्यो स्वतन्त्रताको महसुस स्टाटसमा गराएका छन्, ‘भन्न नसकिने रहेछ– कति दिन बाँच्छु? तर भन्न सकिने रहेछ– कति दिन के गरेँ? यहाँ मैले ५५ सय ५० दिन प्रहरी भएर काम गरेछु। यस अवधि राज्यले निर्माण गरेको फ्रेमभित्र रहेर काम गरेँ। एकै जुनी बाँच्ने जीवनमा यो समय धेरै हो भन्ने लागेको छ। धेरै यसर्थ फ्रेमभित्र सीमित भएर बर्बाद हुँदै छ। अब म फ्रेमको सीमामा रहन सक्दिनँ। स्वतन्त्र भएर समाज रुपान्तरणको काम गर्न चाहन्छु...।’
अब व्यवसाय र राजनीति
हुन त उनको ५ वर्षमा पेन्सन पाक्ने थियो। त्यतिबेलासम्म उनी सिनियर अफिसर बनिसक्थे। तर, ४ वर्षदेखि उनको मन अर्कैतिर बाँडियो– साहित्य, राजनीति र व्यवसाय।
उनले तीन वर्ष सुरक्षा सेवा निर्देशनालय अन्तर्गत भीभीआइपीहरुको पीएसओ भएर काम गरे। त्यसअघि बीएसलाई लाग्थ्यो– मन्त्रीहरू फरक र ठूला क्षमताका हुन्छन्। तर जब उनीहरूको पिएसओ बनेर काम गरेपछि उनी निराश भए।
‘मैले जब संगत गरेँ, त्यतिबेला मैले के पाएँ भने उनीहरू हामीभन्दा फरक र विशेष क्षमताका मान्छेचाहिँ होइनन्। हाम्रो र उनीहरूमा क्षमता बराबर हो। तर उनीहरूले समातेको बाटो र मैले समाएको बाटोमा फरक पर्यो,’ उनी सुनाउँछन्, ‘मैले सामान्य जीवनयापनका लागि साँघुरो गोरेटो समातेँ, उनीहरूले चाहिँ फराकिलो बाटो रोजे। जसले गर्दा उनीहरू त्यतिकै क्षमता भएर पनि भीआइपी, म त्यतिकै क्षमता भएर पनि उसको बडीगार्ड।’
त्यसपछि उनले आफ्नो सम्भावनाहरूको खोजी गरे। राजनीतिमा होमिने सोच बनाए। ‘नसकिने त होइन। एक जुनी बाँच्नु छ, पूरै जिन्दगी चाहिँ साँघुरो गोरेटोमा किन सकाउने हो? त्यसपछि त रिटायर्ड लाइफ हुन्छ। म संकुचित हुन्छु। एउटा फ्रेमभित्र नै बस्ने मलाई आदत बनिसकेको हुन्छ। मैले फराकिलो बाटोको संकल्प गर्नैपर्छ,’ उनले प्रण गरे।
अब बीएस आफनै गाउँ सोलुखुम्बु फर्कन चाहन्छन्। त्यहाँ कृषि कर्म गर्न चाहन्छन्। साथीभाइका लागि रोजगारीको सिर्जना गर्न चाहन्छन्। विदेश जानेहरू फर्काएर यहीँ केही गर्न चाहन्छन्। मासु उत्पादन गरेर काठमाडौ र सोलुखुम्बुकै बजारमा निर्यात गर्न चाहन्छन्। ‘मिल राख्ने र गाउँमा कृषि सहकारी खोलेर आयस्रोतलाई मजबुत बनाउँछु। साहित्य सिर्जना गर्छु। राजनीतिमा सक्रिय हुन्छु,’ बीएसले आफ्ना भावी योजना यसरी सुनाए।
Shares
प्रतिक्रिया