मध्यान्ह घामले रापिएको माइतीघरमा केही महिला सल ओढेर सुतिरहेका छन्। घर, छाडेको २२ दिन भइसक्यो। १९ दिन त उनीहरुलाई नेपालगञ्जबाट हिँडेर काठमाडौ आइपुग्नै लाग्यो।
लखतरान छन् उनीहरु त्यही हिँडाइले। १६ जनाको नेतृत्व गरेर काठमाडौं आइपुगेकी रुबी खानको गोडामा ठूलो ठेला उठेको छ। तैपनि उनी काठमाडौंका सडकमा न्याय निम्ति हिँड्न छाडेकी छैनन्।
माइतीघरमा कालो ब्यानर झुन्ड्याएका उनीहरूको माग सिंहदरबारले सुनेको छैन। षडयन्त्रपूर्वक मारिएका नकुन्नी धोबी र निर्मला कुर्मीले न्याय पाउने छाँटसम्म पनि छैन।
‘यतिका दिनसम्म लड्यौँ। अझै लड्छौँ। न्याय नपाएसम्म दसैँतिहार केही भन्दैनौँ। अनसन बस्छौँ,’ रुबी खानले भनिन्।
बाँकेको जानकी गाउँपालिका–२ कि ३८ वर्षीया नकुन्नी धोबीको मृत्यु शंकास्पद छ। तर, प्रहरी प्रशासनले भनिदियो– आत्महत्या। सकिना तेलीका अनुसार नकुन्नीलाई दाइजो नदिएको निहुँमा उनका उनका श्रीमान्ले बारम्बार यातना दिन्थे। विष दिन्थे, झुन्डिन पासो दिन्थे।
‘उनको आत्महत्या थिएन, हत्या थियो। तर प्रहरीले जाहेरी लिएर जाँदा नल्याउनुस् यो आत्महत्या हो भन्यो। पीडित पक्षसँग जाहेरी लिएर जाँदा पनि हामीलाई उल्टै दुःख दिइयो, विभिन्न मुद्दा फसाउने धम्की दिइयो,’ सकिना भन्छिन्।
नेपालगञ्ज उपमहानगरपालिका–१९ बस्ने निर्मला कुर्मी एकल महिला थिइन्। पीडकले उनलाई सम्पत्तिका लागि पटक–पटक अपहरण गरेर दाइजो लिएर मारेको उनको आरोप छ।
‘उहाँको श्रीमान् बितेको दुई वर्षभित्रै दुई वटा छोरा एक हप्ताको अवधिमा मारिए। एकल महिला र सम्पत्तिकै कारण अपहरण र शरीर बन्धक बनाएर मारिएको छ,’ सकिना भन्छिन्।
१९ दिनको संघर्ष : ज्यान जोगाउनै मुस्किल
पीडितलाई न्यायका लागि हत्यारा आरोपितमाथि अनुसन्धान गर्न पीडित पक्षसहित उनीहरूले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए। तर, एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुदन न्यौपानेले न जाहेरी लिए, न सहयोग गरे।
‘उनीहरूले हाम्रो अपमान गरे, दुःख दिए,’ रुबी भन्छिन्।
त्यसपछि उनीहरू बाँके जिल्ला प्रशासनको गेटअगाडि अगाडि १९ दिनसम्म धर्ना बसे। सुनुवाइ भएन। त्यसपछि असोज १ गतेबाट पैदल नै काठमाडौं आउने निर्णय गरे।
‘यो हाम्रो संघर्ष थियो। प्रदेशको मुख्यमन्त्रीसम्मले नसुनेको कुरा केन्द्रीय सरकारले सुन्छ कि भनेर यो घोषणा आयौँ,’ सकिना भन्छिन्।
असोज १ गते बिहान ११ बजेबाट ११ महिला र तीन पुरुषसहित १४ जना पैदल हिँडे।
‘हामी बाटोमा कन्दमुल खाएर बस्यौँ, बयर खाएर बस्यौँ, खट्टो पात खाएर बस्यौँ,’ सकिनाले भनिन्, ‘कहिले प्रतीक्षालयमा सुत्यौँ, कहिले टिनको छानोजस्तो ठाउँमा सुत्यौँ, कहिले जंगलमा सुत्यौँ।’
राति ठूलो पहाडमुनिको सडकमा हिँड्दै थिए। झम्झम् पानीमा उनीहरू निथ्रुक्क भिजेका थिए। अचानक माथिबाट पहिरो आयो। गुर्गी गोरीको सामान र चप्पल बग्यो। साथीहरूले तानेर धन्न उनको ज्यान जोगाए।
थाहा थिएन, काठमाडौँ आइपुग्न कति दिन लाग्छ।
‘धेरै रोयौँ। भोक र प्यासले मरिन्थ्यो। त्यतिबेला छोराछोरी सम्झेर धरधरी रुन आयो,’ सकिना भन्छिन्।
न खाना थियो, मुस्किलले १९ दिनमा ६ छाक खाना खाए उनीहरूले।
‘कतै चिउरा चपाउँथ्यौँ, कतै केही दिन्थे बाटोमा। त्यही खाएर आयौँ,’ सकिना भन्छिन्। काठमाडौं आएपछि भने केही अधिकारकर्मीहरूले सहयोग गरे। खाना र बासको व्यवस्था गरिदिए।
आब्दादर्जी बिरामी भएर माइतीघरमा पल्टिरहेकी छन्। तर उनलाई परवाह छैन आफ्नो शरीरको। उनी न्याय पाएर खुसीसाथ फर्कन चाहन्छिन्।
धेरै जनाको चोरमारा भन्ने ठाउँमा सामान चोरी भयो। छाता, कपडा, मोबाइल पैसालगायत धेरै कुरा हराए।
तर, सामान हराएकोमा होइन, न्याय हराएकोमा चिन्तित छन् उनीहरू। नागरिक आन्दोलनले उनीहरूको धर्नामा माइतीघरमा ऐक्यबद्धता जनाएको थियो।
‘अपराध गरेको मान्छेलाई न्यायालयले समातेर न्याय दिनुपर्छ भन्ने कुरा अहिले पनि हाम्रो मस्तिष्कमा आउन सकेको छैन। प्रदेश सरकार छ, तर न्याय नपाएर उहाँहरू काठमाडौं आउनुपर्यो,’ ऐक्यबद्धता जनाउन आएकी लेखक तथा नागरिक समाजकी अभियन्ता अर्चना थापा प्रश्न गर्छिन्, ‘तर कुनै पनि निकायले उहाँहरूलाई अहिलेसम्म सम्पर्क गरेको छैन। काठमाडौँ आएर पनि उहाँले न्याय पाउनुहोला र?’
सबै तस्बिर : विक्रम राई/नेपालखबर
Shares
प्रतिक्रिया