नेपालगञ्जबाट न्यायका लागि १९ दिन हिँडेर काठमाडौं आएका १६ जनाको समूहलाई अधिकारकर्मी रुबि खानले नेतृत्व गरेकी थिइन्।
शुक्रबार साँझ माइतीघर मण्डलमा खाना खाइरहेका बेला उनी लगायत १४ जना पीडितलाई प्रहरीले बल प्रयोग गरेर पक्राउ गर्यो। शनिबार बिहान ११ बजे रुबिबाहेक सबैलाई रिहा गरियो।
न्यायका लागि आन्दोलनकी अगुवालाई भने प्रहरी हिरासतबाटै अरुलाई थाहै नदिइ नेपालगञ्ज पुर्याइएको छ।
अन्य आन्दोलनकारी भोकै तिर्खै माइतीघरमा धर्ना बसिरहँदा रुबिलाई गठबन्धन सरकारले धरपकड गर्दै नेपालगञ्ज नै फर्काइदियो।
प्रहरी नियन्त्रणमा रहेकी रूबिका नाममा अदालतले वारेन्ट जारी गरेकाले नेपालगन्ज पुर्याइएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन्।
तर अन्य आन्दोलनकारीलाई रुबिको अवस्थाबारे प्रहरी प्रशासनले थाहा पत्तो दिएको छैन।
नागरिक समाजका अभियन्ता केही सूचनाका आधारमा रुबिलाई खोज्दै सोह्रखुट्टे प्रहरी बृत्त पुगेका थिए।
त्यहाँ जाँदा डिएसपी दुर्गा प्रसाद दाहालले आफ्नो जिम्मामा नभएको भनेर जवाफ दिँदै पन्छिए।
‘पछि जहाँ भए पनि अनामनगरमा आधा घण्टामा ल्याइदिन्छौँ भन्नुभयो। तर अहिलेसम्म उहाँको पत्तो छैन,’ नागरिक समाजकी अभियन्ता प्रनिताले भनिन्। तर अधिकारकर्मीले खोजिरहँदा रुबिलाई प्रहरीले हवाई मार्गबाट नेपालगञ्ज पुर्याइसकेको थियो।
सिंहदरबारले लखेट्यो
रुबिलाई प्रहरी हिरासतबाट नेपालगञ्ज लगिएसँगै सकिना तेलीले आन्दोलनको नेतृत्व गरिरहेकी छिन्।
दिउँसो रिहा भएपछि सरकारले पीडितहरुलाई वार्ताका लागि सिंहदरबार बोलाएको थियो। सकिनाको नेतृत्वमा उनीहरुका टोली वार्ता गर्न गएको थियो।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल वार्तामा सकारात्मक नदेखिएको सकिनाले बताइन्। वार्ताका क्रममा प्रवक्ता पोखरेलले प्रश्न गरेका थिए, ‘तपाईंहरुको माग नेपालगञ्जमै सम्बोधन हुन्थ्यो किन आउनुभयो?’
‘सर त्यहाँ हामी १९ दिनसम्म धर्ना बस्यौँ। माग सम्बोधन भएन। २० दिनसम्म हिँडेर आउनु हाम्रो रहर थिएन। बाढी पहिरो छल्दै आएका छौं सर। हाम्रो माग पूरा नभएसम्म जाँदैनौं। माइतीघरमा धर्ना स्छौं,’ सकिनाले प्रवक्तासँगको संवादबारे भनिन्।
प्रवक्ताले पोखरेलले माइतीघरमा धर्ना बस्न नमिल्ने बताउँदै त्यहाँबाट हटाउने बताए। ‘तपाईंहरू एकछिन पनि बस्न पाउनुहुन्न। हामीलाई सहयोग गर्नुहुन्छ भने हामी तपाईंको माग सम्बोधन गर्छौं’, उनले भनेका थिए, ‘अभियुक्त समात्न तपाईंहरुको सहयोग चाहिन्छ। फर्केर नेपालगञ्ज जानुस्। डिआइजीमार्फत् अनुसन्धान टोली जान्छ।’
तर वार्तामा लिखित सहमति नभएको उनले बताइन्। ‘उहाँले सबै मौखिक मात्र भन्नुभयो। लिखित दिनुभएन। हामीले माग पूरा नभएसम्म जाँदैनौं भनेर भन्यौंँ’, उनले भनिन्।
रुबिलाई नछाडेको बारे प्रश्नमा पोखरेलले भने, ‘यहाँ धर्ना गर्न मिल्दैन। उहाँलाई नेपालगञ्ज नै पठाइदिन्छौं। तपाईंहरू पनि जानुस्।’
उनले यसो भनिरहँदा रुबिलाई प्रशासनले नेपालगञ्ज लगिसकेको थियो। बाँकेको जानकी गाउँपालिका–२ की ३८ वर्षीया नकुन्नी धोबी र नेपालगञ्ज उपमहानगरपालिका–१९ की निर्मला कुर्मीको शंकास्पद मृत्यु भएको थियो।
उनीहरूलाई हत्या गरिएको भन्दै घटनाको अनुसन्धान र दोषीलाई सजाय दिन मागसहित पीडितहरुले १९ दिन नेपालगञ्जमा धर्ना बसेका थिए। त्यहाँ कुनै सुनुवाइ नभएपछि उनीहरू पैदल हिँडेर काठमाडौं आएका हुन्। हत्या आरोपितका साथै उनीहरुले बाँके एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेलाई पनि कारबाही माग राखेका छन्।
धर्नास्थलमै ढल्छन् पीडित
महिला सुरक्षा दबाब समूह तथा नागरिक समाजले दिउँसो ३ बजे पीडितहरूको पक्षमा ऐक्यबद्धता कार्यक्रम आयोजना गरेको थियो।
‘अपराधीलाई कारबाही गर कारबाही गर’ भन्दै सकी नसकी नारा लगाउँदै थिइन् ४५ वर्षीया सलिमुन बिहाना। अचानक उनी नारा लगाइरहेको ठाउँमा अचेत भएर ढलिन्।
केही दिनदेखि उनी बिरामी थिइन्। अभियन्ताहरूको सहायतामा तङ्ग्रिएकी सलिमुन भक्कानिएर रुन थालिन्। ‘न्याय नमिल्ने भयो’, भन्दै उनी निकैबेर रोइरहिन्।
सलिनासँगै अरु पीडितहरू पनि सकिनसकी न्यायका लागि उभिएका छन्। उनीहरू नारा लगाउँदा लगाउँदै भक्कानिन्छन्। ‘अब हामी कहाँ जाने? यहाँसम्म हिँडेर आयौं। सरकारले उतै गएर माग भन्छ, बरु हामी मर्छौँ तर न्याय नपाई फर्कन्नौं,’ सकिनाले रुँदै भनिन्।
Shares
प्रतिक्रिया