ad ad

समाज


एक लाख बोकेर सहकारी छिरेका इच्छाराजको बयानः १२ अर्ब तिर्न बाँकी छ

एक लाख बोकेर सहकारी छिरेका इच्छाराजको बयानः १२ अर्ब तिर्न बाँकी छ

उजिर कार्की
मंसिर १७, २०७८ शुक्रबार १९:१२, काठमाडौँ

पूर्वसांसद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध अहिलेसम्मकै ठूलो ठगी मुद्दा अदालतमा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार जिल्ला अदालत काठमाडौंमा इच्छाराजकी श्रीमती र दुई छोरीसहित ४२ जनाविरुद्ध ठगी मुद्दा दर्ता गरेको हो।

उक्त मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दाबी गरिएको छ। उनीहरुविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो। 

उनीहरुविरुद्ध १ हजार ५ सय ३ जना पीडितले जाहेरी दिएका थिए। ठगीको आरोप लागेकामध्ये एक जनाको भने मृत्यु भइसकेको छ। 

सिभिल सहकारीको सञ्चालक समितिका सदस्य गोपालबहादुर श्रेष्ठको दुई वर्षपहिले नै मृत्यु भएको थियो। यस मुद्दामा १२ जना पक्राउ परेका छन्। २९ जना अझै फरार रहेको अभियोग पत्रमा उल्लेख छ। मुख्य अभियुक्तलाई ८ वर्षका दरले कैद सजाय समेत हुनु पर्ने माग दाबी गरिएको छ। 

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले १२ अनुसन्धान गरेर मंसिर ९ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सोही प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले शुक्रबार मुद्दा दर्ता गरेको हो। 

अभियोजन पत्रमा सामेल बयानमा उनले भूकम्प र कोभिड–१९ का कारण हाउजिङ व्यवसायमा क्षति पुगेको दाबी गरेका छन्। बचतकर्ता र बैंकको ऋणसमेत गरी करिब १२ अर्ब तिर्न बाँकी रहेको उनको भनाइ छ। तर, सो रकम तिर्ने दायित्व आफ्नो नभई संस्थाको रहेको बयानमा उल्लेख छ।

अभियोजन पत्रमा यस्तो छ इच्छाराजको बयानः 
२०५७ सालतिर हरिहर लामिछाने, प्रकाशकुमार वर्मा, जीवनराज बज्राचार्य, डा.दुर्गाप्रसाद संग्रौला र सूर्यप्रसाद संग्रौलासँग छलफल भयो। व्यवस्थित बसोबासको लागि हाउजिङ व्यवसाय गर्ने उदेश्यले सहकारी संस्था स्थापना गरौँ भनी योजना बनायौँ। सोहीअनुसार २०५७ सालमा सहकारी स्थापना गर्ने निर्णय भयो।

स्थापना भएपश्चात तत्कालै मैले एक लाख रुपैयाँ सेयर लगानी गरी सेयर सदस्यको रुपमा आबद्ध भएको हुँ। मैले संस्थालाई आवश्यकताअनुसार सञ्चालक समितिले निर्णय गरेर पटकपटक थप सेयर लगानी गरेँ।

म संस्थाको स्थापनाकालदेखि २०६७ सालसम्म सञ्चालक समितको अध्यक्ष भएको हो। त्यसपछि २०७३ सालसम्म संस्थाको सल्लाहकारको रुपमा काम गरेको हो। २०६७ सालदेखि हालसम्म सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठ छन्। 

संस्थाको विनियममा देशको चौतर्फी विकास गर्न संस्थाको क्षमताले भ्याएसम्म जलविद्युत, यातायात, सञ्चारलगायतका उपयुक्त देखिने आयोजनाहरु निर्माण तथा सञ्चालन गर्ने भन्ने उल्लेख छ। सोहीबमोजिम २०६० सालमा सिभिल सेभिङ एन्ड क्रेडिट संस्थाले पहिलो चरणमा आफ्नै नाममा हाउजिङ परियोजनाको लागि ललितपुर भैँसेपाटीमा जग्गा खरिद गरी घर निर्माण गरी बेचबिखन गरेको हो।

त्यसैगरी २०६२ सालमा, २०६३ सालमा हाउजिङ परियोजनाको रुपमा पिभिन्न स्थानहरुमा जग्गा खरिद गरी हाउजिङ बनाई बिक्री गरी आएको हो। २०६३ सालतिर हाउजिङ व्यवसाय गर्नलाई सहकारी संस्थाबाट नगर्नू र छुट्टै प्रालि खडा गरी कारोबार गर्नू भनी आन्तरिक राजस्व विभागका फुल अडिट भएको निर्देशनअनुसार व्यवस्थित बसोबासको लागि घरजग्गा निर्माण गरी बेचबिखन गर्ने गरी सिभिल होम्स प्रालि नामक कम्पनी दर्ता गरी हाउजिङ परियोजना सुरु गरेको हो।

त्यसरी नै एउटा कम्पनीमा ३५ रोपनीभन्दा बढी जग्गा खरिद गर्न नपाइने हदबन्दीको कारणले २०६५ सालतिर सिभिल अपार्टमेन्ट प्रालि समेतका अन्य २१÷२२ वटा जति कम्पनीहरु दर्ता गरी सञ्चालनमा आए पनि कतिपय बन्द भइसकेको छ।

सिभिल होम्स समेतका कम्पनीहरुले चरणबद्ध हाउजिङ परियोजनाहरु सञ्चालन गरेको हो। सम्पूर्ण कम्पनीहरुमा सञ्चालक समितिको अध्यक्ष म इच्छाराज तामाङ, सदस्य केशव ाल श्रेष्ठ समेत सदस्य छन्।

विभिन्न बैंकहरुमा आफ्नो, आफ्नो परिवार तथा सिभिल होम्स समेतका कम्पनीहरुको खाता छ। सिभिल बैंकमा संस्थापक सेयर संख्या ४ लाख ४८ हजार ६०० छ। सोबाहेक अन्य बैंक, संस्था समेतमा सेयर छ।

श्रीमती सिर्जना शाक्य, छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा समेत विभिन्न बैंक, वित्तीय संस्था, कम्पनीहरुमा सेयर, काठमाडौंको कीर्तिपुरमा जग्गा जमिन छ। कबिव २ हजार १०० जना जति संस्थाका बचतकर्ता सदस्यहरु भएको थाहा पाएको हुँ।

उक्त संस्थाका बचतकर्ता सदस्यहरुलाई करिब ७ अर्ब जति रकम फिर्ता गर्नु पर्ने हुनु पर्दछ। त्यसबाहेक सिभिल होम्स समेतका सबै कम्पनीहरुबाट करिब ५ अर्ब जति कर्जा सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडलाई तिर्न बाँकी छ।

२०७२ सालको विनाशकारी भूकम्पको कारण कम्पनीहरुले निर्माण गरेका अपार्टमेन्टहरुमा ठूलो क्षति पुर्याएकोले पुनर्निर्माण गर्न समय लागेकोले ठूलो नोक्सानी बेहोर्नु परेको र कोरोना महामारीको कारण घर र अपार्टमेन्ट बिक्रीवितरणमा कमी आएकोले भने जति साँवा रकम कम्पनीको तर्फबाट सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडलाई चुक्ता गर्न नसकेको हो।

विभिन्न पत्रपत्रिकामा नकारात्मक समचार सम्प्रेषण भएपछि सदस्यहरुलाई कर्जा रकम तुरुन्त फिर्ता गर्नुपर्ने बाध्यताले सम्पूर्ण रकम तिर्न नसकेको हो। म संस्थाको अध्यक्ष हुँदा संस्थाको नियमबमोजिम संस्थाको नाममा प्रायजसो जग्गा रजिस्ट्रेसन पारित गरी सो जग्गामा संस्था र कम्पनीको संयुक्त लगानी भएकोले धितो राख्नु पर्ने आवश्यकता नभएकोले धितो नराखिएको हो।

कतिपय लगानीमा धितो समेत राखिएको थियो। कर्जावापतको रकम चुक्ता गर्न बचतकर्ताको नाममा समेत घरजग्गा रजिस्ट्रेसन पारित गरी कम्पनीहरुको नाममा रहेको साँवा–ब्याज रकम तिर्दै आएको र साँवाब्याज रकम घटाउँदै आएको छ। संस्थामा सदस्य बचतकर्ताहरुले बचत गरेको रकम उनीहरुलाई फिर्ता गर्ने मेरो व्यक्तिगत दायित्व होइन। संस्थाको हो।

यो पनि:

इच्छाराजसहित ४२ जनाविरुद्ध अहिलेसम्मकै ठूलो ठगी मुद्दा दर्ता

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .