पुस ९ गते रातको साढे १२ बजेको थियो। काठमाडौं प्रहरी परिसरको कन्ट्रोलबाट सर्कुलर भयो, ‘धर्मस्थलीमा एउटा मान्छे खुकुरी हानेर भागेको छ। त्यसलाई जसरी पनि पक्रिनुस्।’
रामेछाप लिखुका शनि तामाङ दोलखा लामाबगरका सुवास तामाङलाई खुकुरी प्रहार गरेर भागेका थिए। यो सूचना पाएपछि बालाजु वृत्त र धर्मस्थली प्रभागबाट प्रहरी परिचालन भए।
प्रभागका इन्चार्ज प्रहरी नायब निरीक्षक पदम अवस्थीलाई अर्को सूचना आयो, ‘यहाँ एउटा मातेको मान्छे हातमा खुकुरी बोकेर हिँडिरहेको छ।’
जवान विकास थापालाई मोटरसाइकलमा लिएर पदम त्यतातिर लागे।
नभन्दै स्थानीयले सूचना दिएकै स्थानमै खुकुरी हातमा बोकेर भाग्दै गरेका शनि देखिए। मोटरसाइकलबाट ओर्लेर पदम शनिलाई लखेट्न थाले। केही पर भित्री गल्लीमा पुगेपछि पदमले भेटे पनि। तर शनिले उनीमाथि नै खुकुरी प्रहार गरे। खुकुरीले टाउको र हातमा चोट लागेपछि पदम लडे।
मोटरसाइकल रोकेर जवान भने आइपुगेकै थिएनन्। पदमलाई खुकुरी हानेर शनि फेरि भागे। पदम हतारहतार उठेर लाइट लिएर खेद्न थाले। करिब ६० मिटर अगाडि पुगेपछि पदमले पक्राउ गरे। विकास पनि आइपुगे।
त्यसपछि उनीहरुले गाडी र थप टोली बोलाए। घाइते सुवासलाई पनि प्रहरीले गाडीमा हाल्यो। प्रहरीले दुवै घाइते र खुकुरी हान्ने शनिलाई पनि जनमैत्री अस्पताल लग्यो। शनिलाई मेडिकल जाँचपछि बालाजु प्रहरी वृत्तको हिरासतमा लगियो।
सुवासलाई ट्रमा सेन्टर पठायो। सइ पदम भने नेपाल प्रहरी अस्पतालमा भर्ना भए। उनको टाउकोमा ६ वटा टाँका लगाउनु पर्यो। हातमा पनि चोट लागेको थियो।
सुवासलाई ट्रमाबाट ग्रिनसिटी अस्ताल लगियो। उनको टाउकोमा एकठाउँ ३८ टाँका र अर्को ठाउँमा ८ टाँका लगाइएको छ। पदम प्रहरी अस्पतालमा उपचार गराएर वृत्तमा फर्किए।
अहिले सुवास पनि डिस्चार्ज भइसकेका छन्। उनीहरुलाई खुकुरी हान्ने शनिलाई भने जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ।
आफैंमाथि आक्रमण गर्नेलाई पक्राउ गरेका सइ पदम भन्छन्, ‘हातमा खुकुरी बोकेर हिँडेको व्यक्तिले जे पनि गर्न सक्छ भन्ने मनमा थियो। भयो पनि त्यस्तै। हामीले त अपराध गरेर भागेको व्यक्ति जसरी पनि समात्नै पर्छ। आफैंलाई खुकुरी हानेर भागेपछि छाड्ने त कुरै भएन।’
बैतडीका पदम प्रहरी सेवामा लागेको १८ वर्ष पुरा भयो। धेरैजसो स्पेसल टास्क फोर्समा काम गरेका उनले खासै अप्ठेरो भोग्न परेन। उनी नेतादेखि प्रधानन्यायाधीशसम्मको सुरक्षामा खटिएका छन्। संविधानसभाको दोश्रो निर्वाचनपछि संविधान सभामा मर्यादापालक भएर काम गरे।
२०६० सालमा जवानमा भर्ना भएका उनले २०६३ सालमा प्रहरी सहायक निरीक्षक (असइ) मा नाम निकाले। दिपायल तालिम केन्द्रबाट तालिम पुरा गरेपछि सुरुमै उनको पोस्टिङ स्पेसल टास्क फोर्समा भयो।
भारतको हैदराबादमा स्पेसल टास्क फोर्सको तीन महिने तालिम सकेर आएपछि उनले असइमा नाम निकाले। असइ भएपछि केही महिना प्रहरी प्रशिक्षण प्रतिष्ठानमा भयो। तर पछि उनको पोस्टिङ टास्कफोर्समै भयो।
२०६६ सालपछि भने उनलाई भीआईपीको सुरक्षामा खटाइयो। तत्कालीन प्रधानन्यायाधीशदेखि न्यायाधीशहरुको सुरक्षामा खटिए। २०७० सालको निर्वाचनपछि उनी संविधान सभाको मर्यादापालक भए। चार वर्ष त्यहाँ काम गरेपछि उनी पुनः भीआईपीको सुरक्षामै फर्किए। मर्यादापालक हुँदै २०७१ सालमा उनी सइमा बढुवा भएका हुन्।
२०७४ सालको निर्वाचनताका कांग्रेस नेता अमरेश सिंहको सुरक्षामा खटिए। सर्लाहीमा अमरेशको सुरक्षामा हिँड्दा केही लफडामा परे पनि अन्य बेला उनले त्यस्तो आक्रमणको सामना गर्नु परेको थिएन।
२०७५ असारमा उनी बालाजु वृत्तमा सरुवा भए। उनले गत असार १६ गते धर्मस्थली प्रभाग इन्चार्जको जिम्मा पाएका हुन्।
उनले हतियार ह्यान्डलिङको पनि तालिम गरेका छन्। उनले प्रहरीसँग भएका सबै खालका हतियार चलाउन सक्छन्। यतिधेरै तालिम गरेका सइ अवस्थी खुकुरीको आक्रमणमा परे। तर आफैँ घाइते भएर पनि अभियुक्तलाई भने उनले छाडेनन्।
‘हाम्रो दायित्व नै यही हो। जसरी भएपनि समात्नैपर्छ भनेर गएको हो,’ उनले भने।
पदमलाई काठमाडौं प्रहरी परिसरले माघ ५ गते पुरस्कृत गर्यो। यसले थप हौसला मिलेको उनले सुनाए।
Shares
प्रतिक्रिया