सरकारले सशस्त्र प्रहरीमा एक एआईजीको दरबन्दी थप्ने भएको छ। फागुन पहिलो साता निर्णय गर्ने गरी गृह मन्त्रालयले तयारी अगाडि बढाएको हो।
अर्थ मन्त्रालयसँग पनि यस विषयमा छलफल भइसकेको छ। अर्थले पनि यसमा सहमति जनाइसकेको स्रोतले जनाएको छ।
हाल सशस्त्र प्रहरीमा दुई एआईजीको दरबन्दी छ। तर कार्य र सीमा सुरक्षा विभागलाई छुट्याएर एक एआईजी थप्ने तयारी भएको हो। एआईजी थपिए पनि प्रशासन तथा मानव श्रोत विभाग कायमै रहनेछ।
‘सीमा सुरक्षा खस्किँदो छ, बीओपीको संख्या बढिरहेको छ। अझै थप गर्न माग आइरहेको छ’, स्रोतले भन्यो, ‘सरकार पनि थप गर्ने नीतिमै रहेकाले छुट्टै एआईजी राख्न लागिएको हो।’
गृह मन्त्रालयका उच्च अधिकारीले पनि सशस्त्रमा एक एआईजी थप्ने तयारी भइरहेको स्वीकारे।
यसअघि २०७५ जेठमा केपी ओली नेतृत्वको सरकारले सशस्त्र प्रहरीमा दुई र नेपाल प्रहरीमा तीन मात्रै एआईजी राख्ने निर्णय गरेको थियो।
उक्त निर्णय हुँदासम्म सशस्त्रमा तीन जना एआईजी थिए। तत्कालीन एआईजी नारायणबाबु थापाले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएसँगै दुई जना कायम हुने निर्णय भएको थियो। २०७७ माघ १ गतेबाट एआईजी थापाले अवकाश पाएका थिए।
त्यसपछि सशस्त्र प्रहरीमा दुई मात्रै दरबन्दी कायम छ। ती दरबन्दीमा आईजीपी शैलेन्द्र खनालकै ब्याची पुष्पराम केसी र रामशरण पौडेल छन्। उनीहरु दुवै जनाको कार्यकाल एक वर्ष थप भएको हो।
उनीहरु आईजीपी खनालकै ब्याची भए पनि तीन सातापछि मात्रै अवकाशमा जानेछन्। आईजीपी खनाल चार वर्षे कार्यकालका कारण आगामी चैत २८ गते अवकाश हुँदैछन्।
तर एआईजी केसी र पौडेलको कार्यकाल वैशाख १८ सम्म रहनेछ। ३० वर्ष पुग्न बाँकी रहेकाले उनीहरु त्यो अवधिसम्म कार्यरत रहनेछन्। तर सरकारले उनीहरुलाई आईजी नबनाउने भएको छ। यीमध्ये एकजना छोटो समयका लागि आईजीपी हुने सम्भावना थियो।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार थप गरिएको नयाँ दरबन्दीमा बढुवा हुने एआईजीलाई नै भावी आईजीपी बनाउने तयारी छ।
हालका दुई डीआईजी माघ २६ गते अवकाश हुँदैछन्। उनीहरुकोे अवकाशपछि मात्रै नयाँ एआईजी थप गर्ने सरकारको तयारी छ।
डीआईजी खड्गजीत राई र मन्दीप श्रेष्ठ माघ २६ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनीहरुको अवकाशपछि नयाँ एआईजी थप्ने प्रक्रिया अघि बढ्ने छ।
श्रेष्ठ र राईको पनि कार्यकाल गत वर्ष नै सकिएको थियो। तर सरकारले चाहेमा एक वर्ष थप गर्न सक्ने व्यवस्था अनुसार उनीहरुको पदावधि लम्बिएको हो। तत्कालीन ओली सरकारले डीआईजी प्रवीण श्रेष्ठको कार्यकाल थप गरेको थिएन।
हाल सशस्त्र प्रहरीमा १६ जना डीआईजीको दरबन्दी छ। जसमा एक रिक्त छ। १५ डीआईजीमध्ये दुईजना माघ २६ गते नै अवकाशमा जाँदैछन्।
त्यसपछिका सिनियर डीआईजी राजु अर्याल, नारायण दत्त पौडेल र चन्द्रप्रकाश (सीपी) गौतम एआईजीका प्रमुख दावेदार हुन्। अर्याल पहिलो नम्बरका डीआईजी हुन्। नयाँ दरबन्दीमा एआईजी बन्ने नै भावी आईजीपी हुने निश्चित छ।
Shares
प्रतिक्रिया