महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत काे हाे भन्ने विवाद उत्कर्षमा पुगेको छ। जसका कारण त्यहाँ दुई पक्षबीच दैनिक तनाव भइरहेकाे छ। मुठभेडकै अवस्था सिर्जना हुने खतरा बढेकाे छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रका कारण रामगोपालपुरकाे प्रमुख प्रशासकीय अधिकृत पदमा दुई जना कर्मचारीले दाबी गरेपछि विवाद चुलिएको हो।
नगरपालिकाका शिक्षा शाखाका अधिकृत धिरेन्द्रलाल कर्ण र प्रशासन तफर्का प्रशासकीय अधिकृत शिवेन्द्रकुमार मण्डल दुवैले उक्त पद दाबी गरेका हुन्। जसकाे विवादले नगरपालिकाकाे दैनिक कामकाजमै असर परिरहेकाे छ। सेवाग्राही मर्कामा परेका छन्।
एक वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा शाखा अधिकृत कर्णले सम्हालिरहेका थिए।
स्थानीय तहमा समायोजन भएका कर्ण आठौं तहका शिक्षा सेवा प्रशासनतर्फका कर्मचारी हुन्। जिम्मेवारीमा रहँदा उनले व्यापक आर्थिक अनियमितता गरेको आरोप लगउँदै मेयर अशोककुमार मण्डलले उनलाई कामकाज गर्न दिएका छैनन्।
मेयर मण्डलकै पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पुस २५ गते कर्णलाई दिएको जिम्मेवारी खोस्दै उनको स्थानमा शिवेन्द्रकुमार मण्डललाई पठाएको हो।
मण्डल नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूह राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी हुन्। मण्डल यसअघि जनकपुरधामस्थित श्रम कार्यालयका प्रमुख थिए।
यही माघ १४ गते कर्णले सामान्य प्रशासन मन्त्रालयबाट आफूलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मवोरी दिइएको पत्र देखाउँदै सो पदमा दाबी गरेपछि विवाद सुरु भएको हो। माघ १६ गते १३ जना कार्यपालिका सदस्यसहित आफू नगरपालिका कार्यालयमा हाजिर भएको उनकाे भनाइ छ।
माघ १४ गते सामान्य प्रशासन मन्त्रालयले कणलाई आर्थिक तथा प्रशानिक काम गर्न दिनू भनेकै दिन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मण्डललाई महोत्तरीकै लोहारपट्टी नगरपालिकामा सोही पदमा काज सरुवा गरेको कुरा पत्रमा लेखिएकाे छ।
कर्णलाई मन्त्रालयले जिम्मेवारी दिएको पत्रमा प्रमुख प्रशासकीय अधिकृत नआउदाँसम्मका लागि नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्न भनिएको छ।
यता मेयर अशोककुमार मण्डलले प्रमुख प्रशासकीय अधिकृत हुँदाहुँदै शिक्षा अधिकृत कर्णलाई कार्यालयको आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिनु कानुनसम्मत् नभएको दाबी गरेका छन्।
कर्णलाई फिर्ता पठाएकोबारे मेयर मण्डलले यही माघ १६ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका थिए। पत्रमा कर्ण जिम्मेवारीमा रहेका बेला कार्यालयको रकम हिनामिना गरेको आरोप मेयरले लगाएका छन्। कार्यालयमा काट्नुपर्ने चेक लेखासँग कुरा मिलाएर जनकपुर गई काटेर कर्णले आर्थिक हिनामिना गरेको आरोप मण्डलको छ।
‘कर्ण प्रशासकीय अधिकृत रहेका बेला लेखासँग मिलेर व्यापक रकम हिनामिना गरे। फिल्डमा जाँदा उपभोक्ता समितिसँग कमिसन मागे। उनको विषयमा व्यापक जनगुनासो आयो। कार्यालय प्रयोजनमा सरसल्लाह नगरी लाखौं रकम खर्च गरेका छन्। काम भएको छैन। त्यो शीर्षकको लाखौं बजेट खर्च भइसकेको बैंकको स्टेटमेन्टबाट थाहा पाएँ’, मेयर मण्डलले भने, ‘त्यसकारण बाध्य भएर उनलाई सो जिम्मेवारीबाट हटाएर मन्त्रालयमा पहल गरी प्रमुख प्रशासकीय अधिकृत ल्याएका हौं।’
कर्णले गत आर्थिक वर्षको असार मसान्तमा काम सम्पन्न भएका दर्जनभन्दा बढी योजनाको भुक्तानी नदिएको र केही वडाध्यक्ष तथा नगर कार्यपालिका सदस्यसँगको सेटिङमा उनीहरूको सबै भुक्तानी दिएको मेयर मण्डलको दाबी छ।
उता कर्णले भने सबै आरोप झुटा भएको दाबी गरेका छन्।
‘ममाथि लाइएको सबै आरोप मिथ्या हो। काम नगरीकन रकम भुक्तानी हुँदैन। अहिले अनलाइन चेक काटिन्छ। कुनै चेक काट्यो भने कोलेनिका, मलेनिका सबैले देख्छन्। कुनै योजनाका लागि भुक्तानी हुँदा प्रक्रिया पुर्याएर गर्नुपर्छ’, उनले भने, ‘मयेरले रलेएकलौटी शासन चलाउन खाजे। उहाले जेजे भन्नहुन्छ, त्यो सबै गर्दा ठीक। नत्र खराब!’
यता प्रमुख प्रशासकीय अधिकृत मण्डलले भने मन्त्रालयले आफूलाई सरुवा गरेको पत्र नपाएको दाबी गरेका छन्। उनले वरिष्ठताका आधारमा प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था नरहेको तर्कसमेत गरे।
‘म संघको प्रशासन तर्फको कर्मचारी हुँ। थुप्रै नगरपालिकामा यसअघि पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेको छु। म यो नगरपालिकामा पनि हाजिर भएको मन्त्रालयको पत्रमा प्रमुख प्रशासकीय अधिकृत तोकेरै उल्लेख गरेको छ। म प्रशासनतर्फको तृतीय श्रेणीको कर्मचारी हुँ। तहले प्रमुख प्रशासकीय अधिकृत हुँदैन’, उनले अगाडि भने, ‘कर्णले आठौं तह र वरिष्ठ हुँ भनेर दाबी गर्नुहुन्छ। यस्तो भयो भने धेरै नगरपालिकामा हेडसर नै प्रमुख प्रशासकीय अधिकृत हुन्छन्।’
प्रशासकीय अधिकृतको विषयमा नगरपालिकाका जनप्रतिनिधिसमेत विभाजन भएका छन्। सो विषयमा दैनिक दुई पक्षका सयौं मान्छे भेला हुने गरेकाले नगरपालिका कार्यालयमा तनाव हुने गरेको छ। त्यहाँ मुठभेडको अवस्था सिर्जना भएको छ। सामान्य प्रशासन मन्त्रालयको बदमासीले नगरपालिकामा प्रशासकीय अधिकृतको विषयमा विवाद भएको आरोप स्थानीयले लगाएका छन्।
Shares
प्रतिक्रिया