तीन साझेदार व्यवसायीको हत्या अभियोगमा पक्राउ परेका तीनजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार सार्वजनिक गरेको छ।
शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर हत्याका मुख्य योजनाकार अनिल मण्डलसहित तीनजनालाई सार्वजनिक गरेको हो।
सिरहाका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका-४ सिस्वनीका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरिएको हो।
तीनजना पक्राउ परेसँगै घटनाका केही तथ्यहरु खुल्दै गएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।
मंसिर २८ गते ललितपुरको गोदावरी नगरपालिका-१२ मा तेह्रथुमका ४९ वर्षीय व्यवसायी मोहन लिम्बुको हत्या गरेर भोलिपल्ट सुनसरीको धरानका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भु कुमार चौधरीसँगै एउटै गाडीमा बिराटनगर गएको खुलेको छ।
उनीहरु मंसिर २९ गते एउटै गाडीमा विराटनगर पुगेका थिए। तर श्रेष्ठ र चौधरीलाई लिम्बुको हत्याबारे कुनै जानकारी थिएन। उनीहरु विराटनगरमा एउटा होटलमा बसेका थिए।
५ दिनपछि राजेन्द्रको हत्या भएको थियो। त्यतिबेला शम्भु चौधरीलाई श्रेष्ठको हत्या भइसकेको पनि जानकारी नभएको प्रहरीले जनाएको छ।
चौधरीको हत्या शव भेटिएको उखुबारीबाट करिब एक सय मिटर उत्तरमा भएको थियो। डोरी र गम्छाले घाँटीमा कसेर हत्या गरेको खुलेको छ।
उनीहरुले खन्ती र कोदालोको प्रयोग गरेर खाल्डो खनेका थिए। खाल्डोमा शव हालेर नुन पनि प्रयोग गरेका थिए।
श्रेष्ठको हत्या भएको दुई दिनपछि त्यही ठाउँमा लगेर चौधरीको पनि हत्या गरेका थिए।
गत माघ १२ गते साँझ साढे ५ बजेतिर धनपालथान गाउँपालिका-७ स्थित दिलिप सिंहको उखुबारीमा खाल्डो खनेको जस्तो देखिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय रंगेलीमा खबर गरेका थिए।
प्रहरीले घटनास्थलमा पुगेपछि आसपास समेत खोजी गर्दा अर्को ठाउँमा पनि त्यस्तै खाल्डो खनिएको फेला पारेको थियो। प्रहरीले त्यही साँझ एउटा खाल्डो खनेको थियो।
५ फिट गहिरो खाल्डोभित्र ३२ वर्षीय शम्भुकुमार चौधरीको शव फेला परेको थियो। तर तत्काल सनाखत भने हुन सकेको थिएन। भोलिपल्ट कुकुरसहितको टोली लगेर अनुसन्धानपछि अर्को खाल्डो खोतलिएको थियो।
१३ गते खनिएको खाल्डोमा ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको शव फेला परेको थियो। घटनास्थलमै पर्स फेला परेको थियो। पर्सभित्र रहेको सवारी चालक अनुमति पत्र र कपडाको आधारमा उनको सनाखत भएको थियो।
तर चौधरीको भने उनले लगाएका कपडा र दाहिने नाडीमा बाँधेको राखी र रुमालका आधारमा उनका परिवारले १५ गते सनाखत गरेका थिए। कमलपुरतर्फ जाने नहरमा मारेर उनीहरुको शव उखुबारीमा गाडेको खुलेको छ।
यी दुई जनाको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरुसँगै व्यवसाय गरिरहेका दुई जनालाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको थियो।
लिम्बुको मोवाइल २८ गतेबाट अफ थियो भने मण्डल पुस ७ गतेसम्म बिराटनगरमै देखिएका थिए। त्यसपछि उनको लोकेसन काठमाडौं देखिएको थियो।
मण्डललाई प्रहरीले तत्काल नै पक्राउ गरेको थियो। तर उनले अपराध स्वीकार गरिरहेका थिएनन्। यस्तै मोरङ प्रहरीले पनि दुई जनालाई पक्राउ गरेको थियो।
तीन जना पक्राउ परेसँगै लिम्बुको पनिज हत्या गरेको बिहीबार साँझ स्वीकार गरेका थिए। उनीहरुले नै लिम्बुको शव गाडेको स्थान बताइदिएपछि प्रहरीले बिहीबारसाँझ लिम्बुको शव उत्खनन् गरेर निकालेको हो।
साझेदारमा व्यवसाय गर्ने भएकाले कारोबारको रकम एकलौटी बनाउन मण्डलले सबै साझेदारलाई सिध्याएको प्रहरीको प्रारम्भिक निस्कर्ष छ।
Shares
प्रतिक्रिया