नेपाल प्रहरीका सबै ब्युरोहरु केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गत रहने भएका छन्। लागुऔषध नियन्त्रण ब्युरो, मानव बेचबिखन ब्युरो र साइबर ब्युरोलाई सीआईबी अन्तरगत राख्ने तयारी भएको हो।
हाल यी तीन वटै ब्युरो प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत छन्। यी ब्युरोले सिधै सोही विभागमा रिपोर्टिङ गर्दै आएका छन्।
संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) मा सबै ब्युरोलाई सीआईबी अन्तर्गत राख्न प्रस्ताव गरिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए। ओएन्डएममा तीन जना एआईजी थप गर्न प्रस्ताव गरिएको थियो। तीमध्ये एक जना सीआईबीमा राखिने भएपछि सबै ब्युरोलाई त्यही अन्तर्गत राख्न लागिएको हो।
‘अहिले सीआईबीमा डीआईजी मात्रै भएकाले अपराध अनुसन्धान विभागका एआईजी अन्तरगत थिए। सीआईबीमै एआईजी हुने भएपछि सबै ब्युरोलाई यसकै मातहतमा राख्न लागिएको हो।’ प्रवक्ता केसीले नेपालखबरसँग भने, ‘कार्यान्वयनमा जान मात्रै बाँकी छ।’
गत बिहीबार बसेको मन्त्रिपरिषद्ले तीन जना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरिसकेको मन्त्रीहरुले नै बताए पनि गृह मन्त्रालयले भने त्यसबारेको पत्र प्राप्त नभएको जनाएको छ।
सरकारले तीन एआईजी थपेसँगै डीआईजीको नेतृत्वमा रहेको साइबर ब्युरो, एसएसपीको नेतृत्वमा रहेको मानव बेचबिखन अनुसन्धान ब्युरो र एसएसपीकै नेतृत्वमा रहेको लागुऔषध नियन्त्रण ब्युरो सीआईबी मातहत रहनेछन्।
यस्तै प्रहरी समायोजनपछि सात वटै प्रदेश मातहत रहने नेपाल प्रहरीका अनुसन्धान युनिटहरु पनि सीआईबी अन्तर्गत नै रहने भएका छन्। समायोजन भएपछि हरेक प्रदेशमा नेपाल प्रहरीका पनि कार्यालय रहने छन्। र, त्यहाँ अनुसन्धान युनिटहरु पनि रहने प्रवक्ता केसीले बताए।
हरेक प्रदेशमा साइबर ब्युरो, मानव बेचबिखन अनुसन्धान ब्युरो र लागुऔषध नियन्त्रण ब्युरो पनि रहनेछन्।
अहिले सीआईबी डीआईजीकै नेतृत्वमा छ। यस्तै साइबर ब्युरो पनि डीआईजीकै नेतृत्वमा छ भने लागु औषध नियन्त्रण ब्युरोमा पहिले डीआईजी भए पनि केपी ओली नेतृत्वको सरकारले कटौती गरेको थियो। तर यी ब्युरोहरुमा पनि डीआईजी नै राख्ने तयारी सरकारको छ।
गृहमन्त्री बालकृष्ण खाणले औपचारिक कार्यक्रमहरुमा अपराध नघटेको र दिनदिनै चुनौती बढिरहेकाले यी ब्युरोहरुमा पनि डीआईजी राख्नु पर्ने आवश्यकता रहेको बताउँदै आएका छन्।
अरु ब्युरोमा डीआईजीले नेतृत्व गर्ने भएपछि सीआईबीमा एआईजी राखेर त्यस अन्तर्गत अरु ब्युरोलाई राख्न लागिएको हो।
जटिल र गहन प्रकृतिका अपराधहरुको अनुसन्धान सीआईबीका मुख्य प्राथमिकता हुन्। अन्य युनिटले पार लगाउन नसकेका अपराधको अनुसन्धान सीआईबीले गर्ने गरेको छ। अन्य ब्युरोले भने आ–आफ्ना क्षेत्रका अपराधको मात्रै अनुसन्धान गर्छन्।
Shares
प्रतिक्रिया