ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४ नल्लुका सुवास स्याङ्तान ५ दिनदेखि अस्पतालमा छन्। फागुन २५ गते बिहान पाटन अस्पतालमा भर्ना गरिएका उनलाई अहिले मनमोहन अस्पतालमा लगिएको छ। त्यहाँ आईसीयूमा उपचारपछि उनलाई वार्डमा सारिएको छ।
आफूलाई किन अस्पताल लगियो भन्ने सुवासलाई थाहा छैन। अझ परिवारको बारेमा त उनलाई कसैले केही भनेका छैनन्। अहिले पनि आफन्तहरु भेट्न पुग्छन्। उनको स्वास्थ्यबारे जानकारी लिन्छन् तर परिवारको बारेमा केही खोल्दैनन्।
सुवासलाई थाहै छैन– २४ गते राति सँगै सुतेको परिवारका अरु सदस्य ब्युँझिएनन्। उनका दुई दिनका छोरालाई पनि उनीसँगै पाटन अस्पताल ल्याइएको थियो। तर, बच्चाको पनि मृत्यु भयो। अहिले घरमा ताला लागेको छ।
सुवास अस्पतालबाट फर्किंदा घरमा ५५ वर्षीया आमा काइँली स्याङ्तान, श्रीमती २२ वर्षीया सुष्मा र सँगै बस्ने माइला दाइका छोरा ९ वर्षीय आशिष र ५ वर्षीया छोरी आसमा पनि हुने छैनन्।
फागुन २४ राति उनीहरुले २ दिनको शिशु र सुत्केरी सेक्न बालेको आगो ननिभाई सुत्दा सिंगो परिवार नै निस्सासिएर मृत्युको मुखमा पुगेको थियो। सुवासको भने भोलिपल्ट बिहान प्राण भेटियो। आफन्तले हतारहतार अस्पताल लगेका सुवासको स्वास्थ्यमा सुधार हुँदै गएको छ।
उनलाई बिरामी भएर अस्पताल ल्याइएको त भनिएको छ। तर के बिरामी भनेर प्रष्ट बताइएको छैन।
उनी बोल्न सक्ने भएपछि प्रहरीले सुवासलाई त्यो दिन बेलुका के के भयो भनेर सोधेको थियो।
‘अस्पतालबाट घर आयौँ। आगो बाल्यौँ। सुत्ने बेलामा चिसो लाग्छ भनेर आमाले कोइला थपिदिनुभयो,’ सुवासले प्रहरीलाई भनेका छन्, ‘त्यसपछि सुत्यौँ। एकै पटक अस्पतालमा ब्युँझिएँ। मलाई केही याद छैन।’
ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहका अनुसार उनकै स्वास्थ्य ठिक नभइसकेकाले थप तनाव होला भनेर उनलाई परिवारमा परेको बज्रपातको कुरा सुनाइएको छैन।
त्यो दिन बिहान ७ बजेसम्म पनि ढोका नखुलेपछि आफन्त पुगेर बोलाएका थिए।
ढोका भित्रैबाट बन्द गरिएको थियो। बाहिरबाट जति बोलाउँदा पनि कोही पनि बोलेनन्। भित्रबाट कुनै संकेत नै आएन। त्यसपछि आफन्तले झ्याल फोडेर हेर्दा भित्र सबै सुतेकै ठाउँमा बेहोस भेटिए। तीमध्ये सुवास र उनका २ दिनका शिशुको मात्रै प्राण भेटिएको थियो। तर अस्पताल लगेपछि शिशुको पनि ज्यान गएको थियो।
छोरा र श्रीमती लिएर घर फर्किएकै दिन यस्तो घटना भएको हो। थापाथलीस्थित प्रसूति गृहबाट उनीहरु त्यसै दिन घर फर्किएका थिए।
दुई वटा झ्याल र एउटा ढोका भएपनि हावा छिर्न नसक्ने गरी बन्द गरिँदा उनीहरु निस्सासिए।
एक तले दुई कोठे घरको अर्को कोठामा राखनधरन र भान्सा थियो। परिवारका ६ जनै एउटै कोठामा सुतेका थिए। सुवासका बुबा पहिल्यै बितेका हुन्। जेठा दाइ छुट्टभिन्न भइसकेका हुन्। उनी नजिकै अर्कै घरमा बस्छन्। माइला दाजुभाउजु नै विदेशमा छन्। उनीहरु विदेश जाँदा छोराछोरी सुवाससँगै छाडेका थिए।
स्वास्थ्यमा सुधार देखिएपछि दुई दिनअघि सुवासलाई आईसीयूबाट बाहिर निकालिएको थियो। तर, अलि गाह्रो भएपछि पुनः उनलाई आईसीयूमा लगियो। अहिले वार्डमा सारिएको छ।
अहिले उनको स्वास्थ्यमा सुधार हुँदै गएको डाक्टरले आफन्तलाई जानकारी दिएका छन्।
Shares
प्रतिक्रिया